PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ललितपुर एन्फाका अध्यक्ष माथिको कारबाही एन्फा केन्द्रीय कार्यसमितिबाट अनुमोदन, थापा भन्छन्, ‘म मान्दै मान्दिन’ 



मुकुन्द घिमिरे

ललितपुर एन्फाका अध्यक्ष माथिको कारबाही एन्फा केन्द्रीय कार्यसमितिबाट अनुमोदन, थापा भन्छन्, ‘म मान्दै मान्दिन’ 

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमवार बसेको कार्यसमितिको बैठकले ललितपुर एन्फाका अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गर्ने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ।

‘एन्फा डे’को उपलक्ष्यमा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले दिएको शुभकामना सन्देशमा अभद्र टिप्पणी गरेको भन्दै एन्फाले उनलाई स्पष्टीकरण सोधेको थियो। तर, उनले दिएको स्पष्टीकरणमा चित्त नबुझेको भन्दै एन्फाले आगामी साधारण सभासम्मका लागि उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

कार्यसमितिको बैठक नबसी विधानविपरित कारबाही भएको भनेर थापा पक्ष असन्तुष्ट रहँदै आएको थियो। सोमवार बसेको बैठकमा यसको पक्ष र विपक्षमा बहसपछि साधारण सभासम्मको लागि थापाको निलम्बनलाई कार्यसमितिले अनुमोदन गरेको हो।

एन्फाको १९ औं साधारण सभा भदौ १५ गते गर्ने कार्यसमितिले निर्णय गरेको छ। यद्यपि, कोरोना महामारी नरोकिए फिफा र एएफसीबाट मान्यता लिएर भर्चुअल्ली नै साधारण सभा गराउने निर्णयसमेत गरेको छ।

एन्फाको निर्णय प्रति थापाको आपत्ती

एन्फाले निलम्बन गर्दा कार्यसमितिले मात्र निलम्बन गर्न पाउने भएकाले एन्फाको निलम्बन विधान विपरित भएको बताउँदै आएका ललितपुर एन्फाका अध्यक्ष पुरुषोत्तम थापा कार्यसमितिले निलम्बनलाई अनुमोदन गरे पनि सन्तुष्ट छैनन्।

उनले आफूमाथिको कारबाही पूर्वाग्रही भएको दावी गरेका छन्।

‘पहिला अवैधानिक काम गरेर अब वैधानिक भन्न मिल्छ? यो सरासर गलत हो। म यो मान्दै मान्दिन’, थापाले भने, ‘जहाँ जानुपरे पनि जान्छु म। अदालत नै जान पनि तयार छु।’

कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फासँग असन्तुष्ट रहँदै आएका ललितपुर काठमाडौं, भक्तपुर र धादिङ एन्फाका अध्यक्षहरु आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विधान विपरित काम गरेको तथा क्षेत्रीय विभेद उत्पन्न हुने किसिमको अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको कार्यालय र खेलकुद मन्त्रालयमा उजुरी दिएका थिए।
यसबाट पनि सुनुवाइ नभएको खण्डमा अगाडिको प्रकृयाको बारेमा सोच्ने काठमाडौं एन्फाका अध्यक्ष विराट जंग शाहीले बताएका छन्।

७० करोडको बजेट

त्यस्तै, बैठकमा एन्फाका कोषाध्यक्ष रबिन्द्र जोशीले आर्थिक वर्ष २०७७/७८ को लागि ७० करोड ४१ लाख, १९ हजार ६ सय ८५ रुपैयाँको पेश गरेका थिए। उक्त बजेट आगामी साधारणसभाले अनुमोदन गर्नेछ।

त्यस्तै, बैठकले रत्नकुमार श्रेष्ठको संयोजकत्वमा रहेको राहत वितरण समितिले पेश गरेको प्रतिवेदनका आधारमा करिब १ लाख डलर बराबरको राहत फिफासँग माग्ने राहत वितरण गर्ने निर्णय गरेको छ। जसमा ४८ जिल्ला फुटबल संघ, ४ समिति, १४ ए डिभिजन क्लब, १२ बी डिभिजन क्लब, १४ सी डिभिजन क्लबहरु रहेका छन्।

यसैगरी, एन्फाबाट स्वीकृत मोफसलमा सञ्चालन गर्ने फुटबल प्रतियोगिताको आयोजक क्लबहरु, एन्फामा आबद्ध रहेका सबै तहका एन्फाका प्रशिक्षक तथा कर्मचारीहरु, शहीद स्मारक ए डिभिजन लिगका रेफ्रीहरुलगायतलाई राहत वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, नेपाली महिला तथा पुरुष फुटबल टिमका ३५/३५ जनालाई जनही १५ हजारको दरले खुराक खर्च दिन निर्णय पनि भएको एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell