PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गणेश थापाकै पथमा कर्मा छिरिङ : एन्फाले पाउन नसकेको सबल नेतृत्व



पहिलोपोस्ट

गणेश थापाकै पथमा कर्मा छिरिङ : एन्फाले पाउन नसकेको सबल नेतृत्व

  • राधेश्याम दाहाल -

कमी कमजोरी सबैमा हुन्छ। तर, सुधार गर्दै अगाडि बढ्ने र हिजो भएका गल्ती र कमी कमजोरीलाई नदोहोर्‍याउनेहरु तुलनात्मक रुपमा राम्रा हुन्। हिजोका गल्तीलाई सच्चाउनका सट्टा थप दुई कदम अगाडि बढेर गल्ती गर्नेलाई के भन्ने?

नेपाली खेलकुद क्षेत्रको सबैभन्दा चर्चित खेल संघका रुपमा रहेको अखिल नेपाल फुटबल संघमा पछिल्लो समय यस्तै दृश्यहरु देखापर्न थालेको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको चर्चा यतिबेला संसदसम्म पुगेको छ। उनले कुनै एक अनलाइनलाई दिएको अन्तर्वार्तामा बोलेको विषय खेल क्षेत्रको 'टक अफ दि टाउन' बनेको छ।

'तराईमा राष्ट्रियता कमजोर छ। त्यो सिकाउने प्रयास खेल मार्फत् गर्दैछु' भन्ने अभिव्यक्तिबाटै एन्फाको नेतृत्व कति कमजोर छ भन्ने प्रष्ट हुन्छ। फुटबल हेरेको भरमा वा खेलका सामान्य नियम जानेको भरमा एउटा मान्छे खेल संघको अध्यक्षसम्म बन्न सक्ने अवस्था छ देशमा। असक्षमहरुलाई नेतृत्व पुग्ने बल मिल्नुको पछाडिको काराण हिजोका नेतृत्व नै हो। हिजोको नेतृत्वले राम्रो उत्तराधिकारीहरु तयार गर्न असफल रह्यो। उनीहरुले नियम, कानुन र पद्धतिमा एन्फा चलाउने अवस्था निर्माण गरेनन्। जसका कारण आजको नेतृत्व यो हदसम्मको देखा पर्‍यो।

खेल आफैमा एउटा राष्ट्रवादी प्रयास हो। खेलमा जस्तो राष्ट्रवाद अन्य क्षेत्रमा भेटाउन कठिन हुन्छ। खेलले जात, क्षेत्र, वर्ण देख्दैन। राष्ट्रिय एकताको भावना खेलमा जति कहाँ भेटिएला?

त्यसकारण यसलाई जोगाउन खेलका बारेमा राम्रो ज्ञान भएकाहरुबाट मात्र सम्भव छ। समग्र खेलकुद संघ एकातिर र एन्फा एकातिर हुँदा पनि त्यो संस्थाको बजेट अझै बढी छ। यति धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट रकम प्राप्त हुने संस्थाको नेतृत्व कमजोरहरुको हातमा पुगेको अनुभूति हुनु अस्वभाविक होइन अहिले। खेलकुद र विशेष गरेर फुटबलमा चासो राख्नेहरुले एन्फामा सुधारका लागि विशेष अभियान संचालन नगरेसम्म त्यसमा सुधार सम्भव छैन। तर, एन्फामा पुग्ने बित्तिकै फेरि उही पथमा लम्कने चलनले नेपालको फुटबल थप रोगी बन्दै गएको छ।

यहाँ उठान गर्न खोजेको विषय एन्फामा रहेको संस्कारसँग केन्द्रित छ। विगतमा गणेश थापा नेतृत्वमा रहँदा पनि एन्फा चर्चाको शिखरमा नै रहन्थ्यो। कहिले गणेश थापाले बोलेको विषयमा, कहिले गणेश थापाले पत्रकारलाई हातपात गर्न खोजेको विषयमा। कहिले केही त कहिले के भइ नै रहन्थ्यो। कि त खेलमा कि त झेलमा, एन्फाका पदाधिकारीहरु चर्चामा रहनु, नेपालमा नौलो होइन। गणेश थापाले एन्फामा तयार गरेको बटमलाइनलाई वर्तमान नेतृत्वले पछ्याउनेमात्र होइन, त्योभन्दा दुई कदम अगाडि बढेर आत्मसात गरेका दर्जनौ प्रमाण एकपछि अर्को गर्दै बाहिरिएका छन्। एन्फामा नियुक्त गरिएका ब्यक्तिहरु, विभिन्न समयमा भएका विदेश भ्रमण, विभिन्न बहानामा एन्फाले गरेको खर्च, विभिन्न ब्यक्ति र संस्थालाई दिइएको पेश्की र ठेक्कापट्टा लगायतका विषयमा सामान्य अनुसन्धानमात्रै गर्ने हो भने पनि एन्फाको परिवर्तनगामी अनुहार प्रष्ट देखिन्छ। विगतमा गणेश थापाले पनि आफ्नो विरोध गर्ने र फरक मत राख्नेलाई कि त एकान्तबासमा पठाइदिन्थे, कि त आकर्षक पुरस्कार दिएर आफ्नो कित्तामा पार्थे। अहिलेको एन्फाले पनि सोही पथ आत्मसात गरेको छ।

नेपाली फुटबलका बारेमा जानकारी राख्नेहरुलाई यति भनिसकेपछि ब्यक्तिको नाम नै सार्वजनिक गर्नुपर्छ भन्ने लाग्दैन। एन्फाको कार्यसमितिमा रहेका अधिकांश ब्यक्ति गणेश थापा पथकै उत्पादन नै हुन्। एन्फामा काम गर्ने कर्मचारीहरु पनि तिनै हुन्। अध्यक्षमा थापाको स्थानमा कर्मा छिरिङ शेर्पा छन्। फरक यतिमात्र हो। शेर्पाले पनि आफू एन्फामा टिकिरहनका लागि र विभिन्न परिवेशमा सहज परिस्थितिका लागि सत्तावालासँग सहमति र सहकार्य गर्ने, उनीहरुको राजीखुशी पार्ने कामलाई निरन्तरता दिएका छन्। विगतमा कर्माले गणेश थापाविरुद्ध जसरी र जुन शैलीमा आगो ओकल्थे आज त्यही शैलीमा गणेश थापा बाहिर बसेर कर्मासँग हिजोका हरेक प्रश्नको जवाफ खोजिरहेका छन्।

पछिल्ला केही दिन यता गणेश थापा सामाजिक संजालमा बढी नै सक्रिय भएर आफूविरुद्ध विगतमा आरोप लगाउनेहरुलाई प्रमाणित गर्न अन्यथा माफी माग्न चुनौती दिइरहेका छन्। फुटबल खेलको इतिहासमा गणेश थापा कै कारण नेपाली फुटबल सखाप हुन लागेको भन्दै एउटा समूह परिवर्तनको नारासहित सक्रिय भयो। बाह्य र आन्तरिक गठजोड मिलेपछि गणेश थापा रिङबाट बाहिरिन बाध्य भए। सामाजिक संजालहरुमा गणेश थापाको सक्रियताले विगतमा आफूले कुनै पनि गल्ती नगरेको दावी गर्न खोजेजस्तो देखिन्छ। अहिले उठान गर्न खोजेको विषय गणेश थापाले हिजोको दिनमा गल्ती गरे वा गरेनन् भन्नेमा पनि केन्द्रित छैन। हिजोका दिनमा जुन शैली र तौर तरिकाले नेपालको फुटबल खेल अगाडि बढ्यो, त्यसमा आमुल परिवर्तन आवश्यक छ भन्ने ठूलो समूह अहिले एन्फाको नेतृत्व तहमा छ। तर, अहिले थापाले सामाजिक संजालमा थापाले उठाएको प्रसङ्गहरुलाई मिहिन ढंगले समीक्षा गर्ने हो भने वर्तमान एन्फा विगत भन्दा पनि स्तरहीन शैलीमा चलिरहेको प्रष्ट हुन्छ। आमुल परिवर्तनको नारा दिएर जनतालाई कपट गरी सत्तामा पुगेको जस्तो।

नेपालको खेल क्षेत्रमा पावर र पैसाको उचित ब्यवस्थापन गर्न सक्ने मान्छे जहिले पनि लाइम लाइटमा नै रहने गरेको छ। यदि बीचमा कुनै ठूलो महामारी आएन भने। गणेश थापाको हकमा पनि त्यही भयो। महामारीकै कारणमात्र उनी एन्फाबाट बाहिरिएका हुन्। नत्र अहिले गणेश थापाले जे गरिरहेका छन्, त्यो काम गर्ने पक्ष अर्कै हुनेवाला थियो। तर, महामारीले गणेश थापाहरुलाई रिङ बाहिर पुर्‍यायो र कर्माहरुको भाग्य बलियो सावित भयो। नेपाली खेलकुदको इतिहासमा खेलकै लागि भनेर आफ्नो जीवन समर्पित गर्ने र खेल विकासका लागि दत्तचित्त भएर काम गर्नेहरुको संख्या एकाध मात्रै छ। जति पनि नेपाली खेल क्षेत्रमा सक्रिय छन् उनीहरुको अभिष्ट अरु नै छ। जसको नियतमा नै खोट छ, उसले बाहिर जतिसुकै गफ गरे पनि समयले उसको औकात देखाइदिहाल्छ। फुटबलमा पनि त्यस्तै हो।

वास्तवमा, गणेश थापाले अहिले उठाएको विषय सान्दर्भिक नै छ। गणेश थापाले हिम्मत गरेर विगतमा आफूमाथि आरोप लगाउनेहरुलाई प्रमाणित गर्न चुनौती दिएका छन्। उनीमाथि विगतमा आरोप लगाउनेहरु अधिकांश अहिले सत्तामा छन्। गणेश थापाकै भनाईलाई सापटी लिने हो भने कि त उनीहरुले आरोप पुष्टि गर्नुपर्छ कि त आमरुपमा माफी माग्नुपर्छ। थापाको भनाईमा दम छ।

नेपालको खेल क्षेत्रले आफूलाई सच्चाउँदै अगाडि बढ्ने प्रयास कहिले गरेन। त्यसैले एन्फाको वर्तमान नेतृत्वले पनि त्यसो गर्ला भनेर विश्वास गर्न सकिने अवस्था न्युन छ। आमूल परिवर्तनको नारासहित सत्तामा पुगेको वर्तमान एन्फा नेतृत्वले गरेका काम कारवाहीको लिष्ट किस्ताकिस्तामा सार्वजनिक भइ नै रहेको छ। त्यो लिष्टले एन्फा आमूल परिवर्तनको बाटोमा होइन गलत बाटो तर्फ कस्सिएर लम्किएको प्रष्ट हुन्छ ।

त्यसैले, अहिले सत्तामा बस्नेहरुले आमरुपमा माफी माग्लान् भन्नेमा मलाई विश्वास छैन। गरेका गल्ती र कमी कमजोरीलाई सुधार गर्दै हाम्रोलाई होइन, राम्रोलाई भन्दै केही थोरैमात्र भए पनि प्रयास भएको भए आज नेपालको खेल क्षेत्रमा उल्लेख्य सुधार हुनेवाला थियो।

खराब जगमा बनेको घरलाई नयाँ बनाउन त्यसको जगसम्मै पुगेर मात्रै पुर्ननिर्माण गर्नुपर्ने हुन्छ। तर, एन्फाको सवालमा त्यो भएन। अबको महत्वपूर्ण विषय भनेको नेतृत्व सुम्पँदा कस्तालाई दिने भन्ने विषयमा सुक्ष्म समीक्षा आवश्यक छ। लडहको भरमा र भावनामा बहकिएर गरिएका निर्णयले ठूलो क्षति हुनसक्छ। गणेश थापालाई प्रतिगामी ठानेर एन्फामा प्रवेश गर्नेहरुले पछिल्लो दुई वर्षमा गरेका हर्कतलाई हेर्ने हो भने नेपाली फुटबलमा ठूलो क्षति भएको छ। यसको क्षतिपूर्ति कसले दिने? नेतृत्व सबल र सक्षम भएन भने खेल र खेलाडीले ठूलो क्षति ब्यहोर्नुपर्ने हुन्छ। स्पष्ट योजना त्यो अनुसारको कार्य विभाजन, सोही अनुसार ब्यक्ति चयन र काम कारवाही गर्न एन्फा हिजो पनि चुक्यो र अहिले पनि चुकेकै छ। नेतृत्व चयनमा भएका कमजोरीले नेपालको फुटबल खेल प्रताडित छ। खेल ब्यवस्थापन गर्नमा विशेष भूमिका निर्वाह गर्न सक्ने, योजना बुन्न सक्ने, खेलको भावनालाई आत्मसात गर्न सक्ने नेतृत्व आजको खेल क्षेत्रको आवश्यकता हो। खेलको नाममा झेल गर्नेहरु होइन। सबैलाई चेतना भया।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell