
अमेरिकामा लगाइएको कर्फ्युलाई आन्दोलनकारीहरुले तोडेका छन्। प्रहरीले अस्वेतमाथि गरेको दुर्व्यवहारलाई लिएर भड्किएको आन्दोलन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गरेर भए पनि अवस्थालाई नियन्त्रणमा लिने बताएका थिए। ह्वाइट हाउसमा प्रदर्शन चर्को भएपछि उनी सेनाको सुरक्षासहित बंकरभित्र बस्न पुगेका थिए।
पेन्टानगनले वासिङ्टनका लागि १६ सय सैनिकको ट्रुप परिचालन गरेको छ। अमेरिकाका शहरहरुमा हिंसा फैलिरहेपछि सेना परिचालन भएको हो। अमेरिकाका २८ राज्यमा २० हजार ४ सय नेशनल गार्ड परिचालन गरिएका छन्। तर, अधिकांशलाई ब्याक अप गार्डका रुपमा परिचालन गरिएको छ।
क्यालिफोर्निया, न्युयोर्क, वासिङट्न लगायतका शहरहरुमा कर्फ्यु आदेश गरिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई प्रदर्शनकारीलाई दवाउन निर्देशन दिएका छन्। तर, उनको निर्देशनलाई न्युयोर्क लगायतका गभर्नरहरुले ठाडै इन्कार गरेका छन्।
अमेरिकाको राजधानी रातभर तनावपूर्ण रह्यो। प्रदर्शनकारीहरुले लगातार कर्फ्युको अवज्ञा गरिरहे।