PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अर्घेलोमा भारतबाट भित्रिएकाहरु : परीक्षण छोडौं, मास्क समेत दिन असफल छ प्रशासन



प्रकाश भण्डारी

अर्घेलोमा भारतबाट भित्रिएकाहरु : परीक्षण छोडौं, मास्क समेत दिन असफल छ प्रशासन

काठमाडौं : सरकारले पहिलो चरणमा विदेशबाट २० हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। उनीहरुलाई सरकारले जहाँजको ब्यवस्था गरेपनि भाडाभने आफै तिर्नुपर्ने शर्त छ। होटलमा क्वारेण्टाइन बस्ने पनि सरकारले ब्यवस्था गर्ने छ, तर होटलको शुल्क आफै तिर्नुपर्ने ब्यवस्था छ। यसरी विदेशबाट ल्याउन महिना दिन अघि देखि तयारी र क्वारेण्टाइनका लागि होटलको ब्यवस्था गरिदा भारतबाट नेपाल आउनेका लागि भने सीमानामा परीक्षणको समेत ब्यवस्था छैन्।

कामका लागि भारत गएका नेपालीहरुलाई छिल्लो २ सातादेखि सरकारले नेपाल आउन औपचारिक बाटो खोल्यो। भारतबाट आउनेक्रम बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ। अधिकांश क्वारेन्टाइनमा हजारौं नेपाली कोरोना भाइरस परीक्षणको प्रतीक्षामा छन्। असुरक्षित रुपमा मानिसहरु नेपाल आइरहेका छन्।

धेरै दिनको यात्रा गरेर भारतबाट आएकालाई खाना खुवाउने बजेट समेत नभएको स्थानीय प्रशासनले बताइरहेको छ। कोरोना परीक्षणका नाममा तापक्रम लिने बाहेक केही गर्न नसक्ने विभिन्न ठाउँका सिडिओहरुले बताए।

'अब खाना खुवाउन पनि सक्दैनौं'

कञ्चनपुरको गड्डाचौकी नाकामा १५ दिन यता बिहानैदेखि भिडभाड हुन्छ। विहान उज्यालो हुन नपाउँदै हुलका हुल मानिसहरु दशगजामा आइपुग्छन्। भारतमा काम गर्न गएका तर लकडाउनका कारण नेपाल फर्किएका उनीहरुलाई लाइनमा उभ्याउन पनि सकस हुन्छ, प्रहरीलाई। बिहान ६ देखि १० बजेसम्म आउने क्रम जारी नै रहन्छ। दिउँसको चर्को गर्मीलाई छल्न कञ्चनपुर प्रशासनले बिहानको समयमा भारतबाट आउनेलाई नेपाल प्रवेशको अनुमति दिएको छ। ज्वरो जाँचेपछि कहाँबाट आएको? कहाँ जाने? क्वारेन्टाइनमा बसेको कि नबसेको? जस्ता प्रश्न सोधिन्छ। नेपालमा क्वारेन्टाइन बस्ने वाचा पनि अनिवार्य छ, गड्डाचौकीबाट नेपाल प्रदेश गर्नेका लागि। त्यही आधारमा उनीहरुको बारे विस्तृत जानकारी राख्न प्रशासनले फारम भर्छ।

भोकै/ प्यासै भारतबाट आएकाहरुका लागि एक बोतल पानी र एक छाक खानाको ब्यवस्था छ। स्थानीय प्रशासनले भारतबाट आएकालाई आफ्नो गाँउसम्म पुग्न बसको ब्यवस्था गरिरहेको छ। भारतबाट वनबासासम्म भारत सरकारले बसमा ल्याउने गरे पनि त्यहाँ देखि भने गड्डा चौकिसम्म हिडनुपर्ने बाध्यता छ। दैनिक ३ हजारका दरले भारतबाट नेपाल आइरहेका छन् भने १५ सय भारतीय नेपालबाट आफ्नो देश फर्किरहेका छन्। विगत १५ दिनयता मात्रै ४५ हजार भन्दा बढी नेपाली गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

अहिले प्रशासनलाई आएका मानिसको ब्यवस्थापन गर्नै चुनौति छ।

'मान्छेहरु अनुशासित छैनन्। पानीका बोतल पनि जथाभावी फाल्छन्। त्यसले पनि संक्रमणको जोखिम बढछ। कसरी काम गर्ने हजारौं मानिसहरु एकै पटक आउँछन्?,' उनले भने। सीमा क्षेत्रमा कोरोनाको महामारी फैलिनसक्ने स्थानीयमा त्रास रहेको खतिवडाको भनाई छ। अहिले धमाधम भारतबाट नेपाली आउँदा र नाकामा परीक्षणको ब्यवस्था नहुँदा जोखिम बढेको उनले बताए। भारतबाट आएकालाई स्थानीय प्रशासनले विभिन्न संघ संस्थाको पहलमा खानाको ब्यवस्था गरेको भए पनि मंगलवारखि भने खानको ब्यवस्था गर्न नसकिने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्याएले बताए।

'यसअघि नेपालीहरु सीमामा अलपत्र परेका थिए। हामीहरुले खानाको ब्यवस्था गर्‍यौं। अब आउनेहरु सीमामा अलपत्र परेका होइनन्। त्यसैले खाना खुवाउन सकिँदैन। तर धेरैदिन बस्नुपर्नेका लागि लागि भने पहल गर्छौं,' उनले भने।

सीमानामै जाँच्न किट छैन

गड्डाचौकी नाका बिहान ४ घण्टा नेपालीका लागि खुला हुने भए पनि कैलालीको धनगढीस्थित श्रीनगर नाका २ घण्टामात्र खुल्छ। भारतबाट १० देखि १२ बजेभित्र हजारौं नेपाली नेपाल प्रवेश गर्छन् त्यहाँबाट। जेठ २ यता सरदर दैनिक ३५ सयका दरले नेपाली भारतबाट फर्किरहेका छन्। सुरु सुरुमा आरडीटी परीक्षण गर्ने गरिएको भए पनि अहिले किटको अभाव छ। त्यसैले ज्वरो जाँच्नुबाहेक अरु सावधानी अपनाइएको छैन। स्वास्थ्य उपकरणको अभाव भएकाले ज्वरो नाप्ने बाहेकको काम गर्न नसकिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

'हामीले सुरुमा आरडीटी र आवश्यक परेकालाई पीसीआर पनि गरेका हौं। अहिले भारतबाट आउनेको संख्या बढ्यो तर यता किट छैन। त्यसैले हामीले ज्वरो नाप्नेबाहेकको काम गर्न सक्दैनौं,' उनले भने।

प्रदेश र स्थानीय सरकारको पहलमा भारतबाट आएकालाई गाउँसम्म जाने बसको ब्यवस्था गरिएको छ। तर, भाडा भने उनीहरु आफैले तिर्नेगरी ब्यवस्था मिलाइएको जोशीले बताए। भारतबाट आएकालाई एक छाक खाना र पानीको ब्यवस्था भने विभिन्न संघ संस्थाको पहलमा गरिरहेको जोशीले जानकारी दिए। सोमवार बिहान २७ सय नेपाली भारतबाट श्रीनगर नाका हुँदै नेपाल फर्किएका छन्। चर्को गर्मीमा भारतबाट आउनेले धेरै सास्ती पाइरहेको भए पनि श्रोत नहुँदा उनीहरुलाई सहयोग गर्न नसकिएको उनको भनाई छ।

'म त अहिले पनि सीमा क्षेत्रमा नेपालीलाई घर कसरी पठाँउने भनेर ब्यवस्थापन गर्न आएको छुँ। हामीसँग स्रोत साधन छैन। जे छ, त्यसैले अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्ने हो,' उनले भने। भारतबाट नेपालीलाई ल्याउन थालेको १७ दिन भइसके पनि अझै आउनेको संख्या नघटेको जोशीको भनाई छ।

'माक्स मात्रै दिन सकेको भए हुन्थ्यो'

'हुलका हुल मानिसहरु आउँछन्। २४ सै घण्टा आउनको संख्या उस्तै छ। हामीले के गर्न सक्छौं र? एउटा माक्स पनि दिन सकेका छैनौं। एउटा माक्स भए पनि दिन पाए हुन्थ्यो भन्ने हुन्छ,' केही दिन अघिमात्रै बाँकेका प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका रामबहादुर कुरुम्वाङको भनाई हो, यो। बाँकेको प्रशासन हाक्ने जिम्मा उनलाई छ। तर, उनलाई माक्ससमेत दिन नसेकेकोमा ग्लानी छ। सामान्य ज्वरो नाप्न समेत कठिन भइरहेको कुरुम्वाङले बताए।

भारतबाट आउनेको संख्या दैनिक बढिरहेकाले ब्यवस्थापन निक्कै चुनौती हुँदै गएको उनको भनाई छ। भारतका विभिन्न ठाँउबाट नेपालीहरु सीमानामा ओइरिन थालेपछि सरकारले गरिरहेको ब्यवस्थापनमा जटिलता पैदा भएको हो। रुपौडिया हुँदै नेपाल प्रवेश गर्नेमध्ये अधिकांश कर्णाली प्रदेशका छन्। कैलाली र कञ्चनपुरको नाकाबाट बिहानमात्रै आउन पाउने भए पनि नेपालगञ्जको नाकाबाट भने दिनभरी नै मानिसहरु आइरहेका छन्। १५ दिनमा ४० हजारभन्दा धेरै मानिस नेपालगञ्ज हुँदै घर फर्किएका छन्। यही नाकाबाट दैनिक चार/पाँच सय भारतीय आफ्नो देश गइरहेका छन्।

हिँडेर आउनेलाई अनिवार्य क्वारेन्टाइन

भारतसँग सीमा जोडिएका अरु जिल्लामा भन्दा चितवनमा अलि फरकखाले समस्या छ। भारतबाट हजारौं नेपाली त आइरहेकै छ्न्। यसका साथै विभिन्न जिल्ला हुँदै चितवन भएर हिँड्दै घर जानेको संख्या पनि उत्तिकै छ। हिँडेर घर जान खोज्नेको यकिन तथ्यांक प्रशासनसँग छैन। यसरी हिँडेर घर जान खोज्नेलाई पछिल्लो समय स्थानीय प्रशासनले अनिवार्य क्वारेन्टाइन राख्न थालेको छ। संक्रमित नदेखिएका र क्वारेन्टाइनमा बसेकालाई भने घर जाने ब्यवस्था गरिदिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

'संक्रमित नदेखिएका जिल्लाका र धेरै समय क्वारेन्टाइनमा बसेका बाहेक, चितवन आउने जोसुकैलाई पनि अनिवार्य क्वारेन्टाइन राख्ने गरेका छौं,' उनले भने।

चितवनमा क्वारेन्टाइनको अभाव नभएको उनको भनाई छ। भारतबाट आउनेको चितवनमा खासै समस्या नभएको शर्माको भनाईँ छ। भारतबाट आउनेलाई स्थानीय र प्रदेश सरकारले सिधै आफ्नो स्थानीय तहसम्म जाने ब्यवस्था गरेकाले समस्या नभएको हो। अरु देशबाट आउनेका लागि समेत चितवनले ब्यवस्थापन गर्न लागेको उनको भनाई छ। क्वारेन्टाइनमा बसेका सबैको कम्तिमा आरडीटी परीक्षण गरिने शर्माले जानकारी दिए। आरडीटीमा नतिजा पोजेटिभ आए पीसीआर गर्ने गरिएको छ।

काकडभिट्टा नाकाबाट आउनेको संख्या कम

झापाको काकडभिट्टाबाट आउनेको संख्या अरु जिल्लाको जस्तो धेरै नभएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। उनका अनुसार केही दिन अघिसम्म दैनिक चार/पाँच सयको हाराहारीमा भारतबाट नेपाली आउने भए पनि अहिले एक डेढ सयको हाराहारीमा मात्रै आइरहेका छन्। सोमवार ८२ जना ककडभिट्टाबाट नेपाल आएका छन्।

'आज दोलखाका ८२ जना आएका हुन्। उनीहरुलाई हामीले घर पुर्‍याउने ब्यवस्था गरेका छौं। अहिले भारतबाट आउनको संख्या घटिरहेको छ,' उनले भने।

भारतबाट नेपाल आउनेको अनिवार्य आरडीटी गर्ने गरिएको छ। झापामा भारतबाट आएकालाई केही समयका लागि होल्डिङ एरियामा राख्ने गरिएको राईले बताए। दुई हप्ताको अवधिमा भारतबाट २३ सय नेपाली फर्किएका छन्। उनीहरुमध्ये अधिकांशको आरडीटी गरिएको थियो। क्वारेन्टाइनमा पनि अरु ठाउँका सीमा क्षेत्रको जस्तो घुइचो नभएको राईले बताए। झापा बाहेकका भारतबाट आएका नेपालीलाई स्थानीय तहको समन्वयमा उनीहरुको आफ्नै स्थानीय तहमा पठाउने गरिएको छ। भारतबाट आउने नेपालीको संख्या घटेसँगै झापा प्रशासनले भने केही राहतको सास फेरेको छ।

वीरगंज नाकाबाट आउने घट्दो क्रममा

पर्सामा जेठ १४ गतेपछि मात्रै भारतमा गएका नेपालीलाई आउन दिइएको थियो। जिल्ला प्रशासन कार्यालयले अहिले सम्म ७ सय जना मात्रै आधिकारीक रुपमा नेपाल आएको बताएको छ। सहायका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पछिल्ला दिनमा भारतबाट आउनेको संख्या घट्दै गएको बताए। उनले भारतमा काम गर्न गएका नेपालीलाई सीमा क्षेत्रसम्म भारतीय प्रशासनले ल्याउने ब्यवस्था गरेको र त्यहाँबाट आएकालाई होल्डिङ एरियामा राख्ने ब्यवस्था गरेको जानकारी दिए।

'१४ गते यता हरेक दिन आउनेको संख्या घटिरेहको छ। त्यसैले अहिले त्यति धेरै मानिसहरु भारतबाट आइरहेका छैनन्,' उनले भने।

लकडाउनको सुरुवातमा भारतबाट अवैध बाटो हुदै आउँदा संक्रमणको जोखिम बढे पनि अहिले आउनेलाई स्थानीय तहले क्वारेण्टाइनमा राख्ने ब्यवस्था गरेकाले जोखिम कम भएको उनको भनाई छ।

अहिले भारतबाट आउनको आरडीटी गर्न किटको अभाव भएको र तापक्रम मात्रै नापेर नेपाल ल्याउन थालिएको बस्नेतले जानकारी दिए।

त्यसो त तराईका ८ जिल्लामा धेरै ठाउँ छ जहाँ प्रशासनको नजर नै पर्दैन र सहजै भारतबाट नेपाल छिर्न सकिन्छ। औपचारिक मार्गबाट आउँदा भोग्नुपर्ने सास्तीका कारण मानिसहरु चोरबाटो नै नेपाल छिरिरहेका छन्।

लुकिछिपी धेरै, बैध बाटो आउने कम

मोरङको रानी नाकाबाट १३ गतेदेखि स्थानीय प्रशासनले भारतमा रहेका नेपालीलाई ल्याउन थाल्यो। त्यसयता बैध बाटो हुँदै ११ सय जना भारतबाट नेपाल आएका छन्। दैनिक एक डेढ सयको हाराहारीमा रानी नाकाबाट नेपाली भित्रिरहेका छन्। ९ सय १४ जना भारतीय नागरिक जेठ १४ देखि सोमबार सम्म रानी नाकाबाट आफ्नो देश गएका छन्। रानी नाकाबाट आउने नेपालीलाई सिधै होल्डिङ एरियामा जिल्ला प्रशासन कार्यालयले ल्याउने गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

भारतबाट पहिला लुकिछिपी धेरै मान्छे आएको भए पनि अहिले वैध बाटो हुँदै आउनेको संख्या त्यति धेरै नभएको भुजेलको भनाई छ। 'लुकिछिपी नै धेरै मान्छे आएका थिए। अहिले हामीले ल्याउन थालेपछि दैनिक आउनेको संख्या घटदो क्रममा छ,' उनले भने। छिमेकी जिल्लामा आफैले बसको ब्यवस्था गरेर पठाउने गरेको भए पनि टाढाका मानिसलाई भने स्थानीय सरकारले लिन मोरङमा आउने गरेको भुजेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell