PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सांसद विकास कोष खारेज गर्न शेखर कोइरालाको माग, ‘मन्त्रालय पनि १६ वटा मात्र राख्नुपर्छ’



अनन्तराज न्यौपाने

सांसद विकास कोष खारेज गर्न शेखर कोइरालाको माग, ‘मन्त्रालय पनि १६ वटा मात्र राख्नुपर्छ’

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सांसद विकास कोष राख्न नहुने धारणा प्रकट गरेका छन्। कांग्रेसको प्रदेश नम्बर १ को संसदीय दलले गरेको प्रादेशिक बजेट परामर्श कार्यक्रममा केन्द्रीय सदस्य डाक्टर कोइरालाले सांसद विकास कोष राख्न नहुने बताएका हुन्।

‘म त भन्छु, सांसद् विकास कोष राख्नै हुँदैन’, उनले भने, ‘राख्नैपर्छ भने १-२ वर्षपछि राखौँला। अहिले त हटाउनै पर्छ। अन्य क्षेत्रमा पनि निर्मम ढंगले मितव्ययिता अपनाउनु पर्छ। मन्त्रालय पनि १६ वटा मात्र राख्नुपर्छ। ४५ हजार कर्मचारी भए पुग्छ भन्ने त सरकारी रिपोर्ट नै छ।’

उनले प्रदेश सरकारले कोभिड-१९ को नियन्त्रणका लागि धेरै बजेट छुट्याउनु पर्ने बताए।

कोइरालाले भने, ‘संघीय सरकारले छुट्याएको बजेटले मात्र पुग्दैन। नागरिकको ज्यान सबैभन्दा ठूलो कुरा हो।’

अर्का केन्द्रीय सदस्य अमृत अर्यालले कोभिड-१९ का कारण सर्वसाधारणको भएको रोजगारी समेत गुमेको चर्चा गर्दै सरकारसित नयाँ रोजगारी सिर्जना गर्ने र पुरानो रोजगारी ब्यूँताउने २ मुख्य चुनौती रहेको स्पष्ट पारे।

अर्का केन्द्रीय सदस्य पवनकुमार शारडाले संघीय सरकारका यसअघिका २ वटा बजेट असफल भइसकेको र नयाँ बजेट पनि सफलतातिर उन्मुख नभएको टिप्पणी गरे।

केन्द्रीय सदस्य शारडाले बजेटमा धनीले खाने विदेशी महँगा चकलेटको भन्सार महसुल घटाएर सर्वसाधारणले खाने गहुँको महसुल बढाउने सरकारलाई कसरी जनतामुखी भन्न सकिन्छ भन्दै आक्रोश व्यक्त गरे।

शिक्षाविद् प्राध्यापक कविराज न्यौपानेले संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई पर्याप्त अधिकार र साधन स्रोत नदिएको आरोप लगाए। शिक्षाविद् न्यौपानेले स्कुल–स्कुलमा स्यानिटरी प्याडसमेत आफैँ बाँड्न खोजेर संघीय सरकारले संघीयता र स्थानीय सुशासनको खिल्ली उडाएको बताए।

अर्थशास्त्री प्राडा भेषप्रसाद धमलाले प्रदेश नम्बर १ मा मात्र वैदेशिक रोजगारीबाट ५ लाख युवा फर्किरहेको उल्लेख गर्दै तिनलाई सम्बोधन गर्ने बजेट आएन भने स्थिति भयावह हुने चेतावनी दिए।

अर्थशास्त्री डा धमलाको प्रश्न छ, ‘ति भोकै नाङ्गै भएर सडकमा उत्रिए भने के हुन्छ? अथवा कुनै राजनीतिक दलले तिनलाई दुरुपयोग गर्‍यो भने के हुन्छ?’

उनले अहिलेको विश्व दोस्रो विश्व युद्धपछिको संसारजस्तै भएको र क्षतविक्षत भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने बजेट चाहिएको विचार व्यक्त गरे। उनले सर्वसाधारण जनताले राहत र उद्योगी–व्यवसायीले सहुलियत पाउने तथा स्वास्थ्य क्षेत्रको विकासमा समर्पित भएको बजेट ल्याउन सुझाव दिए।

अबको बजेटले देशभरि कृषि क्षेत्रको उत्पादन बढाउनुपर्ने र कृषि उद्यमको विकास गर्नुपर्ने उनले राय प्रकट गरे।

प्राध्यापक धमलाले भने, ‘अब कोरोना भनेर लुकेर बसेर हुँदैन। कोरोनासित जुद्धै जानु पर्छ। संक्रमित हुनेलाई राम्रो स्वास्थ्य दिनुपर्छ।’

अर्का अर्थशास्त्री प्राध्यापक बलराम पौडेलले अहिले नागरिकको जीवनको स्वास्थ्य र जीविकाको सुरक्षा गर्ने बजेट चाहिएकोे धारणा राखे।

‘अबको बजेट रोजगार केन्द्रित हुनुपर्छ’, प्राध्यापक पौडेलले भने, ‘गाउँगाउँमा युवाले कृषि पेशा छाडेर उनीहरू किन विदेशिए भन्ने विषयमा अनुसन्धान गरिनु पर्छ। र, कृषिमा पर्याप्त सहुलियत र अनुदान दिएर युवा जमातलाई आकर्षित गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell