
कैलाली : सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ७३ पुगेको छ। आज एकैदिन २७ जनामा कोरोना पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ७३ पुगेको हो।
सुर्खेतमा गरिएको परीक्षणमा अछामका ९ जना र कैलालीको धनगढीमा गरिएको परीक्षणमा कैलाली–कञ्चनपुरका १८ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यस अघि आज विहानै सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको थियो। अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।
सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। एक जना संक्रमितको मृत्यु भइसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन्।