काठमाडौं: सरकारले पछिल्लो पटक थप गरेको लकडाउन समय आज रातिबाट सुरु भएको छ।
धेरै मानिसले बुधवारबाट लकडाउन खुल्ने अनुमान गरेका थिए। मङ्गलवार काठमाडौँ उपत्यकाभित्र लकडाउन खुकुलो भएको भन्दै सवारी साधन सडक लिएर निस्किए। त्यसैले मङ्गलवार लकडाउन अवधिमा सबैभन्दा धेरै सवारी साधन कारबाहीमा परे। १८ सय ६ जना कारबाहीमा परेको थिए।
के काठमाडौँ उपत्यकाभित्र लकडाउन खुकुलो भएको हो? महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल लकडाउन खुकुलो भएको भन्ने हल्ला मात्र भएको दाबी गर्छन्। 'लकडाउन खुकुलो छैन। यो हल्लाको पछि नलाग्नु होला। कारबाहीमा पर्नु होला,' एसएसपी ढकालले भने।
ट्राफिक प्रहरीले बुधवार बिहान ९ बजेसम्म ६ सय ८९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जसमा ६ सय ११ वटा दुई पाङग्रे सवारी साधन रहेका छन्। एसएसपी ढकालले सम्बन्धित निकायबाट जारी भएका पास बाहेक सवारी लिएर नहिँड्न पनि अनुरोध गरेका छन्।' लकडाउन भयो भन्दै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी कार्यालयको परिचयपत्र लिएर हिँड्नु भएको छ। कारबाहीमा पर्नुहुन्छ राष्ट्र बैङ्कले जारी गरेको पास मात्र लिएर हिँड्नु होला,' एसएसपी ढकालले भने।
सडकमा सवारीको चाप बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन थप कडा पारिएको जानकारी दिएको छ। त्यस्तै आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकिङमा थप कडाइ गरेको छ। महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारी साधनहरू चेक गर्ने व्यवस्था मिलाएको छ। भित्री एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ।
उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७ हजार ३ सय ३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ। त्यस्तै पास भएका सवारी साधनले पनि काम बाहेक ननिस्कन प्रहरीले अनुरोध गरेको छ। 'हल्लाको पछि नलाग्नुहोला। लकडाउन खुकुलो भएको छैन,' एसएसपी ढकालले भने।