PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोना विशेष नारायणी अस्पतालमा ओपिडी शुरु



राधेश्याम पटेल

कोरोना विशेष नारायणी अस्पतालमा ओपिडी शुरु

वीरगंज : नारायणी अस्पताल वीरगंज कोभिड १९ विशेष अस्पतालबाट पुनः जनरल अस्पतालको रुपमा परिणत भएको छ। करिब पौने दुई महिना पश्चात नारायणी जनरल अस्पतालको रुपमा पुनः सेवा प्रारम्भ गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनताको चाहना एवं केन्द्र सरकार मातहतको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको निर्देशन अनुसार नारायणी अस्पतालका सबै संक्रमित डिस्चार्ज भएपछि अस्पतालको सबै भागलाई डिस्इन्फेक्सन गरी सेवा शुरु गरिएको जानकारी दिए।

वैशाख २ देखि बन्द गरिएको मिर्गौला रोगीहरुको डायालासिस सेवा जेठ १८ गतेदेखि शुरु भएको थियो भने आज मंगलवारदेखि आकास्मिक एवं सबै विभागको ओपिडी सेवा पनि शुरु गरिएको उनले बताए।

‘हामीले दुई दिनदेखि डायलासिस सेवा प्रारम्भ गरिसकेका छौं, ३२ जना मिर्गौला पीडितमध्ये १२ जनाको डायलासिस भनी भइसकेको र मंगलवार पनि ६ जनाको डायलासिस भइरहेको छ,’ उनले भने, ‘त्यसपछि अस्पतालले नन कोभिड रोगीहरुको उपचारको लागि सबै विभागमा २५/२५ जनाको दरले टिकट काटेर ओपीडी पनि शुरु गरेको छ।’

अस्पतालले उच्च सतर्कता अपनाई समाजिक दुरी कायम गरी ओपिडीमा स्वास्थ्य परीक्षणको सेवा प्रारम्भ गरेको हो।

आकास्मिक सेवासंगै, हाडजोर्नी, छाला, नाक कान घाँटी, दन्त, फिजियोथेरापी, कार्डियक, पेट, छाती, गाइनेलगायत विभागको ओापिडी सञ्चालनमा आएको अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराए। उनले ओपिडीमा सफल भएपछि शल्यक्र्रिया र भर्ना पनि लिने लक्ष्य रहेको जनाइएको छ।

दरबन्दीमा १९९ जना, अस्पताल विकास समितिबाट १७७ जना कर्मचारी रहेको नारायणी अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीमध्ये १ तिहाई स्वास्थ्यकर्मी गण्डक अस्थायी कोभिड १९ विशेष अस्पताल र पीसीआर ल्याबमा खटिने भएकोले अस्पतालमा भीडभाड नगरी सेवा शुरु गरिएको र यो क्रमिक रुपमा सुधार हुँदै जाने बताइएको छ।

चैत २८ गते वीरगंजमा पहिलो चोटी ३ जना भारतीयमा संक्रमित भेटिएपछि बिना तयारी सरकारी अस्पताल भनेर नारायणीलाई कोभिड अस्पताल बनाई संक्रमितको उपचार शुरु भएपछि अस्पतालको जनरल सेवा अवरुद्ध भएको थियो।

नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुरलगायत ५ जिल्लाका दैनिक ८ सय जना ओपिडीमा स्वास्थ्य चेकजाँच गराउँदै आएका छन् भने दैनिक सय जना भर्ना हुने गरेका थिए।

जनरल सेवाको उपचार नपाउँदा पर्सा, बारा, रौतहटका विरामीको अन्य रोगले मृत्यु पनि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell