
काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ अटोभिलेजस्थित रेडिएटर मर्मत गर्ने पसलका सञ्चालक मंदीप भुजको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कपडादेवी बस्ने २३ वर्षीय सौरभ पोख्रेल, तुलसीपुर ५ निवासी २३ वर्षीय अजय बुढाथोकी, सोही ठाउँका २० वर्षीय आशिष नेपाली र तुलसीपुर १८ का २१ वर्षीय ओमबहादुर सार्की रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए।
शनिवार बिहान करिब ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ज्ञानज्योती आधारभुत प्राथमिक विद्यालयपछाडि रहेको खाली जमिनमा भुज मृत भटिएका थिए। घटनाबारे अनुसन्धान गर्न डीएसपी योगीको आवश्यक अनुसन्धान प्रहरी टोली खटिएको थियो।
अनुसन्धानबाट मृतक भुज सोही स्थान तुलसीपुर उपमहानगरपालिका९ स्थित भरत सुनारको घरमा श्रीमती संगिता विक (भुज) र ८ महिनाको छोरासहित डेरामा बस्दै आएको खुलेको छ। उनले विगत २ वर्ष अगाडि हालकी श्रीमती संगितासँग प्रेम विवाह गरेको र त्यसअघि स्थानीय महिलासँग विवाह गरी छोरा समेत रहेको प्रहरीले बताएको छ।
भुज शुक्रवार राति साथीहरु सुमन बस्नेत र सुनिल विकसँग स्थानीय होटलमा मदिरा सेवन गर्न गएका थिए। सोही होटलमा मदिरा सेवनको लागि सौरभ पोख्रेललगायतका युवाहरु पनि आएका थिए। करिब एक घण्टापछि सुमन र सुनिलले मंदीपलाई त्यहिँ छाडेर गएका थिए। त्यसपछि मंदीपले होटलमै गाँजा सेवन गर्न थालेपछि सौरभको समूहले त्यसो नगर्न भनेको थियो।
सोही विषयमा उनीहरुबीच विवाद भएको खुलेको छ। त्यसको भोलिपल्ट बिहान मंदीपको शव भेटिएको थियो। उनको टाउकोमा धारिलो ढंगाले प्रहार गरी हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले सो ढुंगा घटनास्थलभन्दा ४० मिटर पर उत्तर पश्चिमपट्टिको खोलामा लुकाइएको अवस्थामा फेला पारेको थियो।
हत्यामा प्रयोग गरिएको ढुंगा।
पक्राउ परेकाहरुबारे जिल्ला अदालत दाङबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी योगीले जानकारी दिए।