
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले पार्डाबोनमाथि ६-१ को फराकिलो जित निकालेको छ।
बेन्टेलर एरेनामा भएको खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले हराउन जडोन सान्चोले ह्याट्रिक गरे। उनले खेलको ५७, ७४ र अतिरिक्त समयमा गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा लागेको थियो। सान्चोबाहेक थोर्गन हजार्ड, अर्चाफ हमिकी र मार्सेल स्कमेल्जरले गोल गोल गरे। अर्कोतर्फ पार्डाबोनका लागि युवी ह्युमिनियरले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए।
त्यस्तै गएराति नै भएको अर्को खेलमा ग्लाडबाखले युनियन बर्लिनामाथि ४-१ को फराकिलो जित निकालेको थियो। मार्कस थुरमको २ गोल र फ्लोरियन नेउहाउस र एलासेन प्लिको १/१ गोलको सहयोगमा युनियन बर्लिनमाथि जित निकालेको हो। बर्लिनका लागि सेबास्टियन एन्डर्सनले सान्त्वना गोल फर्काए।
गएराति भएको खेलसँगै डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिखसँग अंकदुरी घटाएको छ। अंकतालिकामा बायर्नको ६७ अंक छ भने दोस्रो स्थानको डर्टमन्डको ६० अंक छ। त्यस्तै तेस्रोस्थानको ग्लाडबाखको ५६ अंक छ।