
कोरोना भाइरसका कारण सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेका मुलुकको सूचीमा भारतले जर्मनी र फ्रान्सलाई पछि पारेको छ। युरोपका दुई मुलुकलाई पछि पार्दै संसारका सबैभन्दा बढी संक्रमित मुलुकको सूचीमा भारत सातौं स्थानमा उक्लिएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ। संक्रमितको संख्याको आधारमा मृत्यु हुनेको संख्या हेर्ने हो भने भारतको अवस्था अन्य युरोपेली मुलुक र अमेरिकाको भन्दा राम्रो छ। भारतमा अहिलेसम्म ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ।
सूचीको आठौं स्थानमा झरेको फ्रान्समा २८ हजार ८ सय ५ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ संक्रमितको संख्या १ लाख ८९ हजार ९ रहेको छ। नवौं स्थानमा रहेको जर्मनीमा ८ हजार ५ सय ४० जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ १ लाख ८३ हजार ४ सय १० जना संक्रमित छन्।
सबैभन्दा खराब अवस्थामा रहेको संयुक्त राज्य अमेरिकामा १ लाख ४ हजार ३ सय ५८ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा १७ लाख ८९ हजार ३ सय ६४ जना संक्रमित छन्।
दोस्रो खराब अवस्थामा रहेको ब्राजिलमा ५ लाख १४ हजार ८ सय ४९ जना संक्रमित छन्। त्यहाँ २९ हजार ३ सय १४ जनाले ज्यान गुमाइसकेका छन्।
संक्रमितको संख्याका आधारमा तेस्रो स्थानमा रहेको रसियामा ४ हजार ६ सय ९३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ४ लाख ५ हजार ८ सय ४३ जना संक्रमित छन्। त्यसैगरी चौथो स्थानमा रहेको बेलायतमा २ लाख ७६ हजार १ सय ५६ जना संक्रमित छन्। मृत्यु हुनेको संख्याका आधारमा अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ। त्यहाँ ३८ हजार ५ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
पाचौं स्थानमा रहेको स्पेनमा २ लाख ३९ हजार ४ सय ७९ जना संक्रमित छन् भने २७ हजार १ सय २७ जनाको त्यहाँ मृत्यु भएको छ। छैटौं स्थानमा रहेको इटालीमा २ लाख ३२ हजार ९ सय ९७ जना संक्रमित छन्। त्यहाँ ३३ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ।