PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बजेटको समर्थन गर्दै विडारीले भने : क्वारेन्टाइनमा इन्टरनेटको व्यवस्था गरिदिनु पर्‍यो



पहिलोपोस्ट

बजेटको समर्थन गर्दै विडारीले भने : क्वारेन्टाइनमा इन्टरनेटको व्यवस्था गरिदिनु पर्‍यो

काठमाडौं: राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले यो वर्षको बजेट सामान्य भएको टिप्पणी गरेका छन्।

उनले अप्ठेरो बेला आउने बजेट यस्तै खालको हुने तर्क गरे। 'विगतमा देशै डुबाइदिने बजेट ल्याइदिए। अहिले त यति ल्याउनु श्रेयकर देखियो,' उनले भने। कर्मचारी सक्रिए भए बजेटले काम गर्ने उनको भनाई थियो।

उनले सरकारले विदेशबाट आएकालाई काम दिन सकेमा बजेट प्रभावकारी हुने बताए। सरकारले शिक्षामा भन्दा रक्षामा बढी बजेट सीमा सुरक्षा गर्नुपरेकाले राखेको उनले बताए।

'यो वर्ष शिक्षामा रक्षाभन्दा कम बजेट आयो भन्ने गुनासो छ। यो वर्ष सीमा रक्षा गर्नुपर्ने भएकाले पुँजीगत बजेट अलि बढी आएको हो,' उनले भने।

उनले बजेटको बचाउ गर्दै प्रदेश र स्थानीय तहको बजेट नघट्नु सरकारको तीन खम्बे अर्थनीति अनुरुप भएको बताए।

उनले गएको वर्षको भन्दा यो वर्षको बजेट प्रगतिशील भएको दाबी गरे। 'गत वर्षभन्दा यो प्रगशील छ। जसले जे देख्यो त्यही भन्ने न हो। सोचाइ नै फरक परेपछि के भन्ने?' उनको प्रश्न छ।

उनले क्वारेन्टाइनमा सरकारले इण्टरनेटको ब्यवस्था गरिदिनुपर्ने बताए। यसबाट त्यहाँ बस्ने नागरिकलाई बस्न र दिन कटाउन सहन हुने उनको भनाई थियो।

विडारीले सरकारले विद्युतीय सवारीको कर बढाएको भन्दै विरोध गरे। 'इलेक्ट्रिकबाट चल्ने गाडीको कर किन बढाएको? त्यो त मलाई थाह छैन। त्यो सरकारले बताइदिनु पर्यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell