PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जनप्रतिनिधिकै प्रश्न : गलैचा किन्ने सरकारले किन देखेन कोरोनाको यो बेहाल?



सविन ढकाल

जनप्रतिनिधिकै प्रश्न : गलैचा किन्ने सरकारले किन देखेन कोरोनाको यो बेहाल?

काठमाडौं : मंगलवार झापामा ५ जना कोरोना संक्रमित थपिए। झापाको बुद्धशान्ति गाउँपालिकाको होल्डिङ् सेन्टरमा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण देखिएका पाँचै जना बुद्धशान्ति गाउँपालिकाका भने होइनन्।

उनीहरु ताप्लेजुङ्का ३ जना, पाँचथरका १ जना र विर्तामोडका १ जना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले जानकारी दिए। 'उहाँहरु हाम्रो गाउँपालिकाको कोही पनि होइन। सबै जनालाई होल्डिङ सेन्टरमा राखेर चेक गर्दा कोरोना देखिएको हो,' अध्यक्ष भुजेलले भने।

संक्रमण देखिएका पाँचै जना भारतबाट सुनौली नाका हुँदै आइपुगेका हुन्। बुद्धशान्ति गाउँपालिकाले अहिले होल्डिङ सेन्टर बनाएको छ। त्यहाँ अहिले १ सय २८ जना छन्। अब सबैको स्वाव संकलन गरेर परीक्षण गर्नुपर्ने भएको छ। उनीहरुको बस्ने खाने व्यवस्था सबै गाउँपालिकाको थाप्लोमा आएको छ। यसरी मानिस होल्डिङ सेन्टरमा थपिदै जादाँ आर्थिक भार परेको अध्यक्ष भुजेलको दावी छ।

'सबैलाई खुवाइनु पर्‍यो। राख्नु पर्‍यो। हाम्रो गाउँपालिकाको कोही छैन। तर, हामीले बेहोर्नु परेको छ। सरकारले केही हेर्दैन। कि सरकारलाई देशमा कोरोना फेलिएको थाहा छैन?,' अध्यक्ष भुजेलले दुखेसो पोखे।

होल्डिङ क्षेत्र बनाएर परीक्षण गरेर भोजपुर, ताप्लेजुङ् लगायतका जिल्लामा पठाउँदा त्यस जिल्लामा कोरोनाको संक्रमण फैलिने सम्भावना कम हुन्छ। तर, त्यसको व्यवस्थापन र आर्थिक भार भने अर्को जिल्लाका गाउँपालिकाले बेहोर्नु परेको हुन्छ। केन्द्रीय र प्रदेश सरकारले चासो नदेखाउँदा पालिकाहरु समस्यामा पर्ने गरेका छन्।

'लकडाउन मात्र गरेर सुरक्षित हुँदैन। व्यवस्थापन छैन। कि हामीले पनि फैलिए फैलिहोस् भनेर छोड्नु पर्‍यो। हामीले छोडे तेह्रथुम, ताप्लेजुङ पुगेर देखिए फेरि परीक्षण गर्न समस्या हुँदैन?, ' अध्यक्ष भुजेलले भने।

प्रदेश नम्बर एकमा कोरोनाको लागि पीसीआर परीक्षण गर्ने सुविधा धरान र विराटगरमा मात्र छ। विराटनगरको मेसिन बिग्रिएकाले चाप धरानमा परेको छ। झापामा संक्रमित थपिँदै गएपछि परीक्षण गर्ने मेसिन उपलब्ध गराउन सरकारले चासो नदेखाएको अध्यक्ष भुजेलको आरोप छ।

'सरकारलाई कोरोना भएको देखेको सुनेको छैन। करौडौंको गलैचा किन्न सक्छ। मेसिन किन्न सक्दैन? कि कसले किन्दिनु पर्ने हो?,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell