
काठमाडौं : केटी जिस्काएको आरोपमा ठमेल क्षेत्रबाट पक्राउ परेका चिनियाँ नागरिकलाई थप ७ दिन हिरासतमा राखेर अनुन्धान गर्न म्याद थप गरिएको छ।
जिल्ला अदालत काठमाडौंले नेपाली युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँ नागरिकविरुद्ध प्रहरी अनुसन्धानका आइतवार लागि म्याद थपेको हो।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले ठमेल क्षेत्रबाट दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरुमध्ये एक जनालाई छोडिएको वृत्तका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए। ‘केटी जिस्काउने एक जना मात्र थिए। उनका साथीलाई छोडिएको छ। आरोपीविरुद्ध सार्वजनिक मुद्दा चलाउन अदालतबाट ७ दिनको समय थपिएको छ,’ उनले भने।
शनिवार दिउँसो नेपाली युवतीलाई जिस्कापछि स्थानीयले उनीहरुमाथि कुटपिट समेत गरेका थिए। प्रहरीले उनीहरुलाई ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
चिनियाँ नागरिक ठमेल क्षेत्रमा बस्दै आएका थिए। उनले शुरुमा नेपाली युवतीलाई तस्बिर खिचिदिन भनेको र विस्तारै कफी खान प्रस्ताव गरेको जिस्किँदै पिछा गरेका थिए।