PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकारको निर्णयसँगै दूतावासले थाल्यो नेपाली स्वदेश फर्काउने तयारी: हवाइ टिकटदेखि क्वारेन्टाइनको खानाको पैसा तिर्नुपर्ने



विधुर ढकाल

सरकारको निर्णयसँगै दूतावासले थाल्यो नेपाली स्वदेश फर्काउने तयारी: हवाइ टिकटदेखि क्वारेन्टाइनको खानाको पैसा तिर्नुपर्ने
फाइल फोटो : गत फागुनमा चीनबाट नेपालीलाई उद्धार गरी ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा वायु सेवा निगमको विमान।

काठमाडौं: सरकारले तेस्रो मुलुकमा रहेका समस्यामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विदेशस्थित नेपाली नियोगहरुले नेपालीलाई स्वदेश फर्काउने तयारी थालेका छन्। सरकारले १२ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो। निर्यणसँगै विदेशमा रहेका नेपाली दूतावासले नेपाली फर्काउने प्रक्रिया थालेका हुन्।

अष्ट्रेलियाको क्यानवेरास्थित नेपाली दूतावासले अष्ट्रेलियासँगै न्यूजिल्याण्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन तयारी थालेको छ। दूतावासले शुक्रवार नै सूचना जारी गर्दै नेपाल फर्किन आवश्यक परेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन भनेको छ।

सरकारले ‘कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७’ जारी गरिसकेको छ। सोही आदेश बमोजिम कोभिड-१९ पान्डेमिकको कारण लकडाउनमा परेर नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र क्यानवेरास्थित राजदूतावासको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा रहेका नेपालीहरुलाई नेपाल फर्किने ब्यवस्था गर्न लागेको दूतावासले जनाएको छ।

दूतावासले नेपाल फर्किने प्रयोजनका लागि अध्यावधिक विवरण दूतावासको फेसबुक पेज, इमेल, इमर्जेन्सि रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम संकलन गरेको छ। ‘विवरण टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहनुहुने सम्पूर्ण नेपाली नागरिकहरूले यस राजदूतावासको वेभसाइटमा दिइएको ‘ट्राभल टु नेपाल’ लिंकमा गई विवरण भर्नसमेत भनेको छ।

दूतावासले त्यसका लागि जुन २ सम्मको समयसीमासमेत तोकेको छ।

अध्यावधिक विवरण संकलन गरेसँगै दूतावासले नेपाल फिर्ता जाने सम्बन्धमा प्राथमिकता निर्धारण गर्ने जनाएको छ।

त्यस्तै बैंककस्थित नेपाली दूतावासले पनि नेपालीहरुको विवरण अद्यावधिक गर्न थालेको छ। दूतावासले थाइल्याण्ड, सिँगापुर, कम्बोडिया, भियतनाम र लाओसमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता प्रयोजनका लागि भन्दै दूतावासमा विवरण उपलब्ध गराउन भनेको छ।

दूतावासको वेबसाइटमार्फत आवेदन भर्न सकिने दूतावासले शुक्रवार नै सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीहरुलाई अनुरोध गरेको छ।

नेपालीलाई स्वदेश फर्काउने प्रयोजनका लागि शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको बैठकले पनि नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको छ।

समितिको बैठकले आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन्।

प्राथमिकताका आधारमा उनीहरुलाई पहिलो प्राथमिकतामा राखिने छ। त्यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्त रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्राथमिकतामा राखिएको छ।

त्यस्तै सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकहरुलाई पनि स्वदेश फर्काइने छ।

त्यसका लागि नेपाल वायु सेवा निगमका साथै अन्य निजि विमान सेवा कम्पनीका विमान प्रयोग गरिने छ।

त्यसका लागि स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन पश्चात कुन देशमा कति उडान भर्नुपर्ने हो सोही अनुरुप परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिने र पर्यटन मन्त्रालयले हवाई उडानको व्यवस्था गर्ने छ।

त्यस्तै नेपालीका प्रमुख रोजगारीका गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुले पनि स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अद्यावधिक गरिरहेका छन्।

नेपाल फर्किन यस्ता छन् सर्तहरु:

  • नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ। तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ।
  • हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ। त्यसरी लाग्ने खर्चको विवरण पछि सरकारले उपलब्ध गराउने छ।
  • स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पीसीआर) रिपोर्ट दूतावासमा पेश गर्नु पर्नेछ। साथै एक प्रति आफू साथ राख्नुपर्ने छ।
  • विदेशबाट नेपाल आउने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ फरेनहाइट भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ।
  • नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘हाम्रो स्वास्थ्य एप’ डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।
  • विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौँ चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगि आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ।
  • विवरण भर्दा नेपाल फर्केपछि आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने खुलाउनु पर्नेछ।
  • नेपाल आउने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell