PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

प्रदेश ५ का ७८६ संक्रमित मध्ये ९१ प्रतिशत भारतबाट आएका



पहिलोपोस्ट

प्रदेश ५ का ७८६ संक्रमित मध्ये ९१ प्रतिशत भारतबाट आएका

काठमाडौं : प्रदेश ५ मा संक्रमितको संख्या ७ सय ८६ पुगेको छ। मंगलवार दिउँसो चार बजेसम्म प्रदेशमा संक्रमितको संख्या ७५३ थियो।

प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो पटक थप ३३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांक अनुसार कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ९३ पुगेको छ। त्यस्तै बाँके जिल्लामा २ सय १३, रुपन्देहीमा ८८, दाङमा ५३, बर्दियामा १३, नवलपरासी पश्चिममा ७, पाल्पामा ७, गुल्मीमा ५, अर्घाखाँची र रुकुम पूर्वमा तीन/तीन र प्यूठानमा एक जना संक्रमित भएका छन्।

लकडाउनसँगै लुकिछिपी आउने बढे

कोरोनाविरुद्ध सतर्कता बढाउँदै प्रदेशले जेठ ४ गतेदेखि नेपाल भारत सीमा क्षेत्रमा २६ वटा हेल्थ डेस्क स्थापना गरेर हेल्थ स्क्रिनिङ थालेको थियो। यसबीचमा सरकारले लकडाउन लगाएसँगै हेल्थ डेस्कबाट स्कृनिङ गरेर प्रवेश गर्नेहरु घटेर सुरुवाती दिन भन्दा ०.१ प्रतिशतमात्र बढी छ।

यो संख्या चैत ४ गते सुरु भएकोमा पहिलो दिन २० हजारको स्क्रिनिङ गरिएकोमा चैत ६ गते १२३.४ प्रतिशतले बढेर ७५ हजारको २ सय २३ पुगेको थियो। सरकारले चैत ११ देखि लकडाउन लगाएसँगै हेल्थ डेस्क भएर प्रवेश गर्नेहरु घट्दै गए। र, लुकिछिपि प्रवेश गर्न थाले।

'नेपाल सरकारले चैत ११ गतेबाट पहिलो पटक लकडाउनको घोषणा गरेपछि हेल्थ डेस्कबाट स्क्रिनिङ गरिएको संख्यामा उल्लेख्य मात्रामा ह्रास आएको पाइन्छ। र, चैत १६ गते पछि नगन्य मात्रामा हेल्थ डेस्कबाट स्क्रिनिङ भएका छन्,' प्रदेशको स्वास्थ्य निर्देशनालयले संक्रमण देखिएको एक महिने प्रतिवेदनमा भनिएको छ, 'उक्त अवधिमा यस प्रदेशबाट ती हेल्थ डेस्कबाट २४ जनालाई शंकास्पद कोरोनाको व्यक्तिको रुपमा पहिचान गरी स्वाब संकलनका लागि प्रदेशका विभिन्न अस्पतालहरुमा प्रेषण गरिएको पाइन्छ।'

यो तथ्यांकलाई हेर्ने हो भने हेल्थ डेस्कमा स्क्रिनिङ गरेर प्रवेश गरेकाहरुको नगन्य मात्रामा परीक्षण भएको छ।

पछिल्लो १ महिनाको तथ्यांक अनुसार संक्रमितहरु मध्ये ९१ प्रतिशत भारतबाट आएका छन्। भने ९ प्रतिशतको मात्र ट्राभल हिस्ट्री नभएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

दुई महिनामा ६ सयबाट ४० हजार पुग्यो क्वारेन्टाइनमा बस्ने

प्रदेशमा पहिलो पटक चैत १७ गते क्वारेन्टाइनमा ६ सय ८ जना रहेकोमा यो दुई महिनामा क्वारेन्टाइनमा रहेकाहरुको संख्या ४० हजार नाघेको छ। मंगलावार साँझको रिपोर्ट अनुसार प्रदेश ५ मा क्वारेन्टाइनमा ४१ हजार ८८ जना क्वारेन्टाइनमा रहेका छन्।

क्वारेन्टाइनमा रहेको तथ्यांक भन्दा प्रदेशमा संक्रमितको परीक्षण आधा पनि हुन सकेको छैन। हालसम्म १७ हजार चार सय ७८ जनाको परीक्षणका लागि थ्रोट स्वाब संकलन भएकोमा अझै तीन हजार सात सय ९२ जनाको नमुनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

संक्रमण पुष्टि भएको एक महिनामा प्रदेशमा संक्रमितको संख्या ५७३ पुग्यो। त्यसपछिको दुई दिनमै यो संख्या ७८६ पुगिसकेको छ।

प्रदेशमा पहिलो पटक वैशाख १९ गते रुपन्देहीमा र बाँकेमा गरी दूई जनामा संक्रमण पुष्टि भएको थियो। यो संख्या चार दिनमा बढेर २४ पुग्यो। अर्को ४ दिनमा ३२ पुगेको संक्रमितको संख्या अर्को चार दिनमा १६५ पुगेको थियो। त्यसपछिको ४ दिनमा १ सय ९७ पुगेको अर्को ४ दिनमा संक्रमितको संख्या १०० बढीले बढ्दै २ सय ९८ पुग्यो। त्यसपछिको ४ दिनमा यो संख्या झण्डै दोब्बरले बढ्दै ५४६ पुगेको थियो। त्यसपछिको चार दिनमा भने संक्रमण दर कम देखिएको छ। यस अवधिमा जम्मा २७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछिको दुई दिनमा भने हरेक दिन एक सय भन्दा बढीले संक्रमण बढेको छ। यस २ दिनमा २ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell