PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बंकरबाट गभर्नरहरुलाई ट्रम्पको निर्देशन,'प्रदर्शनकारीहरु प्रति आक्रामक हुनु नत्र तिमीहरु मूर्ख हुनेछौ'



बंकरबाट गभर्नरहरुलाई ट्रम्पको निर्देशन,'प्रदर्शनकारीहरु प्रति आक्रामक हुनु नत्र तिमीहरु मूर्ख हुनेछौ'
Julio Cortez/Dallas News

अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन हिंसात्मक भइरहेको छ। प्रहरीले नियन्त्रण लिने क्रममा जर्ज फ्लोइडको मृत्यु भएको घटना सार्वजनिक भएपछि अमेरिकाका धेरै राज्यहरुमा विरोध प्रदर्शन भइरहेको छ। अश्वेत नागरिकमाथि प्रहरीको दमनका कारण पहिला पनि यस्ता घटना सार्वजिनक भएका थिए। यसपटक भने फ्लोइडको मृत्युले अमेरिकामा प्रदर्शन उग्र बन्दै गइरहेको छ।

आन्दोलनका क्रममा प्रहरी चौकी र गाडीमाथि आक्रमण हुनुका साथै धेरै स्थानमा आगजनी र लुटपाट समेत भएका छन्। रंगभेदविरुद्धको आन्दोलनमा सडकमा उत्रेका सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीसँगको मुठभेडमा केहीको मृत्यु भइसकेको जनाइएको छ।

प्रदर्शनका क्रममा प्रहरीले मिडियाकर्मीहरुमाथि पनि हातपात गरेका छन्। प्रदर्शन भइरहेको स्थानबाट रिपोर्टिङमा खटेका सीएनएन, बीबीसी लगायत अन्य मिडियाका पत्रकारमाथि प्रहरीले अभद्र व्यवहार गरेको जनाइएको छ। 

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा चर्किएका राज्यका गभर्नरहरुलाई अवस्था नियन्त्रणमा लिन आदेश दिएका छन्।

सीएनएनका अनुसार भिडियो टेलिकन्फरेन्समार्फत ट्रम्पले हिंसात्मक क्रियाकलापका उत्रेका 'प्रदर्शनकारीविरुद्ध आक्रामक भएर उत्रन' निर्देशन दिएका हुन्।

हाल भइरहेको प्रदर्शन नियन्त्रण गर्न गभर्नरहरु असफल भएको भन्दै ट्रम्पले भने, ‘तिमीहरुले उनीहरुमाथि हावी हुनुपर्छ अन्यथा तिमीहरु मूर्ख जस्तै हुनेछौ। उनीहरुलाई नियन्त्रणमा लिउ।’

 

ह्वाइट हाउस बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्प राष्ट्रपति भवनकै बंकरमा रहेको अमेरिकी संचारमाध्यमहरुले दाबी गरेका छन्। बंकरबाट गर्भनरहरुँग कुरा गर्दा ट्रम्प आक्रोशित सुनिएको जनाइएको छ।

ट्रम्पले हाल उग्र बन्दै गएको प्रदर्शन ‘र्‍याडिकल लेफ्ट’ बाट संचालित भएको दाबी समेत गरेका छन्।

‘यो एउटा अभियान हो। यदि यसलाई रोक्न सकिएन भने अवस्था झनै बिग्रिनेछ। जब तिमीहरु कमजोर हुन्छौं तब यो अभियान सफल हुनेछ। अहिले तिमीहरु मध्ये धेरै कमजोर देखिएका छौं।’ ट्रम्पले गभर्नरहरुलाई भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell