PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'तिमीहरु भन्छौ डाक्टर भगवान् हुन् तर किन हामीलाई कुकुर सरह व्यवहार गर्छौ?'

'तिमीहरु भन्छौ डाक्टर भगवान् हुन् तर किन हामीलाई कुकुर सरह व्यवहार गर्छौ?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आइतबार नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेतो एप्रोन लगाएर उभिएका मानिसहरु हातमा विभिन्न नारा अंकित प्लेकार्ड लिएर उभिए। उनीहरुले बोकेको प्लेकार्डहरुमा लेखिएको थियो - 'हिंसाविरुद्ध उभिउँ', 'न्याय ढिला हुनु नै अन्याय हो', 'सुरक्षाबीना सेवा दिन सक्दैनौं', 'प्रमाण नष्ट गर्नेहरु अपराधी हुन्।'

यसरी उभिने डाक्टर हुन्। आन्दोलनमा उत्रिएका, आफ्नै सुरक्षाको मागसहित। किनकि बुधवार उक्त अस्पतालका दुई चिकित्सक कुटिए। बिरामीको मृत्युको कारण।

बुधवार जोरपाटी, वेशीगाउँका ६४ वर्षीया महिलाको उपचारका क्रममा निधन भएको थियो। उनी दमको बिरामी थिइन्। डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकको आफन्तले आफूहरु माथि कुटपिट गरेको चिकित्सकहरुको आरोप छ।

डाक्टर श्री श्रेष्ठ र डाक्टर राकेश सिंहमाथि आफन्तहरुले आक्रमण गर्दा उनीहरु घाइते भएको जनाइएको छ। सोही विषयलाई लिएर नेपाल मेडिकल कलेजका डाक्टरहरु आन्दोलनरत् छन्। उनीहरुले आकष्मिक बाहेक अन्य सेवा ठप्प पारी चिकित्सकहरुको सुरक्षाको माग गरेका हुन्।

सेवामा खटिएका चिकित्सकहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा लेखिएको छ,'अग्रपंक्तिमा रहेर कार्य गर्ने चिकित्सकहरुको मनोबल गिराउने काम भयो।'

घटनाले ड्युटीमा रहेका चिकित्सकलाई हातपात गर्ने जो कोहीविरुद्ध मुद्दा चलाउने २०७६ चैत २२ गते भएको मन्त्रिपरिषद्को निर्णयको समेत उपहास गरेको जनाइएको छ।

विज्ञप्तीमा जनाइए अनुसार अस्पताल प्रशासनले पनि अस्पतालमा कार्यरत् चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरेको छ। आन्दोलनरत् चिकित्सकहरुको आरोप छ, चिकित्सकको सुरक्षा ग्यारेण्टी गर्नुको साटो प्रशासनले सीसीटिभी फुटेज नै नष्ट पारेको छ।  

घटनामा संलग्न दोषीहरुको पहिचान गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीले दवाव दिइरहेका छन्। चिकित्सकमाथि हुने दूर्व्यवहारले समाजमा गलत नजिर स्थापित हुने र त्यस्ता कार्य निरुत्साहित पारिनु पर्ने माग राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell