PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मनुष्य, महामारी र मास्क : वेइमान शासकका लागि मौका



पहिलोपोस्ट

मनुष्य, महामारी र मास्क : वेइमान शासकका लागि मौका

  • जयराम आचार्य -

पृथ्वीमा मानिस जस्तो देखिने जीव होमिनिड्स आजभन्दा करिब ४० लाख वर्ष अगाडि देखापरेका थिए। सानो दिमाग भएको, लामा हात र छोटा खुट्टा भएको, करिब १.५ मिटर अग्लो अस्ट्रालोपाइथेसिन्स; दुई खुट्टा टेकेर सिधा उभिन सक्ने, चिम्पान्जी जस्तै लुसी; रुखमा झुण्डिएर यताउता गर्न सक्ने इजिप्टोपिथेकपछि मानिसका पूर्वरुप ढुङ्गे युगमा प्रवेश गरेका हुन्। इजिप्टोपिथेक आजभन्दा ३५ लाख वर्ष अगाडि देखापरेको थियो। मानिसका रुपहरु होमोहाविलिस आजभन्दा २५ लाख वर्ष अगाडि, होमोइरेक्टर १८ लाख वर्ष अगाडि, होमोसापियन्स सात लाख २५ हजार वर्ष अगाडि, नियन्डरथल दुई लाख वर्ष अगाडि, होमो सपियन्स सपियन्स ३० देखि ३५ हजार वर्ष अगाडि देखापरेको थियो। यो नै आधुनिक मानवसँग मिल्ने पूर्वरुप हो।

मनुष्य ७० हजार वर्षदेखि असंख्य महामरी झेल्दै आजसम्म आइपुगेको छ। मनुष्यले पाँच हजार वर्ष पहिला चीनमा बिफरसँग लड्नु परेको थियो। इसापूर्व ४३० मा 'प्लेग इन एथेन्स'ले एक लाख मानिसको मृत्यु भएको थियो। सन् १६५ मा रोममा प्लेग देखापरेको थियो। सन् २५० देखि २७५ सम्म मनुष्यले साइप्रियन प्लेगसँग लड्नु परेको थियो। बाइजेन्टाइन साम्राज्यमा पनि प्लेगले १० प्रतिशत मानिसको मृत्यु गराएको थियो। युरोपको आधा जनसंख्याले यार्सिनिया पेन्टिज भाइरसबाट सन् १३४७ देखि १३५३ को बीचमा मर्नु परेको थियो। ९० प्रतिशत अमेरिकन आदिवासीहरु पनि प्लेगका कारण सन् १५४५ देखि १५४८ को बीचमा मर्नुपरेको थियो।

सन् १६६५, सन् १७२०, सन् १७७०, सन् १७९३,सन् १८५२, सन् १८८९, का महामारीहरुलगायत सन् १९१८ को स्पेनिस फ्लु, सन् १९५७ को एसियन फ्लु, सन् १९६८ हङकङ फ्लु, सन् १९८१ को एड्स, सन् २००२ को सार्स सन् २००९ को स्वाइन फ्लु र अहिलेको कोरोना भाइरस मानव जातिले भोगेका मुख्य मुख्य महामारी हुन्। यस्ता महामारीबाट विगत १० हजार वर्षमा करिव ७५ करोड मानिसको मृत्यु भएको तथ्य पाइन्छ।

मानिस १२ हजार वर्ष पहिला कृषि युगमा प्रवेश गरेको हो। यसको प्रारम्भ इरान, टर्कीबाट भएको भन्ने मत छ। यो समयमा मानिसको सामूहिक बसाई थियो। कृषि युगमा प्रवेश गरेपछि मानिसले जंगली वनस्पती र जनावरहरुका नश्लहरुलाई घरेलु बनाउन सुरु गरे। ११ हजार वर्ष पहिला मानिसले बाख्रा, गहुँको जंगली नश्ललाई घरेलु बनाए। ६ हजार वर्ष पहिला मानिसले घोडाको जंगली नश्ललाई घरेलु बनाए। मानिसले क्यानिडा वंशको कुकुरका कैयौँ पृथक जातिहरुलाई घरेलु बनाएको छ। मानिसले जंगली भारतीय कुखुरा ग्यालस व्यांकीभालाई घरेलु बनाएको छ। अंग्रेजी कुखुराहरुको नश्ल यही हो।

यही क्रम लामो समय चल्यो। जसका कारण मानिस जंगली नश्लको असरहरु भोग्न बाध्य भयो। जब मानिस उन्नत हुँदै गयो उसले जंगली नश्ललाई घरेलुकरण मात्र गरेन। उसले कारखाना प्रणालीसँग प्राकृतिक स्रोतहरुलाई पनि जोड्यो। जसका कारण पारिस्थितिक प्रणालीमा व्यापक लोच पर्न गयो। त्यसैले यी वनस्पति र जनावरहरु महामारीको कारक बनेका छन्। चमेरोबाट इबोलाको उत्पत्ति हुनु, चिम्पान्जीबाट एचआर्ईभी (एड्स) को उत्पत्ति हुनु, संगुर र चराबाट इन्फ्लुएन्जाको उत्पत्ति हुनु तथा सार्स र कोरोना सालक र चमेरोबाट उत्पति हुनुलाई प्रकृतिले मानिससँग प्रतिशोध गर्न सुरु गरेको भनी बुझ्नु पर्ने भएको छ।

मानिसको मानसिक विकासका लागि जंगली युगमा जनावरहरुसँग गर्नु परेको संघर्ष पनि जिम्मेवार छ। मानिसले महामारीबाट बच्न अंगुरलाई औषधिको रुपमा विकास गरेका पाइन्छ। इरान, जर्जिया, लेवनानमा यो सात हजार वर्ष पहिला नै पत्ता लागेको हो भने ग्रिसमा ६५ साय वर्ष अगाडि पत्ता लागेको हो। मृत्युलाई न्युनीकरण गर्न आज प्रयोगमा आएको क्वारेन्टाइनको अवधारणा १४ औँ शताव्दीबाट सुरु भएको हो। मार्सेलेसमा सन् १७२० मा मुसाको कारण आएको बुबेनिक प्लेगबाट बच्न मृत शरीरको व्यवस्थापक ग्रेभडिगरले गन्धबाट बच्न कपडाले नाक र मुख छोप्न सुरु गरेपछि मास्कको प्रयोग सुरु भएको हो।

सन् १८७० मा व्याक्टेरिया भाइरसको बारेमा पत्ता लागेपछि माइक्रोबायोलोजी विकास भयो। डाक्टर र विरामीबीच कुराकानीका समय इन्फेक्सन नहोस् भन्ने उद्देश्यले सन् १८९७ देखि सर्जिकल मास्कको सुरुवात भएको हो। सन् १९१० मा उत्तरी चीनको मन्चुरीयामा आएको प्लेगको मृत्युदर १०० प्रतिशत नै थियो। डा. ली तेह हुँले मृत शरीरको पोस्टमाटम गर्ने क्रममा प्लेग हावाबाट उत्पति भई सरेको पत्ता लगाए। यसबाट हावालाई फिल्टर गर्ने मास्कको आवश्यकता भयो। सन् १९७० मा एकल प्रयोग रेस्पिरेटर मास्क बनेको हो। नन आयल बेस्ड पार्टिकल अर्थात् चिल्लोपना नभएका लगभग ९५ प्रतिशत हावाबाट प्रसार हुने किटाणु रोक्ने भएकाले यसलाई एन–९५ भनिएको हो। यो मास्कले ०.३ न्यानोमिटरसम्मको मसिना कण र भाइरसलाई रोक्न सक्छ।

कोरोना भाइरसका कारण विश्वमा तीन लाख ६९ हजार ८५ र नेपालमा ६ जनाको मृत्यु भइसकेको छ। सानो संख्याको परीक्षण, गुणस्तरविहीन क्वारेन्टाइन कक्ष, अपर्याप्त आइसोलेसन कक्षका कारण कोभिड–१९ विरुद्धको नेपाली प्रयास खुकुलो लकडाउनमा नै सीमित छ। दूर ग्रामीण बस्तीहरुमा साबुनकै अभाव छ, यहाँ सेनिटाइजर, पञ्जा र रेस्पिरेटरी मास्क पुग्न सकेको छैन। तर, सरकार शहरमात्र देश सोची बसेको छ। विश्वमा वार्षिक ९० लाख मानिस भोकले, ७० लाख दीर्घ रोगले, ३५ लाख दुषित् पानीले, आठ लाख आत्महत्याले ९० हजार मानिस प्राकृतिक प्रकोपबाट मर्ने तथ्याङ्क बेच्न उद्धत विश्व नेताहरुको प्रभाव नेपाली नेताहरुमा देखिनु दुर्भाग्यपूर्ण छ। सायद्, सामान्य इन्फ्लुएन्जाभन्दा १० गुणाले खतरनाक देखिएको कोरोना भाइरस विरुद्ध ६ महिनाको अवधिमा औषधि विज्ञानको विकास हुन नसक्नुमा सामाजिक सुरक्षा भत्ताको लोभले काम गरेको छ।

विगतमा सभ्यताहरु नष्ट भएका छन् तर मानव जाति नै नष्ट भएको छैन। जलवायु परिवर्तन, न्यूक्लियर युद्ध, आतंकवादी आक्रमण, बढ्दो जनसंख्या र कृतिम बौद्धिकताका कारण पृथ्वीबाट मानव जाति नष्ट हुन सक्ने अनुसन्धान छ। यी कारणहरुका लागि सात सय वर्षको पूँजीवाद जिम्मेवार छ। वर्तमान महामरीले खतराको घण्टी बजाएको भए पनि समाजवादीहरुको कमजोर अवस्थाले पूँजीवादी र दक्षिणपन्थीहरुको नै निरन्तरता हुनेछ। विश्वकादेखि स्थानीय नेताहरुको तयारी हेर्दा यस्ता महामरी बेइमान शासकहरुका लागि मौका सावित भएको छ। यसको पहिलो कुरुप दृश्य रेस्पिरेटर मास्क किन्न लाइन बसेका वृद्ध बा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell