PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १११ जनामा संक्रमण पुष्टि, ११ जिल्लामा पुग्यो संक्रमण



पहिलोपोस्ट

प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १११ जनामा संक्रमण पुष्टि, ११ जिल्लामा पुग्यो संक्रमण

काठमाडौं : प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १११ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर उमाशंकर प्रसाद चौधरीका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ७५३ पुगेको छ।

१२ जिल्ला रहेको प्रदेशमा ११ जिल्लामा संक्रमण पुष्टि भएको छ। मंगलवार मात्रै प्युठान जिल्लामा एक जनामा कोरोना पुष्टि भएको छ। मंगलवार पुष्टि भएकामध्ये सबैभन्दा बढी कपिलवस्तु जिल्लामा ४९ जना रहेका छन्। यहाँ संक्रमितको कुल संख्या ३६६ पुगेको छ।

 

बाँकेमा संक्रमितको संख्या २१३ पुगेको छ। मंगलवार मात्रै यहाँ १७ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै, रुपन्देहीमा मंगलवार २३ जना थप भएका छन्। यहाँ संक्रमितको संख्या ७६ पुगेको छ। मंगलवार दाङमा १७ जना संक्रमित थपिँदा त्यहाँ संक्रमितको संख्या ६२ पुगेको छ। त्यस्तै, बर्दियामा पनि मंगलवार ३ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या १३ पुगेको छ।

मंगलवार नै नवलपरासी बर्दघाट सूस्ता पश्चिममा एक जनामा संक्रमण पुष्टि भएको छ। यसरी त्यहाँ संक्रमितको संख्या ७ पुगेको छ।

प्रदेश ५ को गुल्मी र पाल्पामा पाँच/पाँच जना संक्रमित पुष्टि भइसकेका छन्। त्यस्तै, अर्घाखाँची र रुकुम पूर्वमा संक्रमितको संख्या तीन/ तीन छ। मंगलवार नै थपिएको प्युठानमा एक जनामा संक्रमण देखिएको छ।

प्रदेश ५ मा हालसम्म १६ हजार तीन सय ७ जनाको आरटी-पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएकोमा १२ हजार ६६ जनाको मात्र नतिजा प्राप्त भएको छ। अझै भैरहवाको प्रादेशिक प्रयोगशालामा एक हजार ७५, भेरी अस्पताल प्रयोगशालामा ५०७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजार ९९४ र टेकुमा ८२७ जनाको थ्रोट स्वाब परीक्षणकै क्रममा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ८ जना मध्ये प्रदेश ५ मा मात्र तीन जना रहेका छन्। बाँकेको नरैनापुरका एक जना, गुल्मी र अर्घाखाँचीमा एक/एक जनाको मृत्यु भइसकेको छ।

१२ जिल्ला मध्ये रोल्पामा मात्र संक्रमण पुष्टि भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell