PahiloPost

Sep 19, 2021 | ३ असोज २०७८

जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो (सन्दर्भ दरबार हत्याकाण्ड)



पहिलोपोस्ट

जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो (सन्दर्भ दरबार हत्याकाण्ड)

१९ जेठ २०५८। दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च लिए। लञ्च सकेलगत्तै उनी चार बजे राष्ट्रिय खेलको तयारी हेर्नका लागि सातदोबाटो पुगे।

त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे। त्यहाँ उनले वीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए।  

बुवा आमासँग छुट्टिएका दीपेन्द्र साँझ ७ बजे नै जमघट हुने त्रिभुवन सदनको बिलियार्ड हलमा पुगेका थिए। कोल्ड ड्रिंक्स लिंदै एडिसी गजेन्द्र बोहोरासँग केही समय बिताए। 

दीपेन्द्रले बोहरालाई भने – 'अब ड्रिङ्क्स झिकाऊ।'

बोहराले अर्दली बोलाए। अनि आदेश दिए – 'एक पेग फेमस ग्राउस हिवस्की।'

शुक्रबारको जमघटका लागि पाहुना आउन थालेपछि हिवस्कीमा रमाएका दीपेन्द्र आफैँ सर्भसमेत गर्न थालेका थिए। जमघटका लागि पुगेका पारसलाई दीपेन्द्रले भने – 'के लिने? म हिवस्की खाएर बसेको छु।' 'कोक' अर्डर गर्दै पारसले दीपेन्द्रलाई विवाहको प्रश्न सोधे।

जवाफमा दीपेन्द्रले भने – 'विवाहको कुरा भैराखेको छ। मैले मुमासँग पनि कुरा गरेँ। आफूमुमा (मुमा वडामहारानी रत्न)सँग पनि कुरा गरेँ। अनि दुवै जनाले हुन्न भन्नुभयो।'

केही पेग हिवस्की लिइसकेका दीपेन्द्र मुमा बडामहारानी रत्नलाई लिन कार लिएर नारायणहिटीकै महेन्द्र मञ्जिल पुगे। मुमा बडामहारानीलाई लिएर आएपछि दीपेन्द्रले फेरि हिवस्की पिउन थाले।

तर हिवस्कीमा मात्र मन नरमाएपछि उनले कालो पदार्थ मिसाएको चुरोट मागे। एडिसी बोहोरालाई फोन गरेर दीपेन्द्रले चुरोट मगाएपछि बोहोराले अर्दली रामकृष्णमार्फत् 'कालो पदार्थ' मिसाइएको चुरोट भित्र दिन लगाए। 

अर्दली रामकृष्ण केसीले त्यही चुरोट पारसको हातबाट बिलियर्ड बैठक कक्षमा पुर्‍याएका थिए। वीरेन्द्र हलमा प्रवेश गर्नुअघि नै दीपेन्द्र रक्सीका कारण ढलिसकेका थिए।

ढलेका दीपेन्द्रलाई पारस, निराजन, राजीव र गोरखले झ्याइँकुटी पार्दै उनको कोठामा पुर्या्एर सुताए। कोठामा पुगेपछि दीपेन्द्रले बाथरुममा गएर उल्टी गरे। फर्किएर आएपछि आफ्नि प्रेमिका देवयानीसँग फोनमा कुरा गरे। 

त्यसपछिको त्यो आधा घण्टा
राति आठ बजेर ४० मिनेट नाघिसकेको थियो। दीपेन्द्रले देवयानीलाई १ मिनेट ३९ सेकेन्ड लामो कुराकानीमा गुडनाइट भनेर विदा भैसकेका थिए। देवयानीलाई सुत्न भने पनि दीपेन्द्र आफू भने सुतेनन्।

उनले आर्मीले लगाउने टाटेपाटे कम्ब्याट ड्रेससँगै, खुट्टामा बुट र हातमा पञ्जा लगाए। आफू सुत्ने रुममै रहेको दराजबाट चार थान हतियार झिके। उनले लोडेड गल्क गेज पेस्तोल कम्मरमा भिरे। एउटा एमपि फाइभ के अटोमेटिक सबमेशिन गन, अर्को एसपिएस १२ एल फ्रेन्च एसपिए १२ बोरको बन्दुक र अर्को कोल्ट एम १६ एटु राइफल गरी तीन वटा हतियार दुई वटा काँधमा भिरे।

त्रिभुवन सदनको माथिल्लो तलामा रहेको कोठाबाट दीपेन्द्र निस्किए। शाही अर्दली रामकृष्ण केसीले दीपेन्द्रलाई सोधे - 'सरकार इमर्जेन्सी ब्याग टक्रयाउँ?' जवाफमा दीपेन्द्रले भने - 'पर्दैन।' माथिल्लो तलाबाट तल झरेपछि दीपेन्द्र सिधै त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे।

त्रिभुवन सदनको अघिल्लो भागमा मुख्य प्रवेशद्वारमा दायाँपट्टी दीपेन्द्रको अफिस थियो भने बायाँपट्टी एडिसीको अफिस। अफिसबाट पुल बगैंचा पार गरेर गएपछि बीचमा बिलियार्ड हल छ, यो हलमा हरेक महिनाको तेस्रो शुक्रवार हुने दरवारको पारिवारिक जमघट चलिरहेको थियो।

यो भोजमा २४ जना निम्त्याइएका थिए। निम्त्याइएका २४ मध्ये तीन जना प्रेक्षा राज्यलक्ष्मी देवी शाह, मोहनबहादुर शाही र राजकुमारी विमला सिंहबाहेक २१ जना उपस्थित थिए। वीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्र शाह सौराहाबाट पोखरा पुगेका कारण भोजको आमन्त्रित सूचीमा समेत थिएनन्।

नौ बज्न केही मिनेट मात्रै बाँकी थियो। राजा वीरेन्द्र आफ्नो कार्यालय मङ्गल सदनबाट पार्टी भैरहेको त्रिभूवन सदन आए। त्रिभूवन सदन आउनासाथ परिवारका सदस्य उनलाई दर्शन भेट गर्दै थिए। त्रिभुवन सदनमा स्न्याक्स र पेयपदार्थ सर्भ गरिरहेका वेटरलाई निराजनले कोक ल्याउन आदेश गरे। व्वाइज बच्चुराम केसीले निराजनको इशाराअनुसार कोक लगेर वीरेन्द्रको हातमा थमाए।

हातमा कोक लिएका वीरेन्द्रले तीन कदम पछि भएका रविलाई भने, ए रवि यहाँ आऊ, रवि वीरेन्द्र नजिक पुगे। रविसँगै महेश्वरकुमार सिंह पनि वीरेन्द्र नजिक आए। महेश्वरले वीरेन्द्रलाई भने, सरकार! श्रीमती (राजकुमारी विमला) विरामी परेकाले आज उपस्थित हुन सकिनन्।

वीरेन्द्रले के भएको हो भनेर सोध्दै थिए। सरकार बाथ भएको छ भनेर उनले जवाफ दिए। त्यसपछि वीरेन्द्र केही अघि बढ्दै भन्दै थिए, त्यही हो हाम्रो सन्तानमा बाथ हुने, युरिक एसिड हुने र कोलेस्ट्रोल हुने।

पहिलो निशाना वीरेन्द्र
यही बीचमा कम्व्याट ड्रेसमा दीपेन्द्र आफ्नो निवासबाट झण्डै सय फिट अघि रहेको विलियर्ड हलमा स्वाट्टै छिरे। दीपेन्द्र वीरेन्द्र नजिक पुगे। उनले एमपि फाइभ अटोमेटिक सब मेशिन गनबाट कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरे। त्यसपछि कुनै पनि संवाद बिना वीरेन्द्रको पेटमा ताकेर मेशिन गनबाट फायर गरे। एउटा फायरबाट तीन वटा गोली वीरेन्द्रको पेटमा ब्रस्ट भयो।

गोली लागेपछि वीरेन्द्र लड्खडाए तर ढलेनन्। हातमा भएको कोकको ग्लास विस्तारै उनले भुईंमा राखे। फायर खुले पनि ठूलो दुर्घटना भयो भन्ने कसैले अनुमानसम्म गरेन। छेउमै रहेका रविले जब वीरेन्द्रको पेटबाट बगेको रगत सुरुवालमा देखे। डाक्टर, डाक्टर भन्दै कराए।

डाक्टर राजीव, वीरेन्द्रका कान्छा छोरा निराजन, ज्वाईं गोरख र पारस शाह बिलियार्ड हलको एउटा कुनामा थिए। जहाँ म्युजिकको सिस्टम थियो, पारस म्युजिकको भोल्युम बढाउन लागिरहेका थिए। रविले डाक्टर डाक्टर भनेर कराएपछि राजीव दौडिए वीरेन्द्र नजिक। सैनिक अस्पतालका डाक्टरसमेत रहेका राजीव नजिक पुग्दा राजा वीरेन्द्र ढलिसकेका थिए।
 
राजीवले आफ्नो कोट खोले वीरेन्द्रको दाहिने घाँटीतर्फ प्रेस गरे। वीरेन्द्रले भने राजीव मेरो पेटमा गोली लागेको छ। 

वीरेन्द्रलाई गोली हानेपछि दीपेन्द्र बिलियार्ड हलबाट बाहिरिएका थिए। राजिव वीरेन्द्रको बगिरहेको रगत कसरी रोक्न सकिन्छ भनेर प्रयास गरिरहेका थिए। यत्तिकैमा फेरि दीपेन्द्र हलमा प्रवेश गरे।

वीरेन्द्रमाथि फायरिङ गरेको मेसिनगन भुँईमा फाले। यो मेशिनगन राजा वीरेन्द्र ढलेभन्दा केही पर मात्रै थियो। होसमा रहेका राजा यो मेशिनगन तान्ने प्रयास गर्दै थिए। 

दरवार हत्याकाण्डको छानविन गर्न बनेको समितिसँगको बयानमा वीरेन्द्रकी बहिनी शोभा शाहीले भनेकी छन्, 'वीरेन्द्र दाई वाज स्ट्याण्डिङ, हि ट्राइ टु गेटअप, एण्ड हि वाज होल्डिङ अ....(गन), यो छाडिबक्स्योस भनेर मैले ट्याप्प थुतें, हातमा म्यागजिन आयो मैले फालिदिएँ।'

पारसले समितिलाई दिएको बयानमा भनेका छन्, (दीपेन्द्र) बाहिर सवारी भयो, फेरl फर्केर सवारी भयो, त्यो सानो विपन एमफाइभ अटोमेटिक फालिबक्स्यो। त्यो हतियार महाराजधिराज सरकारले टिपिबक्स्यो। अधिराजकुमारी शोभा सवारी भएर त्यो विपन लिई बक्स्यो, म्यागजिन झिकिबक्स्यो। त्यही भुईँमा राख्दिबक्स्यो त्यो। अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानी बक्सेछ।

दोस्रो फायरिङ
वीरेन्द्रलाई गोली हानेपछि दीपेन्द्र बाहिर निस्किए। उनले १२ बोरको बन्दुक बाहिर फालेर भिरिरहेको राइफलसहित फेरl भित्र छिरे। बत्ती र टेलिस्कोपसहितको कोल्ट एम १६ ए टुबाट उनले फेरि वीरेन्द्रलाई गोली हाने। वीरेन्द्र नजिक पुगेका गोरखलाई पनि गोली हाने। दीपेन्द्रका कान्छा बाबु धीरेन्द्र, ए बाबु द्याट्स इनफ भन्दै थिए, उनैलाई ड्याम्म गोली हानिदिए।

दीपेन्द्रले कुमार खड्गविक्रममाथि समेत फाइरिङ गरिसकेका थिए। राजकुमारी श्रुति वीरेन्द्र नजिक पुगेर बुबा बुबा भन्दै थिइन्, उनले अर्को तर्फ लडिरहेका आफ्ना श्रीमान् गोरखलाई देखिन। ए बाबा, तिमीलाई पनि लाग्यो भनेर उनी श्रीमान गोरखको छेउमा पुगेकी थिइन्। दीपेन्द्रले श्रुतिलाई पनि त्यहीँ गोली हाने। श्रुति श्रीमान गोरख माथि लडिन्।

वीरेन्द्रको हातबाट बन्दुक खोसेकी शोभालाई पनि दीपेन्द्रले छाडेनन्। गोली प्रहार गरे। देब्रे हातमा गोली लागेको शोभाको औँठी लगाउने औँला समेत छिन्यो। दीपेन्द्रले अधिराजकुमारी शारदा, शान्ती, शाहज्यादी जयन्तीलाई पनि गोली ठोके। दीपेन्द्रले कोमललाई पनि गोली हानेका थिए भने केतकी चेष्टरमाथि पनि गोली वर्षाए।

कहाँ थिइन् रानी ऐश्वर्य र निराजन?
यसरी त्रिभुवन सदन भित्र दीपेन्द्रले दुई वटा हतियारबाट ११ जनालाई गोली हानेका थिए। तर उनको निशानामा आमा ऐश्वर्य र भाइ निराजन भने आइसकेका थिएनन्। वीरेन्द्रलाई दीपेन्द्रले गोली हान्दै गर्दा ऐश्वर्य र निराजन कहाँ थिए भन्ने जानकारी छानविन समितिका सदस्यलाई दिएको बयानमा राजपरिवारका कुनै पनि सदस्यले खुलाएका छैनन्। 

बिलियार्ड हलमा छिरेर वीरेन्द्रलाई पहिलोपटक गोली हानेपछि दीपेन्द्र दुई पटक हल भित्र र बाहिर गरिसकेका थिए। दीपेन्द्र अब तेस्रो पटक हल भित्र छिरे। उनले हलमा कुना-कुनामा गएर हेर्दै थिए। बिलियार्ड हलको एक कुनामा अग्लो कुर्सीको मुनि पारस लुकिरहेका थिए।

सुरुमा वीरेन्द्रसँग कुराकानी गरिरहेका महेश पारसको पछि थिए। वीरेन्द्रसँग कुराकानी गरेका रवि पारसकै छेउमा भएको बार मुनि लुकेका थिए। महेशको पछि पारसकी बहिनी प्रेक्षा थिइन् भने त्यसपछि पारसकी श्रीमती हिमानी र त्यसपछि पारसका तीन बहिनीहरु पूजा, सिताष्मा र दिलाशा थिए।

तेस्रो पटक हलमा छिरेपछि दीपेन्द्रको पारससँग आँखा जुध्यो। कोल्ट एम १६ ए टु राइफल पारसलाई टार्गेट गर्दै दीपेन्द्र उनी नजिक आए। 

समितिसँगको बयानमा पारस भन्छन्, त्यसपछि (दीपेन्द्रको) डाइरेक्ट नजरमा हामी पर्यौं। के गरिबक्स्या हजुर...हामी ...के गरिबक्स्या प्लिज गई बक्स्योस भनेर त्यो बिन्ती जाहेर गरें मैले। मैले चाहि दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं, प्लिज... वान बाई वान सबैलाई हेरेर छाडेर बाहिर लागिबक्स्यो। त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर।

सुरुमा राजा वीरेन्द्रलाई बचाउन आएका राजीव शाही भने दीपेन्द्र तेस्रो पटक बिलियार्ड हलमा छिर्दा झ्यालबाट हाम फालेर बाहिर गैसकेका थिए। उनले बाहिर गएपछि एडिसि अफिसमा खबर गरे। यतिवेला दरवार भित्रको शाही सुरक्षा गोलीको आवाजपछि मोविलाइज हुने तरखरमा थियो। 

सायद तेस्रो पटकमा दीपेन्द्र आमा र भाइ खोज्दै हलभित्र छिरेका थिए। उनले कुना-कुनामा छान मार्दा पनि आमा र भाइलाई हल भित्र भेटेनन्। उनी हलबाट बाहिर निस्किएर आफ्नो निवासतर्फको बगैंचामा जाँदै थिए।

समितिलाई दिएको जवाफमा केतकी चेस्टर भन्छिन्, जुन बेलामा बडामहारानी (ऐश्वर्य) सरकार लम्केर बगैंचामा सवारी भयो, त्यसकै एक सेकेन्डमा निराजन चाहीं दौडी दौडी उहाँको पछि लागेको मैले देखेको थिएँ। मैले त्यो बेलामा बाहिर सवारी भएको देखें। लमक लमक बगैंचातिर दुईचोटी मैले भाउजु भाउजु हुन्न भाउजु भनिकन बिन्ति गरें। तर उहाँको मुहारबाट थाहा पा थें कि म बन्दुकै लिन्छु कि म (ऐश्वर्य) मर्छु भन्ने मेरो मनमा लागेको त्यति हो। निराजन चाहीं उहाँको पछिपछि सुरक्षा गर्न गएको भन्ने मलाई लाग्यो।

केतकी चेस्टरले ऐश्वर्य गएकै तिर बाहिर ड्याङ्गको आवाज सुनिन्। समितिसँगको बयानमा उनी भन्छिन्, एक पटक, एक सट, ड्याङ्ग आई वाज, मैले सुनेको त्यहो हो वन सट्।

समितिसँगको बयानमा पारस भन्छन्, जब म मान्छेहरुलाई हेर्न गएको थिएँ, त्यो बेलासम्म केही फाइरिङ्ग भैरहेको थियो। बाहिर त्यो चौरमा फाइरिङ भैराखेको थियो। लास्ट भएकै चौरमा हो। त्यसमा पनि के भयो म केही भन्न सक्दिन। मैले देखेको होइन्। त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानिबक्स्यो मलाई थाहा छैन।

समितिसँगको बयानमा अनन्तकेशर सिंह भन्छन्, कोठामा मान्छे क्लियर भएपछि मैले हेर्दाखेरी बडामहारानी सरकारलाई भेटिन र बडामहारानी सरकारलाई नभेटेपछि फर्किएर आएँ। र बाहिर बगैंचातिर जाने क्रममा हाम्रो गजेन्द्र मेजर साव भेट भयो। हामी भित्र जाँदै थियौं। जाँदा बगैंचाको मोडमा मान्छे लडेको एक जना देखें र आवाज आइरहेको घ्वार घ्वार आवाज आएपछि मैले नजिक गएपछि युवराजधिराज सरकार रहेको चिनेपछि मसँग भएका मान्छेलाई लैजान भनें। पछाडि फर्कदा निराजन सरकार फ्लयाट यसरी ग्राउण्डमा डाउन भएको उहाँलाई पनि अस्पताल पठाएँ र बडामहारानी सरकार अझ फेला नपरेको हुँदा भित्र गएँ। भित्र जाँदाखेरी ढोकाको साइडमा रातो चिज देखें, माथि भर्याङमा दौडेर हेर्न जाँदा बडामहारानी सरकार होइबक्सँदो रहेछ। र म एक्लैले बोक्न नसकेर केटाहरु डाकेर बडामहारानी सरकारलाई मोटरमा हालेर अस्पताल पुर्यायौं।

दीपेन्द्र पल्टिएकै ठाउँमा गल्क गेज पिस्तोल र खोका थियो। त्यसैले उनी आफैले आफैलाई गोली हानेको अनुमान गरिएको छ। समितिसँगको बयानमा सेनानी गजेन्द्र बोहोरा भन्छन्, त्यति वेला मेरो एम क्राउन प्रिन्सलाई नियन्त्रणमा लिने नै थियो। किनकी मैले अटोमेटिक वेपन देखेको थिएँ। त्यसैले नियन्त्रणमा लिन स्ट्याण्डबाई रहेको सेक्युरिटी फोर्सको मद्दत लिनुपर्ने भएकोले म बाहिर निस्कें। तर जब म डोर नजिक पुगेको थिएँ, त्यसबेला पुन: गोली चल्यो, त्यही बेला हुनुपर्छ क्राउन प्रिन्सले आफैलाई गोली हानिबक्सेको।

दरवार हत्याकाण्डमा गोली लागेका सबैलाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा लगिएको थियो। जहाँ पुर्यााउना साथ वीरेन्द्र, ऐश्वर्य र निराजनलाई राति ९ बजेर १५ मिनेटमा मृत घोषणा गरियो।

श्रुतिलाई ९ बजेर ५५ मिनेटमा, शान्ति सिंह र खड्गविक्रम शाहलाई ९ बजेर ३५ मिनेटमा, शारदा शाहलाई र जयन्ती शाहलाई नौ बजेर ३० मिनेटमा मृत घोषित गरियो भने दीपेन्द्रलाई तीन दिनपछि २२ गते बिहान तीन बजेर ४५ मिनेटमा तथा धिरेन्द्रलाई त्यही दिन साँझ ५ बजेर ५७ मिनेटमा मृत घोषित गरियो।

गोली लागे पनि कोमल, गोरख, केतकी र शोभा उपचारपछि स्वस्थ भए। 

अस्पताल पुर्‍याउँदा नै दीपेन्द्र नेचुरल्ली डेड भए पनि क्लिनिकल्ली लाइफ सपोर्ट दिएर बचाइएको थियो। यही तीन दिन उनी देशको महाराजसमेत बने। दरबारमा भएको के थियो, कसैलाई केही यकिन थाहा थिएन। नायबी सम्हालेका ज्ञानेन्द्रले 'दरबारमा स्वचालित हतियार पड्किन गई' घटना भएको भनेर विज्ञप्ति निकाले। 

न पोस्टमार्टम, न छानबिन। घटनाको भोलिपल्टै शवयात्रा गरी पशुपतिमा राजपरिवारको सामूहिक दाहसंस्कार गरियो। अस्पतालको बेडमै महाराज घोषणा गरिएका दीपेन्द्रको भने तीन दिनपछि कर्फ्यु लगाएर शवयात्रा गरी पशुपतिमा दाहसंस्कार गरियो।  

(जेठ १९ को दरबार हत्याकाण्डको आज १९ वर्ष पूरा भएको छ। त्यही सन्दर्भमा यो सामग्री पुन: प्रकाशन गरिएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell