गलेश्वर : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको लकडाउनका कारण उद्योग, व्यापार, व्यवसाय र अन्य रोजगार पनि बन्द छ। मानिस काम नपाएर पट्यारिलो दैनिकी गुजार्न बाध्य छन्। घरभित्र थुनिएर बस्नुपर्दा आम्दानीका बाटा पनि बन्द भएका र लकडाउन खुलेपछि थपिने आर्थिक बोझले मानिस अतास्सिन थालेका छन्।
तर, म्याग्दीको बेनी नगरपालिका-५ डडुवाका ५२ वर्षीय हर्कबहादुर विश्वकर्मालाई लकडाउन आम्दानीको सुनौलो अवसरजस्तै बनेको छ। लकडाउनका कारण शहर वा विदेशबाट गाउँ फर्किएका व्यक्ति अहिले गाउँमा कृषिकर्ममा व्यस्त छन्। लकडाउनको सुरुवात (चैत ११) देखि नै गाउँमा शुरु भएको कामको चटारो अब साउन दोस्रो सातापछि मात्र समाप्त हुन्छ।
यी चार महिना कृषि उत्पादन र भण्डारणका लागि महत्वपूर्ण महिना मानिन्छ। कृषि कर्मका लागि कृषकलाई औजारहरु उधिन्ने, साँध लगाउने, मर्मत वा निर्माण गर्नुपर्दछ। यी सबै कामको बोझ ५२ वर्षीय हर्कबहादुरले सहर्ष स्वीकार गरेका छन्। दुईवटा खाँबाको धरन, डाँडाभाटा र बलाको भरमा टिनको छाप्रो छ। त्यही छाप्रोमा सञ्चालन गरेको हर्कबहादुरको आरन व्यवसाय आम्दानीको गतिलो माध्यम बनेको छ।
सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा थालेका हुन्। आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुर्ख्यौली पेशा भएकाले निरन्तरता दिएको उनले बताए। टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका कृषि औजार बन्छन्। नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ।
‘पोहोरपरारभन्दा यस वर्ष राम्रो आम्दानी भयो’, विकले भने, ‘लकडाउनका कारणले सबै मानिस गाउँमा आएका छन्, खेतीपाती गर्न थालेका छन्, कृषि औजार अरजाप्न र नयाँ बनाउन आउनेहरु पनि बढेका छन्।’
मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन्। उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए। १२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउँछन्।
उनले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युतको सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन्। आरन पुरानो भए पनि निकै आकर्षक र काम लाग्ने खालका सामान बन्छन्। विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनइ बनाउने सीप पनि छ। आरनमा बनेको खुकुरीलाई न्यूनतम तीन हजारदेखि आठ हजार रुपैयाँसम्म मूल्य पर्दछ। यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५ सयको दरले तथा थेबेलाई एक हजार २०० रुपैयाँ मूल्य पर्ने उनले जानकारी दिए। आरनबाट दैनिकरूपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन्। आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाब्ने) काम पनि हुन्छ।
गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार रुपैयाँ कमाइ हुने हुँदा २० हजार रुपैयाँ बढी अन्नपातबाटै संकलन हुन्छ। एक दर्जन हँसिया अर्जाबेवापत ५०० रुपैयाँ तिर्नुपर्ने रेट छ। विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धानेका छन्। उनले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराले छुट्टाछुट्टै आरन चलाएका छन्। सानै उमेरमा पल्टन जाने भने पनि नगएको पीडा सुनाउँदै उनले यत्रो उमेर भइसक्दासमेत आफू अझै पोखरा नगएको बताए।
उमेरले ५० औँ वसन्तमा घुम्दै गरेका हर्कबहादुर फलामका साथै काठको काम गर्न पनि सिपालु छन्। काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ (मोही) जस्ता सामान बनाउने आफूसँग सीप रहेको उनको भनाइ छ। हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहकहरु पुग्ने गरेका छन्। परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक बनजंगलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ। बनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन्।
पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेवापत अन्नपात लिन्छन्।