PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

२३ वर्षका लागि जेल चलान भएका हार्वे वेन्स्टनविरुद्ध थप ४ महिलाको यौन दूराचारको आरोप



पहिलोपोस्ट

२३ वर्षका लागि जेल चलान भएका हार्वे वेन्स्टनविरुद्ध थप ४ महिलाको यौन दूराचारको आरोप

बुधवार हलिउड निर्माता एवं निर्देशक हार्वे वेन्स्टनविरुद्ध थप ४ महिलाले यौन दूराचारको आरोप लगाएका छन्। मार्च दोस्रो सातादेखि जेल चलान भएका उनीविरुद्ध सन् १९८४ देखि २०१३ सम्म उनले यौनजन्य दूर्व्यव्यवहार गरेका महिलाहरुले उजुरी दिएका हुन्।

पीडितमध्ये एक महिलाले आफू १७ वर्षको हुँदा हार्वेले गरेको दूर्व्यवहार बारे बताएकी छिन्। टेनेसीकी ४३ वर्षीया उनले सन्‍ १९९४ मा हार्वेले आफूलाई होटलमा पुर्‍याएर बलात्कार गरेको बताएकी छिन्। फिल्म क्षेत्रमा लाग्न चाहने उनलाई पीडकले जबरजस्ती बन्दी बनाएर अन्य यौनजन्य क्रियाकलापमा लगाएको बताएकी हुन्।

वेन्स्टनका कानूनी प्रतिनिधिले बीबीसी न्यूजसँग भनेका छन्,'परिचय नखुलाई आफूविरुद्ध बोल्ने ती महिलाको आरोप स्वीकार्न तयार छैनन् उनी।'

अधिवक्ता इम्रान एच अन्सारीले उजुरी दिने तीन महिलाको पक्षमा वकालत गर्दैछन्। उनका अनुसार यी तीन महिलाले सन् १९८० र १९९० को दशकमा दूर्व्यवहार भोगेका थिए।

अर्की ७० वर्षीया महिलाले हार्वेले आफूलाई कान्सस्थित एक होटलको कोठामा पुर्‍याएर दुर्व्यवहार गरेको बताएकी छिन्। घटना सन् १९८४ को। त्यस समय ती महिला ३४ वर्षकी थिइन् र डकुमेन्ट्री फिल्म निर्देशकको रुपमा स्थापित हुन चाहन्थिन्।

३८ वर्षीय महिलाले आफूलाई हार्वेले 'करियरको नेक्स्ट लेभल'मा पुर्‍याउँछु भन्दै बलात्कार गरेको बताएकी छिन्। उनले हार्वेलाई सन् २००८ मा मनहट्टनमा भेटेकी थिइन्। सोहो अपार्टमेन्टमा घटेको उक्त घटना बारे कसैलाई बताए आफूलाई बर्बाद पार्ने धम्की दिएको समेत बताएकी छिन्।

हंगेरीकी ३५ वर्षीय महिलाले भने आफूविरुद्ध हार्वेले १० वर्षअघि यौनजन्य अपराध गरेको दावी गरेकी छिन्। भेनिस फिल्म फेस्टिभलमा उनको भेट हार्वेसँग भएको थियो। त्यसको केही महिनापछि हार्वेले उनीसँग जबरजस्ती यौनजन्य कार्य गराएका थिए।

हाल हार्वे जेलमा छन्। २३ वर्ष कारागार सजाय भोग्नका लागि। उनी ८० भन्दा बढी महिलाको यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका हुन्। अदालतले उनलाई ‘थर्ड डिग्री रेप’ र ‘फर्ट डिग्री आपराधिक यौन कार्य’मा दोषी ठहर गरेको हो।

सन् २०१७ मा उनीविरुद्धको आरोप पहिलो पटक सार्वजनिक भएको थियो। उनलाई आरोप लगाउनेमा अभिनेत्री, कलाकार, डिजाइनरदेखि उनी कार्यरत् कार्यालयका महिला कर्मचारीहरु समेत रहेका छन्। सूचीमा हलिउड अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोव पनि रहे।

त्यस्तै बलिउड अभिनेत्रीले ऐश्वर्या रायले पनि हार्वेले आफूलाई एकान्तमा भेट्न बोलाएको खबर सार्वजनिक गरेकी थिइन्।

कार्यालयमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध शुरु भएको मिटू मुभमेन्ट अन्तर्गत उनीविरुद्ध बोल्नेहरु देखिएका हुन्। यही घटनाका कारण हार्वेलाई उनी कार्यरत कम्पनीले निस्कासन गरेयता उनले आफू गलत नभएको दाबी गर्दै आएका थिए। तर, मुद्दाले ठूलो रुप लिनुअघि उनकी श्रीमती फेशन डिजाइनर जियार्जिना सैम्पमैनले पनि हार्वेलाई डिभोर्स दिएकी थिइन्।

सन् २०१७ को अक्टोबरमा बोर्ड अफ द एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सले वेन्सटनलाई निस्कासन नै गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell