PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संक्रमितलाई अस्पतालले भर्ना गरेन, राखियो मन्दिरको हलमा



एम बम

संक्रमितलाई अस्पतालले भर्ना गरेन, राखियो मन्दिरको हलमा

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले उपचारका लागि पठाइएका कोरोना संक्रमितलाई भर्ना नलिएर फर्काइदिएको छ।

मंगलवार राती अस्पताल पुर्‍याइएका कैलालीको गौरीगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको मेयर भीमबहादुर देउवाले बताए। उनले भने, 'आइसोलेसन बेड खाली नभएको भन्दै अस्पतालले भर्ना लिन मानेन।’

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ। ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

मंगलवार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए।

सेती प्रादेशिक अस्पतालले भने शय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ। ‘अस्पतालमा २४ शय्याको आइसोलेसन छ। हामीकहाँ २५ जना बिरामी भइसके। त्यसैले थप ४ जनालाई राख्न नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने। उनले स्थानीय तहले अस्पतालसँग समन्वय नगरेर संक्रमितलाई ल्याएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell