PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

९ महिनादेखि तलब नपाएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी



पहिलोपोस्ट

९ महिनादेखि तलब नपाएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

वीरगंज : विन्दवासिनी गाउँपालिकामा कार्यरत करार कर्मचारी, कार्यालय सहयोगी तथा सामाजिक परिचालकले ९ महिनादेखि तलबको माग गर्दै आज गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

आव २०७६/०७७ मा नै उनीहरूलाई करार सेवाअन्तर्गत काममा खटाएको र गत वर्षको तलब भत्ता पाएको तर चालू आवको तलब भत्ता नपाएको बताउँदै कर्मचारीहरूले तालाबन्दी गरेको वडा कार्यालय झौवागुठीका कार्यालय सहयोगी वीरेन्द्र साह तेलीले जानकारी गराए। चालू आवमा म्याद थप भए पनि कार्यालय सहयोगी तथा सामाजिक परिचालकहरूले तलब नपाएको गुनासो गरेका छन्।

लकडाउनको क्रममा अहिले धेरै समस्यामा परेको तेलीको भनाइ थियो। पटक–पटक निमित्त कार्यालय प्रमुख, वडाध्यक्ष, गापा अध्यक्ष तथा लेखा शाखामा तलब मागको लागि जानकारी गराउँदा पनि हालसम्म तलब निकासा नगरेको भन्दै उनीहरूले तालाबन्दी गरेको बताएका छन्।

बिदाको दिनबाहेक २०७६ साउन १ गतेदेखि नियमित रूपमा काम गर्दै आएको, हाजिरी समेत रहेको तर वडाध्यक्षले हाजिरी प्रमाणित गरी पठाए पनि आजभोलि भन्दै अहिलेसम्म भुक्तानी नगरेको उनीहरुको आरोप छ। महामारीको बेला घर, परिवार चलाउन, बिरामीको उपचार गराउने समस्या भएको भन्दै आफूले गापाको कार्यालयमा तालाबन्दी गरेको उनीहरुले बताए।

विरोध गर्ने कर्मचारीहरूमा रमेन्द्रनाथ तिवारी, रामकुमार कुशवाहा, गीता कुमारीलगायत रहेका छन्। तलब नपाएसम्म ताला नखोल्ने उनीहरूको अडान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell