PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रुपन्देहीबाट २२ जनासँगै म्याग्दी पुगेका एक जनामा कोरोना पोजेटिभ : प्रदेशले ट्रेसिङका लागि जारी गर्‍यो सूचना, स्थानीय सरकार बेखवर



प्रकाश भण्डारी

रुपन्देहीबाट २२ जनासँगै म्याग्दी पुगेका एक जनामा कोरोना पोजेटिभ : प्रदेशले ट्रेसिङका लागि जारी गर्‍यो सूचना, स्थानीय सरकार बेखवर

काठमाडौं : भारतबाट आएर रुपन्देहीको भैरहवास्थित नमुना माविको क्वारेन्टाइनमा बसेकामध्ये एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्न कठिन भएको छ। क्वारेन्टाइनमा रहेका २३ जनालाई जेठ ९ गते बसबाट म्याग्दी पठाइको थियो।

म्याग्दीमा नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना भाइरस संक्रमण देखियो। १५ गते संक्रमण भएको पुष्टि भएपछि उनीसँगै बसमा सवार २३ जनाको खोजी भएपनि अहिलेसम्म ९ जना मात्रै सम्पर्कमा आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले बताए। निर्देशनालयले आइतवार सूचना जारी गर्दै गाडीमा सवार व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

बसमा सवारमध्ये १ जना आबुखैरेनीमा, लमजुङ जाने ३ जना तनहुँको डुम्रेमा र २ जना पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा ओर्लेको खुल्न आएको निर्देशनालयले जनाएको छ। क्वारेन्टाइनमा बसेका उनीहरुको नाम थाहा नभएकाले कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन भएको शर्माले बताए।

उनले संक्रमितको सम्पर्कमा आएका जो सुकैलाई पनि तत्कालै स्वास्थ्यकर्मीलाई भेट्न अनुरोध गरिएको जानकारी दिए।

‘हामीले बसमा सवार मात्रै होइन अरु सम्पर्कमा भएका व्यक्तिलाई पनि स्वास्थ्यकर्मीलाई भेट्न भनेका छौँ। उनको सम्पर्कमा भएकालाई कोरोना संक्रमणको जोखिम भएकाले हामीले यस्तो अनुरोध गरेका हौँ,’ उनले भने।

शर्माले गण्डकी प्रदेशमा पुष्टि भएका २४ जना कोरोना भाइरस संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिए। स्थानीय सरकार र प्रशासनको सहयोगमा ट्रेसिङको काम भइरहेको उनको भनाइ छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले स्थानीय सरकारको सहयोगमा ट्रेसिङ भइरहेको दावी गरेपनि रुपन्देहीमा क्वारेन्टाइनमा बसेर म्याग्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जना बारे भने रुपन्देहीको सिद्धार्थ नगरपालिकालाई जानकारी नभएको प्रवक्ता देव प्रसाद ज्ञवालीले बताए।

उनले आफ्नो नगरपालिकामा आउने सबैको आरडीटी गर्ने गरिएको बताए। बसमा गएका २३ जनाको आरडीटी गरिएको भएपनि उनीहरुमध्ये को संक्रमित हो र कहाँ परीक्षण गरिएको हो? भन्नेबारे भने जानकारी नभएको उनको भनाइ छ।

‘नगरपालिमा क्वारेन्टाइनमा बसेका सबैको आरडीटी गरिरहेका छौँ। तर, ति संक्रमितको बारेमा भने हामीलाई केही जानकारी छैन्,’ उनले भने।

संक्रमितको ट्रेसिङका लागि कहिँ कतैबाट पनि नगरपालिकालाई खबर नआएको ज्ञवालीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell