PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के तरकारीबाट कोरोना सर्छ? नत्र किन फ्याँकियो यसरी?



सविन ढकाल

के तरकारीबाट कोरोना सर्छ? नत्र किन फ्याँकियो यसरी?

काठमाडौं : केही युवाले गाडीबाट तरकारी निकाले। गोलभेडा, करेला, बोडी निकाल्दै फोहोरको साइटमा पोखे। त्यहाँ नेपाल प्रहरीका एक असई उनीहरुलाई घरीघरी निर्देशन दिइरहेका छन्। एक जना प्रहरी जवान हातमा हतियार लिएर स्टेन्डबाइ रहेको देखिन्छ।

सामाजिक सञ्जालमा यो भिडिओ र फोटो केही समयदेखि भाइरल भएको छ। धेरैले यसको विरोध गरिरहेका छन्। यो दृष्य आइतवार अर्घाखाँचीको सन्धिखर्कको आउलाखोला नजिकैको हो। तरकारी सन्धिखर्क नगरपालिकामा बिक्री गर्नको लागि कपिलबस्तुको बुद्धभूमि नगरपालिकाबाट ल्याइएको थियो।

जिल्ला प्रशसान कार्यालय अर्घाखाँचीले लकडाउनको समयमा संक्रमित क्षेत्रबाट ल्याएका फलफूल तथा तरकारी जिल्लामा प्रवेश गर्न रोक लगाएको छ। कसैले ल्याएको पाइएमा सुरक्षा निकायलाई परिचालन गरेर ल्याएको स्थानमा नै फिर्ता पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक सिडिओ विक्रम थापाले भने जानकारी दिए।

'हामीले नष्ट नै गर्नु भनेको होइन। संक्रमित जिल्लाबाट तरकारी तथा फूलफुल ल्याउन रोक लगाएको हो। कसैले ल्याएको भए फिर्ता पठाउन भनेका थियौं,' सहायक सिडिओ पाण्डेले भने।

कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारीबाट कोरोना सर्नसक्ने भन्दै अर्घाखाँचीका प्रहरी प्रमुखको निर्देशनमा सन्धिखर्कमा आइतवार तरकारी नष्ट गरिएको थियो। यसप्रति किसानहरुले आपत्ति जनाइसकेका छन्।

बुद्धभूमि नगरपालिका तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ। अर्घाखाँचीको आइतवारको घटना कृषकलाई निरुत्साइत किसिमको भएको बुद्धभूमि नगरपालिका मेयर केशवकुमार श्रेष्ठले बताए।

'यो दुःखद् घटना हो। वर्षौंदेखि तरकारी लगिरहेको अवस्था एक्कासी नष्ट गरेको सुन्दा नराम्रो लागेको छ। एउटा कृषकले उत्पादन गरेक तरकारी किन रोक लगाउनु?,' मेयर श्रेष्ठले भने।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि यो घटनाप्रति असन्तुष्टि जनाएका छन्। प्रदेश ५ मा संक्रमण भारतबाट आएर क्वारेन्टाइनमा बसेका र त्यसको व्यवस्थापन गर्नेमा देखिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले फेसबुकमा भनेका छन्, ‘किसानले फलाएको तरकारीमा कोरोना देखिएको होइन। सचेत बनौं।’

सन्धिखर्क नगरापालिका मेयर कमलप्रसाद भुषाल भने सम्वन्धित निकायले बनाएको नियमभन्दा बाहिर गएर तरकारी ल्याएकाले नष्ट गरेको दावी गरेका छन्। 'स्थानीयको विरोध भएछ। उहाँले कुनै जानकारी नदिइ सर्वदलीय बैठकभन्दा बाहिर गएर तरकारी ल्याउनु भएको रहेछ। नष्ट नगरी फर्काएको भए हुन्थ्यो,' मेयर भुषालले भने।

स्थानीय प्रशासनले केही समयअघि तरकारी ल्याउँदा सम्वन्धित निकायबाट चालक, ल्याउन लागेको स्थान, गाडी नम्बर, तरकारीको परिणाम खुलाएर मात्र ल्याउने निर्णय गरेको मेयर भुषालले बताए। तर, पुष्षा बनियाँले जानकारी नदिई तरकारी ल्याएपछि स्थानीयले विरोध गरे अनि नष्ट गरिएको उनले बताए।

प्रहरी प्रशासन भने निर्णय अनुसार नै नष्ट गरेको बताइरहेको छ।

कपिलवस्तुबाट गएको तरकारी नष्ट गरेपछि कपिलवस्तुका किसान भने निराश बनेका छन्। उनीहरुले फलाएको तरकारी यसरी रोकिन र नष्ट हुन थालपछि भोलिको बजार कहाँ भन्ने चिन्ता थपिएको छ। 'उहाँहरुले राम्रो गर्नु भएन। आज तरकारी नष्ट गर्नु भयो। भोलि हाम्रो नाकाबाट नै चामल, दाल जान्छ। के गर्नुहुन्छ?,' कपिलवस्तु शिवराज नगरपालिकाका मेयर चन्द्रराज अधिकारीले भने।

यसरी तरकारी रोकिएपछि किसानहरु बजार खोज्न माग गर्दै आउने थालेको मेयर अधिकरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell