PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पूर्वको ओखलढुंगा : संक्रमित छिमेकीले घेरिएको एक्लो जिल्ला, क्वारेन्टाइन रित्तै, संक्रमण रोक्ने रामवाण के?



प्रकाश भण्डारी

पूर्वको ओखलढुंगा : संक्रमित छिमेकीले घेरिएको एक्लो जिल्ला, क्वारेन्टाइन रित्तै, संक्रमण रोक्ने रामवाण के?
PHOTO : coronanepal

काठमाडौं: नेपालभर कोरोना संक्रमितको संख्या २५ सय नजिक छ। प्रदेश २ र ५ सबैभन्दा बढी प्रभावित छन्। सबैभन्दा पछाडि संक्रमित देखिएको कर्णालीमा पनि संक्रमणदर रफ्तारमा बढेको छ।

प्रदेश १ मा १ सय ६८ जना संक्रमित छन्। माघ १० गते पहिलो पटक नेपालमा कोरोना संक्रमण भेटिए यता साढे चार महिनाको अवधिमा ६१ जिल्लासम्म संक्रमण फैलिएको छ। प्रदेश १ का १४ जिल्लामध्ये ९ जिल्लामा संक्रमण देखिएको छ।

हालसम्म इलाम, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा मात्रै संक्रमण देखिएको छैन। सबै छिमेकी जिल्लामा संक्रमित भेटिँदा ओखलढुगांमा भने अहिलेसम्म कोरोना संक्रमित केस छैन। अझै केही समय जिल्लामा संक्रमण भित्रिने जोखिम कम रहेको स्थानीय प्रशासनको आंकलन छ।

छिमेकी सबै जिल्लामा संक्रमण

ओखलढुंगाका छिमेकी जिल्ला खोटाङ, सोलुखुम्बु, सिन्धुली र रामेछापमा एक/एक जना संक्रमित छन्। तर, ओखलढुंगामा ४ सय जनाको कोरोना भाइरस परीक्षण गर्दा कसैलाई पनि संक्रमण भेटिएको छैन। प्रमुख जिल्ला अधिकारी गणेश आचार्य भारत तथा अन्य देशबाट आएका सबैको परीक्षण गरिएको र अन्य सतर्कता अपनाइरहेको बताउँछन्।

उनका अनुसार भारत तथा अन्य देशबाट आएकामध्ये प्राथमिकीकरण गरेर पीसीआर र आरडिटी गरिएको हो। जसमा १ सय ५० जनाको पीसीआर गरिएको छ। भारत तथा अन्य मुलुकबाट आउनेको संख्या ओखलढुंगामा न्यून रहेको सिडिओ आचार्यले बताए।

हरेक स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था भए पनि धेरै ठाउँका क्वारेन्टाइन अहिले खाली रहेको उनको भनाई छ। 'बाहिरबाट आउनेको संख्या नै न्यून छ। अहिले क्वारेन्टाइन पनि कतिपय ठाँउमा खाली छन्। तर, हामीले अब विदेशबाट मानिसहरु आउनसक्ने भन्दै क्वारेन्टाइनको क्षमता विस्तारतर्फ लागेका छौं,' उनले भने।

किन भित्रिएन संक्रमण?

नेपालमा संक्रमण भित्रिएको साढे ४ महिनामा मात्रै होइन अझै केही समय जिल्लामा संक्रमण भित्रिने सम्भावना कम रहेको आचार्यको दावी छ। उनले जिल्लामा बाहिरबाट आउनेको संख्या न्यून भएकाले संक्रमणको जोखिम कम भएको बताए। विभिन्न खालका सावधानी समयमै अपनाउँदा संक्रमण भित्रिन नपाएको उनको भनाई छ।

नाका क्षेत्रमा गरिएको कडाई, बाहिर जिल्लाबाट आउनेको निगरानी र परीक्षण तथा बाहिर जाँदा अनिवार्य जानकारी लिने लगायतका कारणले पनि हालसम्म संक्रमित नदेखिएको हुनसक्ने तर्क छ, आचार्यको।

'सुरुदेखि नै हामीले सीमा क्षेत्रमा कडाई गर्‍यौं। बाहिर जिल्ला तथा भारतबाट आउनेको निगरानी गरेकाले पनि परिणाम देखियो। मुख्यगरी तराईतिरबाट हामीले जिल्लामा मानिसहरु आउन दिएका छैनौं,' उनले भने।

तराईका जिल्लाबाट ट्रकमार्फत आउने सामानका चालक तथा सह-चालकलाई पनि सामान झारेर सिधै जाने ब्यवस्था मिलाएको आचार्यले जानकारी दिए। तरकारी तथा अन्य खाद्यवस्तु पनि अरु जिल्लाबाट आवश्यक परेमात्रै ल्याउने नत्र जिल्लाकै उत्पादनलाई वितरण गर्ने रणनीति रहेको उनको भनाई छ। अरु जिल्लाबाट आउने तरकारी तथा खाद्यान्न घटदै गएको आचार्यले जानकारी दिए।

छैन स्वास्थ्य उपकरण

ओखलढुंगामा अहिलेसम्म संक्रमित नदेखिए पनि भारतबाट आउनेको संख्या बढ्न सक्ने भएकाले उनीहरुको पीसीआर परीक्षणका लागि आवश्यक पर्ने भिटिएम किट छैन। जिल्लाभर अहिले २ मात्रै भिटिएम किट छ।

आचार्यले प्रदेश र संघीय सरकारलाई पटक पटक किट उपलब्ध गराइदिन अनुरोध गरे पनि आलटाल गरेको आरोप लगाए। 'स्वास्थ्य मन्त्रालयमा त कतिपटक भनिसके तर अहिलेसम्म किट उपलब्ध भएको छैन। प्रदेशमा त दिनदिनै भनिरहेको हुन्छु तर पनि जिल्लामा किट आएको छैन। अहिलेसम्म संक्रमित नभए पनि भारतबाट आउनको संख्या बढेमा हामीले पनि परीक्षण बढाउनुपर्ने हुनसक्छ,' उनले भने।

अरु सबै हिसाबले जिल्ला कोरोनासँग जुध्न तयारी अवस्थामा रहेको भए पनि स्वास्थ्य मन्त्रालयले किट उपलब्ध नगराउँदा भारतबाट आउनेहरुले संक्रमण सार्ने जोखिम भएको आचार्यको भनाई छ। उनले केन्द्र सरकारले भिटीएम किटको अभाव भएको जवाफ दिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell