
कैलाली : डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। शिखर नगरपालिका वडा नम्बर ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि आक्रमण भएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।
आक्रमणमा गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई डडेलधुरा अस्पताल पठाइएको थियो। तर, डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ। कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ।
शिखर नगरपालिका वडा नम्बर ७ लाटामाडौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी पैदल जादै गरेका कुँवरमाथि तीन जनाले आक्रमण गरेका थिए। सोमवार साँझ ७ बजे शिखर नगरपालिका ७ को बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेका कुँवरलाई गाउँको बाटो हिँड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गालीगलौच गर्दै एक्कासी ढुंगामुढा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
आक्रमण गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा शिखर नगरपालिका ७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई तिलताली प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ।