PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संक्रमितलाई सास्ती : अस्पतालको अत्याचार, रातभर बसमै बास



सविन ढकाल

संक्रमितलाई सास्ती : अस्पतालको अत्याचार, रातभर बसमै बास

काठमाडौं : शुक्रवार दिउँसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार ब्रिफिङमा संक्रमितको संख्या बढेको जानकारी दिइरहँदा झापाको कचनकवल गाउँपालिकामा पनि थपिनेको संख्या बढेको थियो। झापामा २७ जना थप सङ्क्रमित थपिएका थिए। स्वाब परीक्षणको लागि पठाएका मध्ये कसकसको रिपोर्ट पोजेटिभ आएको थियो गाउँपालिका पदाधिकारीलाई पत्तै थिएन।

गाउँपालिका अध्यक्ष अन्जरा आलमले पनि संक्रमित थपिएकोमात्रै सुने। उनी गाउँपालिकामा आउने इमेल चेक गरिरहेका थिए। तर, आएको थिएन। ढिलो गरी रिपोर्ट हात लाग्यो, इमेलबाटै। विभिन्न स्थानमा बनाएका क्वारेनटाइनमा रहेका सङ्क्रमित बिरामीलाई उनले तयार पारे। किनकि संक्रमितलाई जसरी हुन्छ जोगाउने ध्येय लिएका थिए उनले।

साँझ परिसकेकाले खाना पनि खुवाए। कतिले त आफ्नो रिपोर्ट पोजेटिभ देखिएपछि खाना समेत खान मन गरेनन्। एक हिसाबले आत्तिएका थिए उनीहरु। जे जस्तो भए पनि उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि तयार पारियो। गाउँपालिकाले बिरामीलाई बोक्न एउटा बस तयारी अवस्थामा राखेको थियो।

६ बजेर ५० मिनेटमा बस हिँड्यो। धरान पुग्दा करिब ११ बजिसकेको थियो। बिरामीलाई अस्पताल पुगेपछि उपचार र औषधी होस् नहोस् मनोबल भने केही थपिन्छ नै। तर, त्यस्तो महसुस गर्नै पाएनन् उनीहरुले। राति पुगेका सङ्क्रमितलाई अस्पतालले भर्ना नै लिएन।

संक्रमित गाडीभित्र नै थुनिइरहे। रातभर लामखुट्टेले टोकिरह्यो। लामखुछेको टोकाइले भन्दा उनीहरु प्रति अस्पताल प्रशासनले गरेको व्यवहार खपिनसक्नु थियो।

'पशु जत्तिको पनि व्यवहार गरिएन। मन एकदमै दुख्यो,' संक्रमित भएको थाहा पाएपछि धरान लगिएका चौधरी थरका एक युवकले भने।

उनी ११ दिनअघि भारतको मुम्बाइबाट झापा आइपुगेका थिए। लकडाउनले कामधन्दा बन्द भएपछि उनले गाउँ फर्किने निधो गरेका थिए। र, २१ जनाले निजी गाडी रिजर्भ गरे नेपालसम्म आउन। एक जनाको भागमा ६ हजार रुपैयाँ भाडा तिर्नुपर्‍यो उनीहरुले। शुक्रवार कोरोनाको रिपोर्ट आएपछि उनलाई धरान लगियो।

'हामीलाई संक्रमण भएको चिन्ता छ। झन् यस्तो बेला सल्लाह सुझाव पाउनुपर्ने। उल्टो व्यवहार गरेपछि मन दुख्दो रहेछ,' संक्रमित ती युवकले भने।

अस्पतालले भर्ना नलिएपछि गाउँपालिका अध्यक्ष तनावमा पर्नु स्वभाविक भयो। रातभर उनको मोबाइल बजिरह्यो। तर, केही गर्न सक्ने अवस्थामा थिएनन्। रातभर उनीहरू गाउँपालिकाले लगेको बसमा अस्पतालको गेट बाहिर नै बसिरहे।

'हाम्रो पनि एकदमै चित्त दुख्यो। उनीहरूमा बिरामीको त्रास छ। गाउँ फर्किएर घर जान पाएका छैनन्। केहीले त डरले खाना समेत खाएका थिएनन्। उनीहरूको मनोबल के भयो होला?,' गाउँपालिका अध्यक्ष आलमले भने।

सिंगो रात उनीहरूले गाडीमा नै कटाए। शनिवार बिहान ९ बजेमात्र उनीहरूलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पहलमा अस्पताल भर्ना गरिएको थियो।

गाउँपालिकाले अस्पतालको लापरबाहीका कारण समयमा नै संक्रमितलाई भर्ना नगराएको रिपोर्ट भएको छ। लापरवाही अस्पतालको वा अन्य निकायको?

अहिले संक्रमित उनीहरुलाई अस्पतालमा लगिएको छ। उनीहरुले खाना खाएका छन्। 'अब राम्रो होला भन्ने आशा गरेका छौं। निको भएर फर्कन्छौं,' ती युवकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell