PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरकार भन्छ : जेठ २५ भित्र कर तिर, कांग्रेसले भन्यो: अनुदार ढंगले ताकेता गरेकाले अवज्ञा गर्नुको विकल्प छैन



पहिलोपोस्ट

सरकार भन्छ : जेठ २५ भित्र कर तिर, कांग्रेसले भन्यो: अनुदार ढंगले ताकेता गरेकाले अवज्ञा गर्नुको विकल्प छैन

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जेठ २५ भित्र कर तिर्न सरकारले दिएको समयावधिप्रति असन्तुष्टि जनाएको छ।

सभापति शेरबहादुर देउवाले बुधवार विज्ञप्ति जारी गर्दै सरकारले अनुदार ढंगले कर तिर्न ताकेता गरेकाले अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन्।

आन्तरिक राजस्व विभागमार्फत सरकारले जेठ २५ भित्र कर चुक्ता गर्न निर्देशन दिएको थियो।

राहतको प्याकेज ल्याउन सरकार गम्भीर नभएको तर कर तिराउन भने अनुदार भएको कांग्रेसको टिप्‍पणी छ।

'लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिकाबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझ पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो,' देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कोरोनाका कारण मुलुकको अर्थतन्त्रले चुनौती भोगेका बेला मितब्ययिताका लागि सरकारले निर्णय नगरेको देउवाको आरोप छ।

'समग्र ब्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरुसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नेतर्फ पनि सरकारको ध्यान गएन,' विज्ञप्तिमा भनिएको छ, 'लकडाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको छ।'

जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन गर्न पनि देउवाले आग्रह गरेका छन्।

यसअघि नेपाली कांग्रेस संसदीय दलले पनि सरकारले कर तिर्न दिएको समय सीमाका विषमा पुनर्मुल्याङ्कन गर्न आग्रह गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell