PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई नाका जहाँबाट १५ दिनमा भित्रिए ४३ हजार नेपाली तर सबै छैनन् क्वारेन्टाइनमा



एम बम

दुई नाका जहाँबाट १५ दिनमा भित्रिए ४३ हजार नेपाली तर सबै छैनन् क्वारेन्टाइनमा

कैलाली : सीमा क्षेत्रका भारतीय क्वारेन्टाइनमा अलपत्र नेपालीको गत जेठ २ गतेबाट उद्धार थालिएपछि अहिले स्वदेश फर्किनेहरुको ओइरो नै लागेको छ। तर, आएकाको व्यवस्थापन अस्तव्यस्त बनेपछि नेपालतर्फका सीमावर्ती जिल्लाका सरोकारवाला समस्यामा छन्।

कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै जेठ २ गतेपछि ४३ हजारभन्दा बढी मानिस नेपाल भित्रिएका छन्। कैलालीको त्रिनगर नाकाबाट जेठ २ गतेपछि १२ दिनमा ३३ हजार चार सय ३४ र गड्डाचौकी नाकाबाट पाँच दिनमा १० हजार ८२ गरी ४३ हजार पाँच सय १७ जना भित्रिएका छन्। अहिलेसम्म उनीहरु मध्ये १ हजार ४ सय ५० जनाको मात्रै र्‍यापिड टेस्ट गरिएको छ भने अन्य कसैको परीक्षण हुन सकेको छैन।

कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका ३३ हजार ४ सय ३४ जनामध्ये १ हजार ७ सय ९१ जनाबाहेक अन्य सबै ३१ हजार ६ सय ४३ जना सुदूरपश्चिमका ९ जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

गौरिफन्टा नाकाबाट हालसम्म ३२ जिल्लाका मानिस भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीको भनाई छ। उनले सकेसम्म सबैको सहज उद्धार गरी सम्बन्धित स्थानीय तहसम्म पुर्‍याइएको बताए।

उता, कञ्चनपुरको गड्डाचौकी नाकाबाट १० हजार ८२ जना नेपाल भित्रिएका छन्। जसमा झण्डै २ हजार सुदूर पश्चिम प्रदेशभन्दा बाहिरका छन् भने अन्य सबै सुदूरपश्चिमका छन्। कञ्चनपुरक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले नाकाबाट व्यवस्थित रुपमा नागरिकको उद्धार भइरहेको बताए। उनले अन्य नाका भन्दा आफूहरुले सकेसम्म व्यवस्थित तरिकाबाट उद्धार गरिरहेको समेत दाबी गरे।

यसरी यी दुई नाकाबाट भित्रिएका सुदूरपश्चिमका झण्डै ३९ हजार मानिस मध्ये हालसम्म ३२ हजारमात्रै क्वारेन्टाइनमा छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार शुक्रवारसम्म ३२ हजार सात सय ३२ जनामात्रै क्वारेन्टाइनमा छन्। उक्त तथ्याङ्कले प्रदेशमा जेठ २ गते यता भित्रिएका झण्डै ७ हजार नागरिक क्वारेन्टाइन बाहिर रहेको देखाएको छ।

तर, सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तह र स्वास्थ्य संस्थालाई क्वारेन्टाइनमा बसेकाहरुको निगरानीको जिम्मेवारी दिइएकाले सबै क्वारेन्टाइनमै रहेको दाबी गरे। उनले यस अघि भारतबाट आएका सबैको क्वारेन्टाइन बसाई पछि अनिवार्य स्वास्थ्य परीक्षण गरिने समेत दाबी गरेका थिए।

तर, भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु १४ दिन बढी भइसक्दा पनि स्वास्थ्य परीक्षणको प्रक्रिया भने अघि बढेको छैन। जसले गर्दा आम क्वारेन्टाइनमा बसेकाहरुको त परैको कुरा संक्रमित फेला परेका क्वारेन्टाइनका बासिन्दाको समेत स्वास्थ्य परीक्षणमा ढिलाइ भइरहेको छ।

कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले वडा नम्बर १ स्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका ४५ जनामध्ये ६ जनामा कोरोना पुष्टि भइसक्दा सम्म पनि २९ जना अझै कोरोना परीक्षणको पर्खाइमा क्वारेन्टाइनमै रहेको बताए।

उक्त क्वारेन्टाइनमा बसेर कोरोना पुष्टि भएका ६ जना संक्रमितको उपचार टीकापुर अस्पतालमा भइरहेको छ। अन्यको परीक्षण गराउनका लागि प्रदेश सरकारसँग सामग्री माग गर्दा नपाइएको उनको गुनासो छ।

प्रदेश सरकारले कीट अभावमा भारतबाट आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि पहल थाल्न सकेको छैन।

सुदूर पश्चिममा हालसम्म २१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भइसकेको छ। भारतबाट आइरहेकाहरुको परीक्षणमा भइरहेको ढिलाइले प्रदेशमा यसको संक्रमण भयावह बन्नसक्ने भन्दै चिकित्सकहरुले सरकारलाई पटकपटक परीक्षणको दर र दायरा दुवै बढाउन आग्रह गरिरहेको छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell