- प्रा. भरत शर्मा -
नागार्जुन दरबारको काम सकेपछि मलाई नारायणहिटी दरबारभित्र पनि ल्यान्डस्केपसम्बन्धी काम गर्न भनिएको थियो। अहिलेको ल्यान्डस्केपको काम खास गरेर पश्चिम ढोका क्षेत्र र मूल दरबारको उत्तरी ठूलो प्राङ्गणको थियो, जहाँ राजदरबारमा हुने बाह्य समारोहहरु हुने गर्थे। यसबारे रानी ऐश्वयले नै मलाई कामममा लगाएकी हुन्। यसै कामका लागि सम्बन्धमा राजदरबारमा भएको भेटमा कामको बारे मलाई जानकारी गराउँदा केही राजदरबारका सचिवजीहरुको पनि उपस्थिति थियो। रानीले मलाई त्यहाँको योजना बनाइदिन भनिन्।
मैले भने, 'सरकार म बनाइदिन्छु, तर मैले स्थलगत अध्ययन गरी योजना बनाउन करिब एक महिना लाग्छ।'
सचिवहरु ट्वाल्ल परेर हेर्दै थिए। उनीहरुको अनुहारले भनिरहेको थियो यो भरत शर्मा रानीलाई हवस् सरकार मात्र नभनी एक महिना चाहिन्छ भन्न सक्ने र हिम्मत गर्ने गजबको मान्छे रहेछ। मैले त्यति मात्र होइन रानीलाई भने, 'सरकार दरबारको वरिपरि मैले अध्ययन गर्नुपर्ने हुनाले मलाई त्यतातिर हेर्ने, घुम्ने पनि छुट हुनुपर्छ।'
रानीले हाँसेर 'हुन्छ' भनिन्। त्यसपछि मैले स्थलगत अध्ययनको शुरुवात गरेँ। यसक्रममा युवराज दीपेन्द्रसँग मेरो औपचारिक भेटघाट हुने अवसर आएको थियो एक पार्टीमा। दिन बिर्सिएँ, त्रिभुवन विश्वविद्यालको भूगोल विभागले क्षेत्रपार्टीस्थित होटल हारतीमा एउटा पार्टीको आयोजना गरेको थियो। उक्त विभागका विभागाध्यक्ष प्राध्यापक नन्दगोपालजी को सौजन्यले सो पार्टीमा म पनि उपस्थित थिएँ। प्रा नन्दगोपालजी युवराज दीपेन्द्रका गुरु पनि हुन्। बियरको ग्लाससँगै म पनि दीपेन्द्रको सँगसँगै भएको थिएँ र उनीसँग साधारण कुराहरु भएका थिए। दीपेन्द्र बहुतै मिलनसार व्यक्तित्वका फरासिला रहेछन्। उनी त्यसै तवरले कुरा गरिरहेका थिए। उनको गुरुहरुसँग कुरा हुँदा पनि त्यहाँको वातावरणमा अदब या भयको भावभन्दा बढी सहजता नै देखिएको थियो। जीआईएसमा दीपेन्द्रले निकै चाख देखाएर कुरा गरेका थिए।
नारायणहिटी राजपारिवारको हत्याकाण्ड भएको स्थल र प्राङ्गणको क्षेत्र तथा राजदरबारको दक्षिण प्राङ्गणमा मैले सुधारको योजना बनाउने कार्यहरु गरेको थिएँ। खास गरेर भित्री खुला प्राङ्गण जहाँ बराबर कार्यक्रम हुने गर्दथ्यो। मैले वातावरणीय सुधार योजनाको काम गरेको थिएँ। सम्भवत: मैले प्राङ्गणमा पाटी डिजाइनको रुपमा बनाएको योजना राजारानीलालाई निकै मन परेको जस्तो लागेको थियो। त्यसस्थलमा भएको एउटा कार्यक्रममा मलाई पनि आमन्त्रित गरिएको थियो। ठूलठूला भनौदा मानिसहरु मानिसहरु मन्त्रीहरुको उपस्थिति थियो। राजारानीले सबैको अभिवादन स्वीकार गर्दै त्यहाँ फन्को लाउदा मलाई देखेर मन्दमुस्कान गरेका थिए। तर, बोलचाल भएन किनकि सायद त्यो अवसर निकै औपचारिक थियो।
अनर्गल टिप्पणी
म हार्वर्ड युनिभर्सिटीमा हुँदा खड्ग विक्रम शाह (राजाका भिनाजु) पनि केही विषयमा अडिट कोर्ष गर्न हार्डवर्डमा आइपुगेका थिए। आफ्नो रुचीको विषय पढ्न मन हुँदा वा आफ्नो बायोडाटामा वैशिष्ट्य बढाउने क्रममा मानिसहरु नाम चलेका शैक्षिक संस्थामा गइ अडिट कोर्ष गर्ने गर्छन्। मेरो खड्ग विक्रम शाहसँग त्यहीँ चिनजान भएको हो। एकदुई चोटी उनले बनाएको खाना खाने अवसर पनि प्राप्त भएको थियो, जो कि सँच्चै मीठो हुन्थ्यो।
यो २०३६ साल तिरको कुरा हो, त्यतिबेला राजा वीरेन्द्रले जनमत संग्रह गराएका थिए। किन हो खड्ग विक्रम शाह राजाको निर्णयसँग सहमत देखिँदैन थिए। एकदिन उनले मसँग आफ्नो मनको भाव यस किसिमले अभिव्यक्त गरे कि राजाले बेकारमा जनमत संग्रह गराएका छन्, यसको कुनै जरुरत थिएन। उनको त्यसदिनको भनाइबाट सजिलैसँग अनुमान गर्न सकिन्थ्यो कि उनी उनी लगायत राजाका अन्य निकट सम्बन्धीहरु राजा वीरेन्द्रको यस्तो निर्णयबाट पटक्कै खुशी थिएनन्। हुन त राजनैतिक विवेचना मेरो विषय होइन ता पनि मलाई लाग्छ देशमा स्थिरताका लागि नै होला राजा वीरेन्द्रको त्यो निर्णय आफ्ना निकट सम्बन्धीहरुलाई मन नपरे पनि लिएका थिए देशको हितमा। हुनत जनमतमा के कसो भएर हो पञ्चायतकै जित भएको थियो बहुदलको विरुद्धमा।
बुढानीलकण्ठ जीर्णोद्वार
हुन त राजालाई विष्णुको रुप मानिने हुनाले नेपालका राजाहरु नारायण भगवानको दर्शन गर्न मन्दिर परिसरमा जाने चलन देखिएन। अथवा भनौं राजाहरु नारायण भगवानको दर्शन गर्न नजाने नै परपाटी थियो, यो हामी नेपालीको संस्कृति पनि हो। तर, राजालाई अनाहकमा पनि खुशी पार्ने जुक्ति गर्ने मानिसहरुको कुनै कमी थिएन, चाटुकारिता त धेरैको बानी थियो।
त्यहीँ बुढानीलकन्ठ नारायण स्थानको परिसरमा राजा रानीको आदमकद मूर्ति स्थापना गर्ने प्रस्ताव ल्याइएको थियो। मैले त्यसको पनि प्रतिवाद गरेँ। परापूर्व कालदेखि नै राजाले दर्शन गर्न जान नहुने भनिएको स्थलमा किन राजा रानीको मूर्ति स्थापना गर्नुपर्ने भन्ने मेरो तर्क थियो। त्यसो गर्नु उचित होइन, पहिलेदेखि चलिआएको मान्यतालाई अब भंग गर्नु ठीक होइन भन्ने मेरो भनाइ थियो। तर, चाटुकारहरुको माझ मेरो कुराको असर नै भएन बल्की प्रतिवाद मात्र भयो। त्यसपछि त्रिभुवन विश्वविद्यालका जोशी नामका प्राध्यापकलाई मलाई मुख बुजो लगाउन बोलाइयो।
ती प्राध्यापकले मलाई भने- 'भरतजी! मूर्ति त के तपाईँले त राजारानीको फोटो पनि राख्नुहुन्न भन्नुहुन्छ होला।'
मैले जवाफ दिएँ- 'अगर विगतमा नराख्ने परिपाटी थियो भने फोटो पनि नराखे हुन्छ, त्यसो गर्दैमा राजा रानीको मान मर्यादा नराखेको भन्नेचाहिँ कदापि हुन्न।'
मेरो कुरा उनीहरुले के मान्दथे! आखिरमा राजा समक्ष नै यो कुरा उठाइयो।
मलाई राजाले सोधे- 'तिम्रो राय के हो?'
मैले वीरेन्द्रसँग भनें- 'सरकार! परापूर्व कालदेखिको मान्यतालाई बिगारेर मूर्ति स्थापना गर्नु उचित हुँदैन। अगर विगतमा राजा रानीको मूर्ति राखिएन भने अहिले राख्नु कुनै तुक छैन। खालि सांस्कृतिक सम्पदाको वातावरण बिगार्नुमात्र हो। जस्तै राजाले नारायणथानमा जानु हुँदैन भन्ने मान्यतालाई इन्कार गर्दै अहिले आएर 'राजाले नारायण थानमा जानुहुन्छ' भन्ने मान्यता बनाउन खोजियो। के त्यसो नै गर्ने चाहना हो त? म त बिलकुलै त्यसो गर्न हुँदैन भन्छु।'
राजा वीरेन्द्रले मुस्कुराउँदै भने- 'भैगो मूर्ति नराखौं'
त्यतिखेर मलाई निश्चय पनि अति आनन्द लाग्यो, निकै निकै सुखद् अनुभूति भयो। अगर राजाले चाटुकारहरुको सल्लाह अनुसार मूर्ति राख्ने भनेको भए भरत शर्माको हालत के हुन्थ्यो होला? राजा सम्बन्धी कुरा भए पनि स्वयं राजाले नै त्यस प्रकारको प्रतिक्रिया जनाउनु उनको मानवीय गुण नै हो भन्ने जस्तो मलाई लाग्यो।
(१९ वर्षअघि आजैका दिन दरबार हत्याकाण्ड भएको थियो। राजा वीरेन्द्रको वंशनाशसँगै नेपालमा राजतन्त्र अन्त्यका लागि यो घटना प्रमुख घुम्ती बन्यो। त्यही सन्दर्भमा प्राध्यापक डा. शर्माको पुस्तक निर्मल दृष्टिमा राजा वीरेन्द्रबाट लिइएका अंश।)