PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

'विपक्षीलाई समेत आदर गर्न सिकाउने खेल क्षेत्रलाई बजेट छुट्याउँदा सरकारले किन महत्व दिँदैन?'



पहिलोपोस्ट

'विपक्षीलाई समेत आदर गर्न सिकाउने खेल क्षेत्रलाई बजेट छुट्याउँदा सरकारले किन महत्व दिँदैन?'
तस्बिर : दीपक बिस्टको फेसबुकबाट

काठमाडौं: ओलम्पियन तथा तेक्वान्दोका प्रशिक्षक दीपक बिस्टले सरकारले बजेट छुट्याउँदा खेल क्षेत्रलाई महत्व नदिएको भन्दै असन्तुष्टी पोखेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिष्टले खेलकुदको सकारात्मक पक्षहरुलाई उल्लेख गर्दै खेलकुदमा गरिएको लगानी खेर नजाने उल्लेख गरेका छन्।

'राष्ट्रिय गौरव बढाउने, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउन मद्दत गर्ने, अनुशासित बनाउने, स्वस्थ र हरेक रोग संग लडन सक्षम बनाउने, जिम्मेवार नागरिक तयार पार्ने, जात-जातिय सद्भाव एकता गर्ने, विपक्षीलाई समेत आदर गर्ने सिकाउने एकमात्र यो खेल क्षेत्रलाई सरकारले बजेट छुट्टाउँदा सवालमा भने किन महत्व दिदैन?' प्रशिक्षक बिष्टले प्रश्न गरेका छन्।

उनले दक्षिण एसियाली खेलकुदमा नेपालले हातपारेको उपलब्धिको उदाहरण दिँदै सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने सुझाएका छन्।

'खेलकुदमा गरिएको लगानी खेर जाँदैन भन्ने थुप्रै उदाहरणहरू हामीसँग छन्,' उनले लेखेका छन्, 'गत वर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको सफलतालाई हेर्दा पुग्छ।'

त्यस्तै बिष्टले खेल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

'सरकारले खेलकुदलाई सैद्धान्तिक रुपमा मात्र होइन बजेटमा पनि प्राथमिकता राखोस् भन्ने आग्रह गर्न चाहन्छु,' उनले लेखेका छन्, 'खेल खेलाडीको लागी मात्रै होइन, खेल सबैका लागी हो। खेल संस्कृतिको आवश्यकता छ।'

सरकारले यसपटक खेलकुदमा बजेट घटाएको थियो। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९९ करोडको खेलकुद बजेट यो आर्थिक वर्षमा आएर २ अर्ब ३६ करोडमा सीमित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell