PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अवस्था बिग्रिएपछि रौतहटका एक संक्रमितलाई पठाइयो काठमाडौं



राधेश्याम पटेल

अवस्था बिग्रिएपछि रौतहटका एक संक्रमितलाई पठाइयो काठमाडौं

वीरगंज : रौतहटका एक जना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। एम्बुलेन्सबाट हिजो राति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

राजपुर–९ बैरियाका ४० वर्षे पुरुषलाई राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डबाट थप उपचारका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले जानकारी गराए।

एक साताअघि भारतबाट गाउँ आएका उनलाई क्वारेन्टाइनमा राखिएकोमा कोरोना पुष्टि भएपछि राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डको छुटै कोठामा राखिएको थियो।

संक्रमित मधुमेहका रोगी हुन्। 'साँझ अचानक उनको हातखुटा झमझमाउन थाल्यो, स्वासप्रस्वासमा पनि समस्या देखिएको र बेचैनी बढेपछि शुरुमा वीरगंज लगिने योजना थियो तर वीरगंजका चिकित्सकहरुले काठमाडौं लैजान सुझाएपछि पठाइएको हो,' साहले भने। नेपालमा अहिलेसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश २ मा एक जनाको मृत्यु भएको छ।

बारा, करैयामाई गापा ७ का ७० वर्षीय वृद्धको गत जेठ ४ गते उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई निमोनिया लागेको चिकित्सकहरुले बताएका थिए। तर उनको शव जलाइसकेको ९ दिनपछि उनको रिपोर्ट पोजेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell