काठमाडौं : भोजपुर हतुवागढीका उपेन्द्र राई दुई वर्षअघि साउदी अरब हान्निए। घर चलाउने अर्को मेलोमेसो नभएपछि अरब जानुको विकल्प थिएन। आल्मुनियम कम्पनीमा हेल्परको काम भएकाले काम गर्न त्यति गाह्रो भएन।
पैसा ठीकै। उपेन्द्र सन्तुष्ट नै थिए। दुइ वर्षको अवधि गत फागुनमा सकियो। साउदीमा पनि त्यो बेलासम्म कोरोना संक्रमणको त्रास फैलिसकेको थियो। कतिपय नेपाली धमाधम घर फर्कन थालेका थिए।
उपेन्द्रका लागि भिसा सकिएर घर फर्किनु र कोरोना संक्रमणको त्रास फैलिनु संयोग बन्यो।
हिमालयन एअरलाइन्सको ९५६० नम्बर फ्लाइटबाट चैत १ गते काठमाडौं ओर्लिए उनी। त्यतिन्जेल नेपालमा एक जनामात्रै कोरोना संक्रमित थिए। विदेशबाट आएकालाई क्वारेण्टाइन अनिवार्य थिएन। उनी बस चढेर सीधै सुनसरी लागे। सुनसरीको चतारमा बस्थे श्रीमती र छोरी। हप्तादिन उनले चतारामै बिताए। श्रीमती कपडा सिलाउथिन्, ४ वर्षकी छोरी चताराकै एक स्कुलमा पढ्थिन्।
भेटघाटका लागि श्रीमती र छोरीसँगै ससुराली गए उपेन्द्र। उदयपुरको बेलका नगरपालिकामा हो, उनको ससुराली। जुन ठाँउ भुल्केदेखि नजिकै हो। ३ दिन ससुरालीमै बिताएपछि चैत १० गते उनी घर गए। त्यही दिनबाट लकडाउन शुरु भयो। लकडाउन भएपनि घरमा खेतिपाती लगाउनु थियो। मकै रोप्ने बेला भएकाले उनी हरेक दिनजसो बारीमा गोरु जोतेर मकै रोप्न ब्यस्त भए।
कोरोनाको त्रास भए पनि काममै ब्यस्त हुनुपरेकाले समय वितेको पत्तो भएन। खेतिपाती लगाउने बेला भएकाले लकडाउनमा घरभित्रै बस्ने अवस्था पनि रहने, उनका लागि।
गाँउमा पुरै आउजाउ नै बन्द हुनेगरी लकडाउन भएको थिएन।
खेतबारीमा काम गरी बचेको समयमा साथीभाई मिलेर भलिवल खेल्ने गर्थे।
आफ्नै अनुरोधमा अस्पताल
वैशाख ५ गते उदयपुरको भुल्केबाट सबैतिर त्रास फैलियो, कारण एकै दिन नेपालमा १२ जना कोरोना संक्रमित भेटिए। भारतबाट तराइका विभिन्न जिल्ला हुँदै भुल्केको एक मस्जिद पुगेका १२ जना लकडाउन हुँदा त्यहीँ फसे।
पछि परीक्षण गर्दा एकैपटक १२ जनामा संक्रमण देखियो।
त्यसअघि नेपालमा फाट्टफुट्ट कोरोना संक्रमित देखिएका थिए। एकै दिन र एकै ठाउँमा धेरै संक्रमित देखिएको त्यो पहिलो घटना थियो।
भुल्के नजिकैको ससुराली घर गएर फर्किएको भएपनि उपेन्द्रलाई कुनै आशंका थिएन। किनकी उनलाई कुनै लक्षण नै देखिएको थिएन। २६ वर्षे लक्का जवान उपेन्द्र हट्टाकट्टा नै थिए। उनले सुनेका थिए कोरोना भाइरसको संक्रमण हुदा रुघाज्वरो लागेजस्तो हुन्छ भन्ने।
त्यसैले ससुराली गाउँमा कोरोना फैलिए पनि उनी आफूलाई सरेको छैन भन्नेमा ढुक्क थिए।
विदेशबाट महिना दिनअघि फर्किएका उनलाई सुरुमा कसैले क्वारेण्टाइन बस्न सुझाएनन्। न त उनी आफैलाई क्वारेण्टाइन बस्नुपर्छ भन्ने लाग्यो।
तर भुल्केमा संक्रमित देखिएपछि भुल्के नजिकै ससुराली गाउँमा उपेन्द्र महिना दिन अगाडि पुगेकाले गाँउपालिकाले क्वारेण्टाइनमा बस्न लगायो।
उनको आरडिटी परीक्षण नतिजा पोजेटिभ देखियो।
त्यसपछि भने झस्किए उनी। तर पीसीआरको रिपोर्ट आउन बाँकी भएकाले आफूलाई संक्रमण भएको छैन भन्नेमा ढुक्क थिए उपेन्द्र। तर, पीसीआर रिपोर्ट आयो पोजेटिभ नै। उनले आफूलाई कोरोना भाइरस संक्रमण भयो भन्ने पत्याएनन्।
कारण, उपेन्द्रलाई आरडीटी र पीसीआरको रिपोर्ट देखाइएको थिएन।
'म त क्वारेण्टाइनमा थिए। आरडीटी गर्दा पनि पोजेटिभ छ। अब तपाइको पीसीआर गर्नुपर्यो भने। रिपोर्ट त मलाई देखाएनन्। पीसीआरको रिपोर्ट मलाई देखाएको होइन,' उनले भने। प्रहरीले फोन गरेर उनलाई संक्रमण भएको जानकारी दिएको रहेछ। नआत्तिन र अरुका कुरा नसुन्न प्रहरीले आग्रह गर्यो। प्रहरीले आग्रह गरेर के मान्थ्यो मन, डर शुरु भइहाल्यो।
तर आत्तिएनन् उनी, किनकी संक्रमण भए पनि ठीक हुन्छ भन्ने समाचार धेरै सुनेका थिए।
पीसीआर रिपोर्ट पोजेटिभ आएको तीन दिनसम्म उनी क्वारेण्टाइनमै बस्नुपर्यो। उनलाई कुन अस्पतालमा लिने भन्नेबारे तीन दिनसम्म पनि गाउँपालिकाले टुंगो लगाउन सकेन। पछि उनी आफैले प्रहरी र स्वास्थकर्मीसँग कुरा गरे।
'म त संक्रमित हो। मलाई त अस्पतालमा लिएर अलगै राख्नुपर्ने तीन दिनसम्म पनि किन नलिएको? भोलि मबाट अरुलाई संक्रमण फैलिन सक्छ त्यसैले मलाई अस्पताल चाँडो लगिदिनु पर्यो,' त्यतिबेला आफैले भनेको सम्झन्छन्।
त्यसपछि उनलाई एम्बुलेन्समार्फत लगियो कोशी अस्पताल।
आइलेसन वार्डमा थिएन पुरुष ट्वाइलेट
वैशाख १३ गते अस्पताल भर्ना भएका उनी १६ दिन अस्पताल बसे। अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको राम्रै व्यवहार पाए उनले। ४ जना अरु संक्रमित पनि थिए उनलाई राखिएको आइसोलेसन हलमा। मोबाइल चलाउन दिइएकै थियो तर इन्टरनेट सुविधा थिएन।
'१६ दिन कटाउन त निकै सकस भयो नी। मोबाइल त चलाउन दिएको थियो। तर इन्टरनेट थिएन। जेल जस्तै भयो नि,' उपेन्द्र सुनाउछन्।
अस्पताल बस्दा खासै केही समस्या भोग्नु परेन उपेन्द्रले। तर कहिलेकाही शौचालयमा पानी हुदैनथ्यो। निकै समयपछि मात्रै अस्पतालले पानीको ब्यवस्था गर्थ्यो।
अस्पताल बस्दाको अर्को घटना पनि सम्झन्छन् उपेन्द्र। उनलाई अस्पताल पुगेको केही बेरमै शौचालय जान मन लाग्यो। महिला लेखिएको शौचालय जान भनियो, तर उनी जान मानेनन्। पुरुषको शौचालय मात्रै जाने अडान लिए तर आइसोलेसन वार्डमा पुरुषका लागि छुट्टै शौचालय नै रहेनछ।
त्यसैले उनले पनि महिलाकै शौचालयमै जानुपर्यो।
'औषधि भनेको दुई थाल भात'
१६ दिन अस्पताल बस्दा कुन औषधि खानुभयो त?
'दुई थाल बजाइन्थ्यो बिहान बेलका, एक थाल बिहान, एक थाल बेलुका। त्यति हो मैले खाएको औषधि,' उपेन्द्रको जवाफ अनौठो सुनियो।
कुनै पनि औषधि नखाएरै कोरोना जितेको उपेन्द्र दाबी गर्छन्।
'सुरुमा पनि मलाई अरु त टाढाको कुरा खोकीसमेत लागेको थिएन। अस्पतालमा पनि ज्वरो खोकी अहँ केही पनि लक्षण देखिएन। एक गोली पनि खाएको छैन औषधीका नाममा। अहिले पनि मलाई केही पनि समस्या छैन्,' आफ्नो स्वास्थ्यबारे जानकारी दिदै उनले भने।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवार, ससुराली र सम्पर्कमा आएका ७० जनको दुई पटक पीसीआर भयो। तर कसैलाई पनि कोरोना भाइरस संक्रमण भएको देखिएन। उपेन्द्र विदेशबाट आएर ४० दिन परिवारसँगै बसे। त्यसपछि मात्रै उनको परीक्षण गरिएको थियो।
उनलाई हिजोआज भने संक्रमण नै भएको थिएन की भन्ने लाग्दो रहेछ।
'म जहाँ जहाँ गएको हुँ, जसलाई भेटेको थिए सबैको परीक्षण गरियो। मेरो परिवार र ससुरालीको पनि सबैको परीक्षण गरियो। तर कसैलाई पनि संक्रमण भेटिएन। मलाई कुनै लक्षण पनि छैन, अहिलेसम्म। त्यसैले मलाई त संक्रमण नै भएको थिएन कि भन्ने लाग्छ,' उनले भने। क्वारेण्टाइनमा गरिएको पीसीआर र आरडीटीको परीक्षण रिपोर्ट नदेखाएकाले उनी आफूलाई भाइरस संक्रमण भएकोबारे विश्वस्त हुन सकेका छैनन्।
आफूलाई कहाँबाट संक्रमण भयो अनुमानसमेत गर्न सकेका छैनन्।
'म विदेशबाट आएको ४० दिन भइसकेको थियो। परीक्षण गर्दा पोजेटिभ आयो। विदेशमै सरेको भए मेरो श्रीमती र छोरीलाई किन सर्ने होला?,' प्रश्न गरे उनले, 'यदि ससुरालीमा सरेको भए ससुरालीका अरुलाई किन देखिएन? ससुरालीबाट आएर पनि घरमा महिना दिन जति बसेपछि मात्रै परीक्षण गरिएको हो। त्यतिबेला सम्म कसैलाई किन सरेन? मलाई त एकदमै अनौठो लगेको छ।'
क्यान्सर भयो बाच्दैन भन्थे
१६ दिन अस्पताल बसेर कोरोना भाइरसको संक्रमण जितेपछि उपेन्द्र अहिले होम क्वारेन्टाइनमा छन्। १४ दिनमा उनलाई फेरि स्वास्थ्यकर्मीको टोलीले फलोअप गर्छु भनेको भए पनि अहिलेसम्म उनलाई भेट्न कोही आएको छैन। वैशाख २८ गते डिस्चार्ज भएका उपेन्द्र झण्डै तीन हप्तासम्म पनि आफ्नो स्वास्थ्यबारे कसैले चासो नदेखाएकोमा भन्ने दुखी छन्। 'घर गएको १४ दिनसम्म अलगै बस्नु। फेरि स्वास्थ्य जाँच गर्नुपर्छ। तपाइकै घरमै स्वास्थ्यकर्मीको टोली आउँछ भनेका थिए,' उनले भने,' सत्र/अठार दिन भइसक्यो। गाँउपालिकामा पनि फोन गरेर भनेको थिएँ। तर मेरो स्वास्थ्यबारे बुझ्न कोही आएका छैनन्।'
उनी अस्पतालमा रहँदा उनकी श्रीमतीले भने छिमेकीका नराम्रा बचन सुन्नु परेको रहेछ। 'सुरुमा थाह पाएको भए त्यस्तालाई त बन्चराले हानेर बाटोमा मारी दिन्थ्यौँ भन्थे रे, मेरी श्रीमतीलाई। कसैले क्यान्सर भयो अब बाच्दैन भनेर भन्ने रहेछन्, कसैले टिबी भयो भनेर पनि भनेछन्,' उनले सम्झिए। तर अहिले छिमेकीले उनलाई हेर्ने दृष्टिकोण बदलिएको छ। अहिले उनलाई धेरैले संक्रमण नै भएको थिएन की भनेर आशंका गर्छन्। 'तलाई त सरकारी माना खान लेखेकोले मात्रै गएको होला। केही भएकै थिएन कि जस्तो लाग्छ भन्छन्, अहिले त सबै छरछिमेकीले,' उनले भने।
आरडीटीको नतिजा पोजेटिभ आउँदा नै आफूबारे आएको समाचारले दुखी बनाएको बताए उपेन्द्रले। नामसहितको समाचार आउनुमा उनी आफ्नै गाउँको वडाध्यक्षलाई दोषी देख्छन्। वडाध्यक्षलाई आरोप लगाउदै उनले भने, 'मेरो नामै भनेर वडाध्यक्षले समाचार टिपाउनु भएछ। त्यतिखेर आरडीटीमात्रै पोजेटीभ थियो। त्यसले मलाई दुख लाग्यो। मैले पछि फोन गरेर पनि सोधे उहाँले होइन भन्नुभयो। तर नामसहितको समाचार टिपाउने उहाँ नै हुनुहुन्थ्यो।'
आत्मबल कमजोर नबनाउँ
क्वारेण्टाइनमै बसेका बेला उनको आरडीटी र पीसीआर गरियो। त्यसैले उनले कोरोना पुष्टि भएपछि घर परिवारका कसैलाई पनि भेटन पाएनन्। तर श्रीमतीसँग फोनमा कुराकानी भइरहन्थ्यो। खबर सुनेपछि उनले श्रीमतीलाई नै फोन गरेर सम्झाए। मलाई संक्रमण भएको भए पनि केही हुदैन, पीर नगर्नु म अस्पताल गएर केही दिनमै ठीक हुन्छु भन्दै उनले श्रीमतीलाई सम्झाए। 'खबर सुनेपछि त घर परिवार सबै आत्तिए। लौ न कसो गर्ने होला भन्ने भयो सबैलाई तर मैले नै सबैलाई सम्झाए। आफूलाई डर लागेको भए पनि सम्झाउनुपर्ने त मैले नै भयो,' उनले भने। कोरोना जितेपछि अहिले उनका घर परिवार सबै खुसी छन्। उनीबाट कसैलाई पनि कोरोना नसर्दा परिवार तथा छिमेकी खुसी भएको उपेन्द्र सुनाउछन्।
उपेन्द्रको दैनिकी अहिले होम क्वारेण्टाइनमै बितिरहेको छ। गाउँमा अरु खेतबारीमा गएर काम गरिरहेको भए पनि उनी अझै कहीकतै निस्केका छैनन्।
समाचार हेर्छन्। कोरोना सम्बन्धी चासो बढेको छ। दिनकै संक्रमित बढेको समाचार सुन्दा अरुलाई डर लागेपनि उनलाई भने डर नलाग्दो रहेछ। डराएन भने सजिलै कोरोना जित्न सकिन्छ भन्ने धारणा छ, उपेन्द्रको।
कोरोना जित्न आत्मबलको खाँचो औल्याउछन् उनी। 'संक्रमण भए पनि नडराएर आत्मबल कमजोर नबनाउने हो भने कोरोना लागे पनि समस्या नहुने रहेछ। मुख्य कुरा त डराउनु नै भएन,' उनले भने।
खानपिनमा ध्यान दिन, आत्मबल कमजोर नबनाउन र चिकित्सकको सल्लाह मान्न सुझाव दिन्छन्, उपेन्द्र। 'म कहिल्य पनि अब के गर्ने होला। ओ हो! मलाई त संक्रमण भयो। अरुले के भन्लान भनेर सोच्नेतिर लागेन। त्यसैले पनि मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन,' उनले भने, 'म सबैलाई के भन्छु भने अहिले जताततै कोरोना संक्रमण फैलिएको छ। अब डराएर पनि के गर्ने? बरु आफ्नो खानपिनमा ध्यान दिनुहोला। कोरोना लागे पनि त्यस्तो केही नहुदो रहेछ। चाँडै ठिक भइहाल्छ। डाक्टरले भनेको मान्नु त पर्छ नै। त्यसो गर्दा चाँडै कोरोना ठीक हुन्छ।'