काठमाडौं : नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा कोरोनाको संक्रमण लगातार बढिरहेको छ। भारतमा श्रमिक स्पेसल रेल सेवा सुरु भएपछि नेपालसँग जोडिएका भारतीय राज्यहरुमा संक्रमितको संख्या ह्वात्तै बढ्यो। त्यसको असर नेपालमा थपिएका संक्रमित संख्याले पनि देखाउँछन्।
नेपालसँग जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम वंगाल र सिक्किममा संक्रमितको संख्या १६ हजारभन्दा माथि पुगेको हो। यी प्रदेशहरुमध्ये सबैभन्दा धेरै संक्रमित उत्तर प्रदेशमा छन्। नेपालसँग लामो सीमा जोडिएको उत्तर प्रदेशमा ७ हजार ४ सय ४५ जना संक्रमित रहेको भारत सरकारको आधिकारिक तथ्याङ्कमा देखाइएको छ। जबकि भारतीय मिडियाले यो संख्या ८ हजारभन्दा माथि गइसकेको सार्वजनिक गरेका छन्। उत्तर प्रदेशमा कोरवनाका कारण २ सय १ जनाको मृत्यु भइसकेको छ।
बिहारमा ३६ सय ३६ जना संक्रमित रहेको सरकारी तथ्याङंक छ भने मिडियाले यो संख्या ४ हजारभन्दा माथि पुगिसकेको सार्वजनिक गरेका छन्। बिहार नेपालसँग सीमा जोडिएको सबैभन्दा ठूलो भारतीय राज्य हो। नेपालमा पछिल्लो समय संक्रमितहरु बिहार र उत्तर प्रदेशबाट भित्रिरहेका छन्। त्यहाँका आप्रवासी मजदूरसँगै नेपालीहरु आफ्नो मुलुक आउनेक्रम जारी छ। बिहारमा कोरोनाका कारण मर्नेको संख्या २० पुगेको छ।
पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा ७ सय ४९ संक्रमित पहिचान भएको छ। त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ छ।
पश्चिम वंगालमा ५ हजार १ सय ३० जना संक्रमित भएको सरकारी तथ्याङ्क छ। त्यहाँ ३ सय ९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। नेपालसँग सय किलोमिटर सीमा जोडिएका सिक्किम सबैभन्दा कम प्रभावित राज्यमा पर्छ। त्यहाँ अहिलेसम्म एकजनामात्र संक्रमित देखिएका छन्।