PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

युरेसियाका एउटा देश जो अझै अछुतो छ कोरोना भाइरसबाट



पहिलोपोस्ट

युरेसियाका एउटा देश जो अझै अछुतो छ कोरोना भाइरसबाट

काठमाडौं : विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर ५८ लाख १७ हजार तीन सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मे ३० सम्मको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख ६२ हजार सात सय ७ रहेको छ। डब्लुएचओको पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा एक लाख १६ हजार ४८ जना संक्रमित हुँदा पाँच हजार १७ जनाको मृत्यु भएको छ।

विश्वभर नै कोरोना भाइरसको पान्डेमिकले संक्रमणको त्रास फैलाइरहेको बेला युरेसिया क्षेत्रको एउटा देश भने कोरोना भाइरसको संक्रमणबाट पर छ।

युरोप र एसियाका अधिकांश देश संक्रमणको चपेटामा पर्दा तुर्कमेनिस्तान भने संक्रमणबाट टाढा छ।

यहाँ हालसम्म कुनै पनि व्यक्तिमा संक्रमण पुष्टि भएको छैन। तुर्कमेनिस्तान सरकारले हालसम्म कोभिड-१९ का कुने पनि केस पुष्टि नभएको भन्दै यसको कारण डब्लुएचओको मिसन टोलीलाई बताउन तयार रहेकोसमेत बताएको छ। यद्यपि, उसले डब्लुएचओको मिसन टोलीलाई आफ्नो देश प्रवेश गर्न दिन भने ढिलाइ गरिरहेको छ। आरएफई/आरएलले तुर्कमेनिस्तानले डब्लुएचओलाई रोक्न पुरानो तरिका अपनाइरहेको लेखेको छ।

तुर्कमेनिस्तानमा संक्रमण नदेखिएको अवस्थामा टर्किस एयरलाइन्सले जुन १ सोमवार देखि अश्गाबातमा उडान भर्ने तयारी गरिरहेको स्थानीय समाचार एजेन्सीले जनाएको छ।

यद्यपि, यहाँका मानिसहरु खाद्यान्नको अभावलाई लिएर सरकारप्रति आक्रोशित छन्।

कोरोना भाइरसको संक्रमण नदेखिएको तुर्कमेनिस्तानले आफ्ना छिमेकी देशहरुलाई भाइरसविरुद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरिरहेको छ।

यहाँका राष्ट्रपति गुरबंगुल बर्दिमुहामेदोवले अफगानी समकक्षी अस्रफ घानीसँगको टेलिफोन सम्वादका क्रममा दुई वटा सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिदिने प्रस्ताव राखेका हुन्।

सीमा क्षेत्रका दुई सुख्खा बन्दरगाहमा प्रयोगशाला स्थापना गरिदिने प्रस्ताव उनले राखेका हुन्। हेरत र फरियाब प्रान्तमा रहेका सुख्खा बन्दरगाहामा प्रयोगशाला स्थापनाको प्रस्ताव तुर्कमेनिस्तानले राखेको हो।

यता तुर्कमेनिस्तानले इरानसँगका सीमा नाका खोल्ने तयारीसमेत गरेको छ। जुन १ देखि स्वास्थ्य परीक्षणको कडा ब्यवस्थासहित इरान र तुर्कमेनिस्तानका सीमा नाका खोल्न दुवै देशका सरकार सहमत भएको तेहरान टाइम्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell