
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सीमा समस्याको समाधानका लागि भारतलाई छिटोभन्दा छिटो कुटनीतिक संवादमा आउन अपिल गरेका छन्।
मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भारतले मिचेको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषयमा कुटनीतिक संवादमा आउन आग्रह गरेका हुन्।
उनले नेपाल मिचिएको भूभाग कुटनीतिक संवाद मार्फत नै फिर्ता गर्न तयार रहेको बताए। भूमिका विषयमा कसैलाई पनि आवेग र आक्रोशमा नआउन पनि आग्रह गरे। श्रेष्ठले नक्सा जारी भएको भन्दै अहिले आरोप प्रत्यारोपमा लाग्ने बेला नभएको बताए।
नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले नेपाल- भारतबीच ४ समस्या रहेको बताए। उनले सीमा समस्या, इतिहासमा गरिएका असमान सन्धी सम्झौता, आन्तरिक मामिलामा हस्तक्षेप, आर्थिक क्षेत्रमा उत्पीडन समस्यामा रहेको बताए।
श्रेष्ठले भारतले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको बताउँदै त्यसो नगर्न पनि आग्रह गरे।
'आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेको छ। हामी चाहन्छौं कि अब उपरात्न नहोस्। उनले नेपाली भारतको विरोधी हुन नसक्ने दावी गरे। सरकार, राजनीतिक पार्टी भारत र भारतका जनताको विरोधी नभएको उनले स्पष्ट पारे।
राष्ट्रिय स्वाधिनताको पक्षमा सधै उभिन तयार रहेको उनको भनाइ थियो। दुवै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्ने पक्षमा आफू रहेको उनले बताए।