PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

आफ्नै खल्तीबाट दिए झै गर्ने अर्थमन्त्रीको भाषण शैली : लोकतान्त्रिक बजेटको अलोकतान्त्रिक ढाँचा



पहिलोपोस्ट

आफ्नै खल्तीबाट दिए झै गर्ने अर्थमन्त्रीको भाषण शैली : लोकतान्त्रिक बजेटको अलोकतान्त्रिक ढाँचा

  • हंशराज जोशी -

हरेक वर्ष सरकारले गर्ने गरेको बजेट भाषण नछुटाई सुन्न थालेको करिब २ दशक भयो। यसमा पनि बजेटको कुराकानी अलि अलि बुझ्न थालेको त एक दशक यता मात्र होला। बजेटको प्राविधिक पक्षमा विश्लेषण गर्ने हैसियत राख्दिन। तर, लोकतन्त्र स्थापना पूर्व र पश्चातको बजेटको शैलीमा नआएको परिवर्तनको केही दृष्टान्त उजागर गर्ने प्रयास गर्नेछु। पञ्चायती ब्यवस्था हुँदै, राजतन्त्र र राजाको प्रत्यक्ष शासनकालमा अर्थ मन्त्रीहरुले “बजेट बिनियोजन गरेको छु” भन्ने चलन थियो। त्यो आजसम्म पनि यथावत रहनु लोकतन्त्रका लागि लाजमर्दो कुरा हो। बजेट ब्यक्तिले विनियोजन गर्ने नभई पद्धती र प्रणालीले बिनियोजन गर्छ भन्ने कुरा बुझ्न कति समय र कुन ब्यवस्था आउनुपर्ने होला?

विगत आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले “मेरो सरकार” भनेको विषयलाई लिएर सामाजिक संजालमा ब्यापक बिरोध भयो। केहीले यो चलिआएको परम्परा हो, विश्वव्यापी चलन हो भन्ने कुतर्क गर्दै जित्न खोजे। कहिलेकाहीँ लाग्छ, लोकतान्त्रित आन्दोलनबाट हुर्केको राजनीतिक कार्यकर्ता कसरी यतिबिधि चाटुकार र अन्धभक्त हुन सकेको होला? तिनैका अनुसार यदि चलिआएका सबै कुरा यथावत राख्ने भए राणा शासन, पञ्चायती व्यवस्था र राजा किन फालेको त भन्ने प्रश्नको जवाफ यी महानुभावहरु सँग छ कि छैन? यदि नयाँ र साझा व्यवस्था निर्माण गर्न यी सबै पुराना कुरा फालेको हो भन्ने जवाफमा सहमत हुनहुन्छ भने अझै धेरै चालचलन फाल्न बाँकी नै छन्। र, त्यसका निम्ति वैचारिक लडाई जारी राख्नु पर्छ भन्ने कुरामा सहमत हुनुस्। चाह्यो भने जति सुकै चलि आएको चलन तोड्न सकिने रहेछ भन्ने कुराको नतिजा यसपाली देख्न पाइयो। राष्ट्रपतिले “मेरो सरकार” भन्न छोडेर अन्य साझा शब्दावलीहरुको प्रयोग गर्नुभयो। यो सारै सराहनीय परिवर्तन हो। यो लोकतन्त्रको पक्षधर परिवर्तन हो। यो एउटा राम्रो शुरुवात हुँदाहुँदै अझै धेरै चलनहरु फेर्न बाँकी नै छन्। त्यसको एउटामात्र उदाहरणमा आज चर्चा गर्दैछु।

लोकतान्त्रिक समाजवाद स्थापनाको बाटोमा हिँड्नुलाई आफ्नो मूल राजनीतिक आदर्श मान्ने समूदायबाट प्रतिनिधित्व गर्ने सरकारका मन्त्रीले बजेट भाषण मार्फत् “बजेट बिनियोजन गरेको छु” भन्ने शब्दावलीहरु प्रयोग गरेर ब्यक्तिलाई केन्द्रमा राख्न सुहाउँदैन। यो अहिलेका अर्थ मन्त्रीले मात्र भनेको कुरा पनि होइन। आजसम्मका सबैले यही तरिकाले बजेट बक्तब्य दिँदै आएको हो। यस शब्दावलीका बिकल्पहरुका बारेमा सामाजिक संजाल मार्फत् अर्थ मन्त्रालय लगायतका निकायहरुलाई विगत केही वर्ष यता खबरदारी नगरिएको पनि हैन। मन्त्री तथा ठूला नेताहरुसँग आम सर्वसाधारणको पहुँचलाई सामाजिक संजालले सजिलो बनाइदिएको छ। यसका धेरैवटा राम्रा उदाहरण छन्। साथै कतिपय सन्दर्भमा उच्च तहका नेता र मन्त्रीहरुका आसेपासेहरुले उनीहरुको सामाजिक संजालको ब्यवस्थापन गरिदिएका कारण सम्बन्धित ब्यक्तिसम्म गुनासाहरु नपुग्ने गरेका पनि धेरै उदाहरण छन्। ती आसेपासेहरुले नेताहरु र मन्त्रीहरुको गुणगान गाएका र फूलमालाले स्वागत गरेका कुरामात्र आदानप्रदान गर्ने जिम्मा लिएको जस्तो देखिन्छ। आलोचनात्मक चेत भएको समुदायलाई या त राजनीतिक बिल्ला भिराउने वा त्यो बिचारलाई बिभिन्न अस्त्र प्रयोग गरी मथ्थर पार्ने रणनीति सत्तासिनहरुले जहिले पनि प्रयोग गर्ने गरेका छन्। अहिलेका अर्थ मन्त्री र अरु केही मन्त्रीहरुको हकमा पनि यो लागू हुन्छ। बिगत केही वर्षयता झै यो वर्ष पनि बजेट निर्माणको प्रक्रियामा यो कुरा सुनाउन खोजियो तर उनीसम्म यो कुरा पुग्यो कि पुगेन थाहा भएन। तर, उठाइएका विषयहरुमा केही प्रतिक्रिया नआएपछि यस्तै रणनीतिहरुले निस्तेज पारियो होला भन्ने अनुमान सजिलै लगाउन सकिन्छ। त्यसको फलस्वरुप यसपाली पनि अर्थ मन्त्रीले आफ्नो सर सम्पत्ति, जाय जेथा सबै बेचेर विभिन्न शिर्षकमा बजेट बिनियोजन गरिदिए जस्तै ढुक्कसँगले “मैले बजेट बिनियोजन गरेको छु” भन्न छोड्नु भएन।

डा. खतिवडालाई अर्थ मन्त्री नहुँदै धेरैपटक सुन्ने मौका पाएको छु। उहाँसँग धेरै वटा विषयहरुमा असीमित ज्ञान छ र तर सधैँ राज्यको उच्च ओहोदामा भएका कारण नागरिकसँगको सम्पर्क र भूइँमान्छेका पीडाको बोध चाहिँ अलि कम नै हो कि भन्ने लाग्छ।

संयुक्त राज्य अमेरिकाको सन २०१९ को १७० पृष्ठ लामो बजेटमा कहिँ कतै पनि बजेट बिनियोजन गरेको छु वा बजेट छुट्याएको छु जस्ता शब्दावलीहरु प्रयोग भएका छैनन्। यस बजेटको अधिकांश भागमा “बजेट प्रस्ताव गरिएको छ” भन्ने शब्दावली प्रयोग गरिएको छ। यसैगरी अस्ट्रेलिया सरकारको सन् २०१९ को अप्रिल २ मा अर्थ मन्त्री जोश फ्राइडेनवर्गले बजेट प्रस्तुत गर्दा “आइ अनाउन्स” (म उद्घोस गर्छु वा जानकारी गराउछु) भन्ने शैलीको प्रयोग गरेका छन्। दक्षिण अफ्रिकाका अर्थ मन्त्री तितो बोएनीले २० फेब्रुअरी २०१९ का दिन सार्वजनिक गरेको बजेटमा “इज एलोकेटेट”भन्ने शब्दावलीको प्रयोग गरेका छन् जसको शाब्दिक अर्थ नेपालीमा बिनियोजन गरिएको छ भन्ने हुन्छ। त्यसैगरी भूटान सरकारको मे २०१९ मा प्रस्तुत बजेटमा अर्थ मन्त्रीले “इज एलोकेटेड, इज प्रोभिजन्ड” जस्ता शब्दावलीहरु प्रयोग गरेको पाइन्छ जसको अर्थ नेपालीमा बिनियोजन गरिएको वा प्रस्ताव गरिएको भन्ने हुन्छ। उत्तर अमेरिक देश मोन्टसेचाटले १५ मे २०१९ मा सार्वजनिक गरेको बजेटमा “फन्डिङ हेज बिन सेक्युअर्ड”अर्थात् यो शिर्षकमा यति बजेट सुनिश्चित गरिएको छ भन्ने शब्दावली प्रयोग गरिएको छ। त्यसैगरी नेदरल्यान्ड (डच) सरकारको आर्थिक वर्ष २०१९ को बजेटमा “द गर्भनमेन्ट वील मेक इनभेस्टमेन्ट, द गर्भनमेन्ट हैज मेड एभिलेबल”जस्ता शब्दावलीहरु प्रयोग गरेको छ जसलाई नेपालीमा सरकारले यो विषयमा खर्च गर्ने छ वा सरकारले उपलब्ध गराएको छ भनेर बुझ्न सकिन्छ।

हामीहरुमा बेलाबेलामा पलाउने राष्ट्रवाद र भारतसँगको तुषबाहेक भारत हाम्रा लागि सबै कुरामा सिकाईको थलो हो। यसलाई बाहिर नदेखाए पनि यो ओम्नीप्रजेन्ट जस्तै हो जुन देख्नलाई देखिँदैन तर छ भन्ने पूरा विश्वास हुन्छ। सम्भवतः नेपालले बजेट निर्माण प्रक्रिया सिकेको भारतबाट नै हुनपर्दछ। तर, भारतले पनि यस विषयमा केही सुधारहरु गरिसकेको रहेछ। भारतको आ.व २०१९ को बजेटमा अर्थ मन्त्री निर्मला सीथारमनले कतै कतै मैलै र धेरै ठाउँमा हाम्रो सरकारले भन्ने शब्दावलीहरु प्रयोग गरेकी छिन्। अन्य देशको तुलनामा यो प्रगतिशील त छैन तर परिवर्तनहरु भएका चाहिँ छन्।

यसैगरी डेनमार्कका अर्थ मन्त्री निखोलाई वामेनले सन २०१९ को ८७ पेज लामो बजेटमा कहीँ कतै पनि “आई” जस्ता शब्द प्रयोग नगरी डेनिस गभरमेन्ट भनेर प्रयोग गरेका छन्। यसैगरी दक्षिण एसियाकै बंगलादेशको २०१९ को बजेटमा “एलोकेशन प्रपोज्ड, हैज बिन प्रपोज्ड, आई प्रपोज टु एलोकेट” जस्ता साझा शब्दहरु प्रयोग गरेको पाइन्छ। विभिन्न देशको बजेटको भाषा समीक्षा गर्दा थुप्रै देशका बजेट बक्तब्यहरु मध्ये हामी जस्तै सिंगापुरले सन् २०२०को बजेटमा “मेलै बिनियोजन गरेको छु” भन्ने भाषा प्रयोग गर्ने गरेको देखियो। यसरी हेर्दा अधिकांश विकसित र विकासोन्मुख राष्ट्रहरुले र भुटान जस्ता राजतन्त्रात्मक ब्यवस्था भएका देशहरुले पनि साझा र सरकार जनाउने शब्दावलीहरु प्रयोग गर्ने गरेको पाइन्छ। अब हामी कुन देशलाई आर्दश मान्छौ र कहाँबाट सिक्ने भन्ने कुराले हाम्रो ब्यवहारहरु निर्धारण गर्ने भयो। र, संगै हामी अरु भन्दा बढी प्रगतिशील कसरी ठहरिन्छौ भन्ने हेक्का राख्न सक्दा र सोही अनुशारको आचरण निर्माण गर्न सके हामीबाट अरुले पनि सिक्ने मौका प्राप्त गर्नेछन्।

“मैलै बजेट बिनियोजन गरेको छु” भन्ने कुरा असुहाउँदो छ भन्नलाई एउटा अर्को पनि उदाहरण दिउँ। कुनै छलफलका बेलामा यो शीर्षकमा यस आ.व मा यति बजेट बिनियोजन भएको छ भनेर छलफल चलाइन्छ। यदि त्यसलाई यो शीर्षकमा अर्थ मन्त्रीले यति बजेट बिनियोजन गर्नु भएको छ भनेर छलफल चलाइयो भने सुहाउला र? त्यसैले बजेट बिनियोजनको बेलामा पनि ‘बजेट बिनियोजन गरिएको छ’ भन्ने शब्दावली प्रयोग गरियो त्यसले पछि छलफल चलाउँदा हरेक शीर्षकमा यति बजेट बिनियोजित छ भन्नु सुल्टो बाटो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell