PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पर्खाल (कविता)



पहिलोपोस्ट

पर्खाल (कविता)

  • विजय शिवाकोटी -

धेरै लामो बाटो सँगै हिँडिसके पछि 
उ भन्छे 
अब हामी छुटौं 
धेरै झरी सँगै रुझे पछि 
उ भन्छे-
अब घाम लाग्यो
म जान्छु
ती यात्राहरु, ती घुम्तीहरु 
ती यात्राका  क्रमका  साथहरु 
ती पलहरु 
सँगै बिताएका ती साँझहरु 
एकाएक बिर्सिएर 
उ छुट्टिने कुरा गर्छे 
म निशब्द हुन्छु 
म स्तब्ध हुन्छु 
मैले सोचेकै थिइन  
उ मसँग टाढिन सक्छे भनेर
अझै पनि लाग्दैछ मलाई 
उ ठट्टा गरिरहेकी छे मसँग 
किनकि 
मैले  उसको चन्चल  आँखामा 
स्थिर प्रेम देखेको थिएँ  
उ मलाई नै मुस्काउँथी 
उ मलाई नै जिउँथी 
उसको हर शब्दमा  
केवल म अभिब्यक्त हुन्थेँ
उसलाई म त्यसरी नै बुझ्थेँ 
जसरी उ ब्यक्त हुन्थी
 
उसमा एक लयबद्धता छ 
उसमा एक संगीत छ 
उसमा एउटा छन्द छ 
उसमा एक सुगन्ध छ 
उसमा एक ताल छ 
उसमा एक अनुप्राश छ
उसमा एक नृत्य छ 
उसमा एक मादकता छ
उसमा एक काव्य छ  
जुन म कहिले बिर्सन सक्तिन 
तर उ -मलाई अब  बिर्सिदेऊ भन्दैछे
शायद उ अनभिज्ञ  छे  
उसका यी सारा बिशिष्टता 
मबिना अर्थहीन हुन्छन् 
किनकि ती सबलाई बुझ्न 
मेरै हृदय चाहिन्छ 
मेरै आँखा  चाहिन्छ   

उसलाई  थाहा छ 
उ मेरो अनन्त  प्रेम हो 
उसलाई थाहा छ 
उ मेरो सबथोक हो 
तर अनायस उ अनगिन्ती यादहरु बनाएर 
मलाई बिर्सिदेऊ 
मलाई जानदेऊ  भन्दैछे 
म उसलाई भन्छु-
ठीक छ, तिम्रो खुशी 
तिमी जाऊ
तर जानु अघि
यति अनुग्रह गरिदेऊ
  
म र तिमी बीच
सारा सम्झनाहरु छेक्नसक्ने
 एउटा विशाल पर्खाल  बनाइदेऊ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell