1.jpg)
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछिमात्र बजेट निकासा हुने बताएका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेटमा समावेश एमसीसी कार्यक्रमबारे स्पष्ट पारेका हुन्।
उनले भने, 'बजेटमा राखिएको अमेरिकी सहयोगको कार्यक्रम त्योबेला मात्रै निकासा हुन्छ जुन बेला संसदमा विचाराधीन रहेको सम्झौतापत्र संसदले अनुमोदन गर्छ। अनुमोदन नगर्दासम्म त्यो यथावत् नै रहन्छ।'
आर्थिक वर्ष २०७७\७८ को बजेटमा सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखिएको छ। विवादित सम्झौता बजेटमा समावेश भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै आपत्ति जनाएका थिए।
उनले विगत ३ वर्षदेखि नै बजेटमा एमसीसीका कार्यक्रमहरु समावेश हुँदै आएको बताए। अर्थमन्त्री खतिवडाले यसबारे प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदा स्पष्ट पारिसकेको कुरा दोहोर्याए।
जस्केलाबाट एमसीसी घुसाउन खोजिएको भन्दै प्रश्न उठेपछि गत शनिवार बसेको सचिवालय बैठकले एमसीसी पारित नहुँदासम्मयसँग सम्बन्धित कुनै पनि कार्यक्रम अघि नबढाउने निर्णय गरेको थियो। यसबारे अर्थमन्त्रीले संसदलाई स्पष्ट पार्नुपर्ने बताइएको थियो।