PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बजेटमाथि रिजालको टिप्पणी : सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो



पहिलोपोस्ट

बजेटमाथि रिजालको टिप्पणी : सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो

काठमाडौं: नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर गुमाएको बताए। उनले भने, ‘यसपालि मुलुकलाई संकट छ। दुनियाँ सताब्दीको गहिरो संकट भोग्दै छ। यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो। बलसाली सरकारले त्यो कल्पनाशीलता देखाएन।’

बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर उनले प्रश्न समेत गरे। कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उनले बताए। स्थानीय तहलाई सशर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उनले संघीयता बलियो बनाउने अधिकारसमेत सरकारले गुमाएको जिकिर गरे।

रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताए। उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने बताए। रिजालले भने, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ। ६ लाखको खर्च गर्न सक्ने क्षमता छ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ।’

अझै पनि अर्थतन्त्रको उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘८३ पेजको दस्तावेजलाई बिर्सेर फेरि अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पुर्‍याउने भन्ने कुरा सोचौँ। त्यसका लागि साझा कुरा के हुन्छ भन्ने कुरा तर्फ लागौँ। साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितलाई पनि हामी अवसरको रुपमा बदल्न सक्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell