PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ढिलै भए पनि ह्याप्पी वर्थडे गणतन्त्र ! (ब्लग)



पहिलोपोस्ट

ढिलै भए पनि ह्याप्पी वर्थडे गणतन्त्र ! (ब्लग)

  • दीपज्योति श्रेष्ठ-

ओहो! तिमी त १३ वर्षको भएछौ। मैले त तिम्रो उपस्थिति महसुस गर्ने सुरमा तिम्रो उमेर काउन्ट गर्नै पो बिर्सेछु। केही वर्षअघि जस्तो लागेको थियो तिमी जन्मेको। उत्साहमा देश दिपावलीले जगमग भएको। तिमी जन्मेसँगै कैयौंले अब सुखी र सम्वृद्ध नेपाली हुने आशा र सपना भरेको।

संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्ष पुरानो राजतन्त्रलाई बिदा गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेसँगै तिमी जन्मियौ। तिम्रो जन्मसँगै देशले केही महत्वपूर्ण परिवर्तनहरु महसुस गरेकै हो। वर्षौंदेखिको राजतन्त्र लखेटियो। पहिलोपटक हामीले आफैले चुनेको जनप्रतिनिधिले संविधान लेखे। स्थानीय, प्रदेश र संघले वर्षौदेखि रिक्त जनप्रतिनिधिहरु पाए। 

तिमी जन्मिएसँगै देशको शासन व्यवस्था नै बदलियो। फेरिएको व्यवस्थासँगै अब सुख र सम्वृद्धिका दिनहरु सुरु भए भन्ने धेरैको बुझाइ र विश्वास थियो। आफू मध्यकै कसैले हामीलाई शासन गरेर होइन, हाम्रै प्रतिनिधित्व गरेर हाम्रो लागि देश हाँक्छ सम्वृद्धितिर लान्छ भन्ने धेरैको आशा मात्र होइन विश्वास नै थियो। तर, तिम्रो तेह्रौं जन्मदिनले हामीलाई तिमी जन्मिने बेलाको जस्तो खुशी किन हो दिन सकिरहेको छैन। सायद् शासन व्यवस्था र शासक फेरिएको १२ वर्ष पूरा हुँदा पनि हाम्रो आशा र अपेक्षा अनुसार काम हुन नसकेर पनि होला। बडो दु:ख लाग्छ मलाई, तिमीलाई सुनाउन कि व्यवस्था फेरिएर पनि हाम्रो अवस्था फेरिएन भन्दा।

मलाई अझै याद छ तिमी जन्मेको दिन बाह्र वर्षअघिको त्यो दिन। म तिम्रो जन्मदिन किन पनि याद गर्छु भने मेरो जन्मदिनको ठ्याक्कै पाँच दिनपछि तिम्रो जन्मदिन आउँछ। त्यही भएर पनि मलाई जेठ विशेष लाग्छ। हुन त उमेरले सायद म तिमीभन्दा ठूलो छु। तर, महत्व अर्थको हिसाबले तिमी म भन्दामात्र होइन, सायद् शासन व्यवस्थाहरुको नै तिमी सर्वश्रेष्ठ हुनुपर्छ, हामी जस्तो नागरिक स्वतन्त्रता मन पराउनेहरुका लागि। तिमी जन्मिँदा म सायद १२ कक्षामा पढ्दैथे। अनि उमेरले अठारको थिएँ। मलाई ठ्याक्कै थाहा छैन तिमी जन्मिएको खुशियालीमा दियो बालेँ कि बालिन। केक काटेँ कि काटिन। या अरु केही सेलिब्रेसन गरेँ कि गरिन। केही नगरे पनि मैले फेसबुकमा त केही लेखेँ होला सायद।

अहिले खास याद आइरहेको छैन किनकि फेसबुकले मलाई सम्झाएको छैन। तर खैर मैले केही गरेछु भने पनि या नगरेछु भने पनि म धेरै खुशी थिएँ तिम्रो जन्ममा। यति चाहिँ मलाई विश्वास छ। तिमी जन्मिनुको धेरै अर्थ म बुझ्दिनथेँ। तर पनि म मनदेखि अरु नेपालीहरु जस्तै खुशी थिएँ। किनकि मैले घरतिर, पत्रिका, टिभीको समाचारमा सुनेको थिएँ- अब तिमीले नयाँ नेपालको कल्पना गर्छौ रे। जसमा शासक भन्दामाथि नागरिक हुन्छ रे। अनि मैले तिम्रो नामको अर्थ खोजेँ गणतन्त्र। ओहो! गण भनेको जनता र तन्त्र भनेको शासन। कति गज्जब। नामै यति गज्जब भएसी अरु त राम्रो हुने नै भयो। अहिले पनि मलाई तिम्रो नाम बडो गज्जब लाग्छ। तर के गर्नु नाम अनुसारको काम हामीले महसुस गर्न सकेनौं। हुन त यसमा तिम्रो गल्ती केही छैन। गल्ती छ त तिम्रो आडमा शासन गर्न खोज्नेहरुको। भन्नलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक रे अनि शासन व्यवस्था हेर्‍यो भने कुनै राणा शासन अथवा राजाकोभन्दा कम झल्को आउँदैन। अनि घरीघरी हामीलाई लाग्छ तिमी नाम मात्रको छौं। अनि तिम्रो आडमा निरङ्कुशतन्त्र मौलाउँदैछ। तिमीलाई मात्र जन्माएर बलिको बोका बनाउँदै छ।

तिमी त एउटा नयाँ सोच लिएर जन्मियौ। तर के गर्नु तिम्रो जन्मले व्यवस्था र शासकलाई फेरे पनि शासन गर्नेको प्रवृत्ति फेर्न सकेन। तिम्रो जन्मसँगै राजनीतिमा भएको आमूल परिवर्तनपछि पनि राजतन्त्रात्मक मानसिकताले गर्दा हामी नागरिकको अवस्थामा परिवर्तन आउन सकेन। तिम्रो जन्मसँगै शासन व्यवस्थाका केही संरचना परिवर्तन भए। देशको सर्वोच्च पद राष्ट्रप्रमुखको जिम्मेवारीमा जनताका छोरोछोरी पुगे।

राजदरबार हट्यो। राष्ट्रपति कार्यालय स्थापित भयो। तर, मानसिकता परिवर्तन हुन सकेन। सत्तामा पुगेकाले राजाकै पालामा जस्तो लावालस्कर र विलासी जीवनलाई निरन्तरता दिँदा हामीले परिवर्तनको अनुभूति गर्न सकेनौं। सिंहदबार फेर्न भनेर हिँडेका नेताहरु आफै फेरिए। तर पहिलादेखि चलिआएको उही नेताजीवाला घमण्ड र रवाफ अझै फेरिएन। मलाई याद छ तिम्रो जन्मदिन मनाउन जाँदा केही व्यक्तिहरुको सवारीले धेरै पटक मेरो सवारीलाई रोकिदिएको छ। रहरले होइन जबर्जस्ती। तिम्रो जन्मको ऋण हामीले धेरै पटक तिरिसक्यौं। कहिले अफिस जाँदा जाँदै अड्किएर, कहिले अस्पताल जाँदा जाँदै त कहिले के। त्यही भएर पनि होला सायद् तिम्रो जन्मदिनमा धेरैलाई दिक्क लाग्छ। तिम्रो जन्मदिनमा हामीलाई कौडीको पनि महत्व दिदैनन्। हामी त छँदै छैनौं जस्तो महसुस गराउँछन् तिम्रो नाममा हामीमाथि शासन गर्नेहरुले। एकपटक मात्र होइन सायद् तिम्रो प्रत्यक जन्मदिनमा यस्तै भएको छ। धन्न यसपाली यो कोरोनाले तिम्रो जन्मदिनको लावालस्करबाट हामीलाई जोगायो। तिमीलाई अवश्य पनि नराम्रो लाग्यो होला। यसपाली तिम्रो जन्मदिनमा कुनै तडकभडक भएन। राष्ट्रपति र प्रधानमन्त्रीले छिस्रिक एउटा संदेश दिए। धेरैले तिम्रो नाममा सम्पादकीय लेखे। लेखेकाले पनि खासै आशा दिने कुराहरु लेखेनन्। सामाजिक संजालहरुमा जवर्जस्ती तिमीलाई संदेश दिए जस्तो लाग्यो मलाई। यसबाट पनि आँकलन गर्न सकिन्छ कि गणतन्त्रसँग गण नै खुशी छैनन्। तिमीले आशा भन्दा निराशा धेरै दियौ।

तिमी आएपछि त हाम्रो स्तर सुध्रिनु पर्ने हो। तर के गर्नु खासै केही उभो लागेन। झन् सबैतिर निराशा छायो। तिम्रो आडमा हाम्रो प्रतिनिधित्व गर्न भनेर गएकाहरुले हामीमाथि नै उल्टो शासन गर्न थाले। तिम्रो शासन व्यवस्थामा हामी नै कतै हरायौँ। अझ भन्नुपर्दा गणतन्त्र मा गणनै हरायो। गण त सर्वोपरी हुनुपर्ने होइन र? जनताको प्रतिनिधित्व गर्न गएकाहरु आफैले आफैलाई शासक मानेर हामीलाई आदेश दिन थाले। लुटतन्त्र मच्चाउन थाले। जवादेहीता त मानौं उनीहरु हुनै पर्दैन जस्तो सोच्न थाले। अनि कसैप्रति जवाफदेही हुनु नपरेपछि त उसको मनमौजी रवैयालाई तिम्रो सिद्धान्तले त रोक्न नसकेको अरुले के सक्ला? तिम्रो आडमा यो बाह्र वर्षको अन्तरालमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती निकै मौलाइसक्यो।

अझ भन्ने हो भन्दा हदभन्दा बाहिर नै पो गइसक्यो। मन्त्रीदेखि राजनीतिक दलका नेताहरू नै त्यस्तो कुरामा मुछिन थालेपछि त तिमी हुनु र नहुनुमा हामीलाई केही फरक परेन। अझ तिम्रै उपस्थितिमा कतिले त ‘अनागरिक’ जस्तो अनुभव गर्नुपर्‍यो। हामीले नै चुनेको जनप्रतिनिधि हामीप्रति उत्तरदायी हुन छोडेपछि तिम्रो अस्तित्वको हामीलाई खास मतलब लाग्न छोडेकै हो। तिम्रो जन्मपछि त विधिको शासनले कति फड्को मार्ला भनेको। अहिले त्यो आश पनि गर्न मन नलाग्दा आफै फ्रसट्रेट पो हुन्छु। म मात्र होइन तिमी जन्मेको बेला खुशी हुने धेरै अहिले फ्रसट्रेसनमा छन्। सायद् तिमीबाट धेरै आशा गरेकोले पनि हुन सक्छ।

खैर, तिमी र तिमीलाई चलाउनेहरुले तिम्रो अस्तित्वको बारेमा निश्चय नै ख्याल राखेका होलान्। अरु त हामी के नै गर्न सक्छौं र। अब अर्को कुनै व्यवस्थाको लागि मार्न र मर्न हामी तयार छैनौं। अधिकारको लागि अब हामीलाई अर्को कुनै आन्दोलनहरु गर्न मन छैन। अनि अब तिमीबाटै निराश भइसकेका हामी अब तिमीलाई आरिस गराउन अरु कसैलाई जन्माउने सोचमा पनि छैनौं। र, अब हामीसँग त्यो जोश पनि छैन।
तिमीसँगै जन्मिएको बालक पक्कै पनि अहिले जवानीतिर लम्किँदै छ। सायद उ अरुलाई आफूप्रति लालायित बनाउन अनेक प्रयासहरु गर्दै छ।

अनेक सपनाहरु सजाउने तरखरमा छ। परिपक्व हुने सुरसारमा छ। अनि तिमी भने किन सबैलाई निराश बनाउनेतिर अघि बढ्दै छौ? अब तिमी तेह्र वर्षमा प्रवेश गर्दैछौ। यानिकि तिमी अब टिनएजतिर लाग्दै छौ। यो मानव जीवनमा त अत्यन्तै सुन्दर उमेर समूह हो। यो बेलामा धेरै अवसरहरु हुन्छन् आफूतिर रोमान्चित गर्ने, आकर्षित गर्ने। अब तिमीले पनि त्यसै गर्नुपर्छ। अब पनि तिमीलाई सम्झेर कोही निराश हुनु हुँदैन। यदि त्यस्तो अवस्था आयो भने यो तिम्रै फेलियर हो। तिमीलाई जन्माउन लागिपरेका ती सबैको फेलियर हो। तिम्रो जन्ममा बालिएको ती सबै दियोहरु, गुन्जिएका ती जिन्दावाद, फहराईएका ती झण्डाहरु, वलिदान दिएका ती शरीरहरु ती सबैको नै असफलता हो। त्यसैले, गणतन्त्र तिमीलाई यो तेह्रौं जन्मदिनको एकदम धेरै शुभकामना। आउँदो जन्मदिनहरुमा तिम्रा लागि निराशाका शब्दहरु नखनियोस्। तिमीले आफुले आफैलाई कसरी निखार्छौ, परिपक्व बनाउँछौं, अनि आफ्नो सिद्धान्तलाई रोम्यानटिसाइज गर्छौ त्यो तिम्रो आडमा शासन गर्न खोज्नेहरुको हातमा छ। तिमीसँगै उनीहरुलाई पनि शुभकामना। ढिलै भए पनि ह्याप्पी वर्थ डे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell