PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गोरखपुरसम्म विमानमा, त्यसपछि सडकबाटै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला



पहिलोपोस्ट

गोरखपुरसम्म विमानमा, त्यसपछि सडकबाटै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

काठमाडौं : सरकारले लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेसँगै दिएको अभिव्यक्तिका कारण कलाकार मनिषा कोइराला चर्चामा छिन्। जीवनको लामो समय भारतीय कलाक्षेत्रमा बिताएकी मनिषाको अभिव्यक्तिले नेपालमा उनको वाहवाही बढ्यो भने भारतीय मिडियाले चर्को खेदो खने। त्यसैले पनि मनिषाको दिनचर्यामा सबैको चासो हुनु स्वभाविक हो।

सरकारले नयाँ नक्सा सार्वजनिक गरिरहँदा मनिषा कहाँ थिइन्, धेरैलाई थाहा हुने कुरै भएन। मंगलवार भने फेरि मनिषा नेपाल प्रवेश गरेको चर्चा चल्यो। नेपाल प्रवेश गर्नुको अर्थ हो, नक्सा जारी गरेपछि चर्चित ट्विट गर्दा उनी भारतमै थिइन्। त्यसपछि उनी यस अवधिमा भारतमा नै रहेको प्रष्ट भएको छ।

मंगलबार उनी रुपन्देहीको बेलहिया नाका हँदै नेपाल प्रवेश गरिन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोइराला नेपाल प्रवेश गरेको जानकारी आएको पुष्टि गरेका छन्। तर, उनी कहाँ बसिन्? कहाँ गइन् भन्ने खुलाउन सकेनन्।

मनिषा कोइराला दिल्लीबाट आमाबुबा सहित विमानमा गोरखपुर आएकी हुन्। त्यसपछि भारतीय नम्बर प्लेटको प्राइभेट कार लिएर रुपन्देहीको बेलहिया नाकामा आएकी हुन्। गोरखपुरबाट ९५ किलोमिटर दुरीमा छ बेलहिया नाका। उनी त्यहाँ आइपुग्दा दिउँसो ४ बजेको थियो। बेलहिया नाकामा खटिएका सशस्त्र प्रहरीका डिएसपी मानबहादुर शाहीले मनिषा परिवारसहित नेपाल छिरेको पुष्टि गरे।

उनको सीमा नाकामा स्वास्थ्य परीक्षण समेत गरिएको थियो। क्यान्सरलाई जितेकी मनिषा कारभित्र पनि फेस भाइजरसहित देखिएकी थिइन्। उनले संक्रमणबाट जोगिन आवश्यक साधन प्रयोग गरेको सुरक्षाकर्मीले जानकारी दिए।

मंगलवार नाकाबाट छिरेपछि उनी बुटवलतर्फ निजी गाडीमा लागेकी हुन्। नेपालमा लकडाउन भएकाले गृह मन्त्रालयबाट स्वीकृति लिएरमात्र एक जिल्लाबाट अर्को जिल्ला जान पाइन्छ। मनिषाले पनि यही प्रकृया पूरा गरेकी छिन्।

'उहाँ अरु नेपाली झै आउनु भएको थियो। काठमाडौं जानेलाई हामी रोक्दैनौं। अरु सामान्य मानिस झैं उहाँ काठमाडौं जानुभयो,' रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने।

नक्सा जारी भएपछि मनिषाको अभिव्यक्तिलाई लिएर भारतीय मिडियाले उनको आलोचना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell