PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

'गँजडी' भनेपछि विवाद अनि हत्याः पाँच घण्टा नबित्दै प्रहरीले समात्यो हत्यारा!



पहिलोपोस्ट

'गँजडी' भनेपछि विवाद अनि हत्याः पाँच घण्टा नबित्दै प्रहरीले समात्यो हत्यारा!

काठमाडौं: दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ अटोभिलेजमा रेडिएटर मर्मत गर्ने पसलका सञ्चालक मंदीप भुजको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले  आइतावार चार जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कपडादेवी बस्ने २३ वर्षीय सौरभ पोख्रेल, तुलसीपुर ५ निवासी २३ वर्षीय अजय बुढाथोकी, सोही ठाउँका २० वर्षीय आशिष नेपाली र तुलसीपुर १८ का २१ वर्षीय ओमबहादुर सार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए।

शनिवार बिहान करिब ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ज्ञानज्योति आधारभूत प्राथमिक विद्यालय पछाडि रहेको खाली जमिनमा भुज मृत भटिएका थिए। घटनाबारे अनुसन्धान गर्न डीएसपी योगीको आवश्यक अनुसन्धान प्रहरी टोली खटिएको थियो। घटना भएको पाँच घण्टा बित्न नपाउँदै प्रहरीले हत्यारालाई पक्राउ गर्न सफल भएको दावी गरेको छ।

अनुसन्धानबाट मृतक भुज सोही स्थान तुलसीपुर उपमहानगरपालिका ९ स्थित भरत सुनारको घरमा श्रीमती संगिता विक (भुज) र ८ महिनाको छोरासहित डेरामा बस्दै आएका थिए।

भुज शुक्रवार राति साथीहरु सुमन बस्नेत र सुनिल विकसँग स्थानीय होटलमा मदिरा सेवन गर्न गएका थिए। सोही होटलमा मदिरा सेवनको लागि सौरभ पोख्रेल लगायतका युवाहरु पनि आएका थिए। करिब एक घण्टापछि सुमन र सुनिलले मंदीपलाई त्यहिँ छाडेर गएका थिए। त्यसपछि मंदीपले होटलमै गाँजा सेवन गर्न थालेपछि सौरभको समूहले त्यसो नगर्न भनेको थियो।

'गाँजा खाएपछिको विवादमा झगडा हुँदा घटना भएको देखिन्छ। मृतकले आफुले गाँजा खान छोडेको तर साथीहरुले तँ गाँजा खान्छस्। गँजडी भनेपछि विवाद भएको देखिन्छ,' डिएसपी योगीले भने।

सोही विषयमा उनीहरुबीच विवाद भएको खुलेको छ। त्यसको भोलिपल्ट बिहान मंदीपको शव भेटिएको थियो। उनको टाउकोमा धारिलो ढुंगाले प्रहार गरी हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले सो ढुंगा घटनास्थलभन्दा ४० मिटर पर उत्तर पश्चिमपट्टिको खोलामा लुकाइएको अवस्थामा फेला पारेको थियो। उनीहरुले ढुंगाले हानेर हत्या गरेको प्रहरीमा बयान दिएका छन्।

पक्राउ परेकाहरुबारे जिल्ला अदालत दाङबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी योगीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell