PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेशनल मेडिकल कलेज प्रकरण : छानविन टोली वीरगंजमा, एक हप्ताभित्र प्रतिवेदन बुझाइने



राधेश्याम पटेल

नेशनल मेडिकल कलेज प्रकरण : छानविन टोली वीरगंजमा, एक हप्ताभित्र प्रतिवेदन बुझाइने

वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको लापरवाहीको कारण ६ जना मृगौला रोगीको मृत्यु र एक जना कोरोना संक्रमितको परीक्षण रिपोर्ट नआउँदै शव परिवारजनलाई दिएको घटनाको छानविन गर्न स्वास्थ्य मन्त्रालयको टोली वीरगंज आइपुगेको छ।

जेठ १८ गते आइतवारदेखि टोलीले छानविन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक मोहमद दाउदको नेतृत्वमा टोलीले छानबिन गरिरहेको छ। छानबिन टोलीमा नेपाल मेडिकल काउन्सिल, प्रदेश २ मातहत समाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा, नारायणी अस्पताल वीरगंज र स्वास्थ्य कार्यालय पर्साका १–१ जना प्रतिनिधि गरी ५ जना रहेका छन्।

टोलीले प्रारम्भिक चरणमा नारायणी अस्पताल तथा नेशनल मेडिकल कलेजका चिकित्सक तथा व्यवस्थापन पक्षसँग सोधपुछ गरी लिखित रुपमा जवाफ मागेको संयोजक दाउदले बताए। ‘हामीले हिजो दिनभर कोरोना पीडितको मृत्यु र ६ जना मृगौला पीडित रोगीको सवालमा दुबै अस्पतालसँग जानकारी लिएर शंकास्पद विषयवस्तुमा लिखितरुपमै जवाफ मागेका छौं,’ उनले भने, ‘उहाँहरुको लिखित जवाफ आइसकेपछि छानबिन टोलीले एक साताभित्र आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउने छ।’

गत जेठ ४ गते बारा, करैयामाई गापा ७ निवासी ७० वर्षीय वृद्धमा निमोनिया देखिएपछि मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचारको गर्ने क्रममा मृत्यु भएको थियो। जेठ २ गते लिइएको स्वाबको रिपोर्ट नआउँदै अस्पतालले कोरोना संक्रमितको शव परिवारजनलाई बुझाएर चरम लापरवाही गरेको स्वास्थय मन्त्रालयको दावी छ।

ती वृद्ध पुरुषको मृत्युको ९ दिनपछि रिपोर्ट आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैगरी, वैशाख १२ गतेदेखि नारायणी अस्पतालमा उपचाररत ४० जना मृगौला पीडितहरुको डायलासिस सेवाका लागि नेशनल मेडिकल कलेजामा पठाइएकोमा जसमध्ये ६ जनाको उपचारको क्रममा अस्पतालकै लापारवाहीले मृत्यु भएको पीडित पक्षको आरोप छ। मृगौला पीडितहरु बारा पर्साका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell