PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कहीँ केही भएन, सिटामोलधरी खाना परेन, कसरी भयो भनौं कोरोना?'



सविन ढकाल

'कहीँ केही भएन, सिटामोलधरी खाना परेन, कसरी भयो भनौं कोरोना?'
प्रतीकात्मक फोटो।

काठमाडौँ : जेठ ६ गते उनी खाना खाएर सुत्ने तरखरमा थिए। तर, एक्कासी डिएसपीको नम्बरबाट फोनको घन्टी बज्यो। प्रहरीका जागिरे, साँझ बिहान फोन आउनु नौलो थिएन। कुनै घटना भयो होला भन्ने सोच्दै फोन उठाए। होइन रहेछ। यसपटक अरुबेलाको जस्तो घटना भएको रहेनछ।

मोटरसाइकल स्टार्ट गरे। लागे कालीमाटी वृत्ततिर। वृत्तमा सबै व्यवस्था भइसकेको थियो। एम्बुलेन्स समेत तयारी अवस्थामा थियो। उनलाई राति नै बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालमा लगियो। साथमा थिए एक जना प्रहरी जवान।

उनी हुन् जेठ ६ गते कोरोना सङ्क्रमण भेटिएका कालीमाटी वृत्तका सई रमेश (नाम परिवर्तन)।

+++

जेठ १ गते कालीमाटी फलफूल तथा तरकारी बजारमा धेरैको कोरोना परीक्षण गरियो। त्यहाँका व्यापारी, कर्मचारी, मजदुर, सुरक्षा गार्ड पनि समेटिए परीक्षणमा। सई रमेश पनि ड्युटीमा त्यही नै थिए। सबैको परीक्षण गर्दा उनीहरूले पनि मौका पाए। उनमा कोरोना सङ्क्रमणको कुनै सङ्केत थिएन। तर, पनि मनको शान्ति न हो, उनले पनि परीक्षण गराए। आरडीटीको रिजल्ट आयो - नेगेटिभ।

'मनमा डर नै थिएन। हाँसीखुसी हिँडेको थिएँ। स्वास्थ्यमा समस्या नै थिएन। आरडीटी पनि नेगेटिभ नै देखायो,' सई रमेशले भने।

आरडीटी परीक्षणभन्दा भरपर्दो पीसीआर विधि। उनले पनि त्यही सुनेका थिए। जेठ २ गते महानगरपालिकाका कर्मचारीको कर्मचारीको पीसीआर विधिबाट परीक्षण भइरहेको थियो टेकुमा। उनी त्यहीँ ड्युटीमा खटिएका थिए। परीक्षण गराउनेको भिड लागेको थियो। उनी भिड पन्छाउनतिर थाले।

काठमाडौँमा सङ्क्रमित भेटिनेको सङ्ख्या बढ्दै गएको थियो। उनी दिनरात ड्युटीमा। त्यसैले एक पटक फेरि पीसीआर विधिबाट परीक्षण गराउनुपर्छ भन्ने लाग्यो उनलाई। त्यहाँ प्रमुखसँग परीक्षण गर्ने प्रबन्ध मिलाए। तर, मनमा भने अझै कोरोना नलागेकोमा विश्वस्त थिए।

'मलाई कसरी लाग्छ? लागेको छैन। तर पनि गरौंन भनेर गरेको थिएँ,' सई रमेशले भने।

उनीसँगै महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत १८ जनाको पीसीआर परीक्षण गरियो। उनी निर्धक्क थिए, ड्युटीमा नै खटिइरहे।

जेठ ४ गते हल्लाखल्ला भयो खुसीको। कालीमाटीका सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ। तर, त्यो हल्लामात्र थियो। सबैको रिजल्ट आइसकेको थिएन।

+++

६ गते राति आएको डीएसपीको कलले भने उनी झस्किएका थिए। त्यो कलमा डिएसपीले उनलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए। त्यसपछि एकाएक तनावमा पुगे उनी।

'एकछिन त सक्ड भएँ। तनाव भयो। तर, कुनै लक्षण नै नदेखिइ कसरी भयो,' संदेहमा रहेका रमेशले भने।

उनीमात्र होइन। १८ जनामध्ये दुई जनामा कोरोना देखिएको थियो। एक जवान थिए त्यहीँका। मुद्दा शाखामा कार्यरत जवानलाई पनि सङ्क्रमण देखिएपछि उनी अचम्ममा परेका थिए। उनलाई रिपोर्टप्रति नै अविश्वास लाग्न थालेको थियो।

'म त बाहिर ड्युटीमा थिएँ। कसैबाट सर्‍योहोला भन्नु। तर, उ अफिसभित्र नै थियो। कसरी लाग्यो भनेर शङ्का लाग्यो,' सई रमेशले भने।

उनको यो शङ्का मात्र थियो। तर, वैज्ञानिक विधिबाट भएको परीक्षण कसरी नपत्याउने? उनको घर परिवारमा रहेका र भेटका अन्य ४० जनाको परीक्षण भयो। कसैमा पनि कोरोना पोजेटिभ भेटिएन। यता कार्यरत प्रहरीमध्ये अहिलेसम्म रिपोर्ट आएका सबैको रिजल्ट नेगेटिभ आएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ११ दिनपछि उनी शनिवार कोरोना जितेर फर्किए। अस्पतालमा बस्दा उनले सिटामोलको गोलीसमेत मुखमा हालेनन्। खाना खाजा राम्रोसित खाए। बिहान बेलुका व्यायाम छाडेनन्। प्रहरी सङ्गठनमा भएकाले पनि उनको नियमित कर्म थियो यो।

उनी हट्टाकट्टा नै छन्। तर, उनी अझै पनि आफूलाई कोरोना लागेको पत्याउनै सकेका छैनन्।

'खै कसरी कोरोना लाग्यो भन्नु? मलाई केही भएको नै छैन। फेरि दुई पटक परीक्षण गर्दा दुवैमा केही देखाएन,' उनले भने, 'कि मलाई कोरोना नै थिएन। थियो भने यो रोग भनेजस्तो डरलाग्दो चाहिँ होइन रहेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell