PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

हिरासतमै कोराना पुष्टि, १२ औं दिनमा भए स्वस्थ : डिस्चार्जपछि कारागार चलान



एम बम

हिरासतमै कोराना पुष्टि, १२ औं दिनमा भए स्वस्थ : डिस्चार्जपछि कारागार चलान

कैलाली : बैतडीका कोरोना संक्रमित २२ वर्षीय युवकले संक्रमण पुुष्टि भएको १२ औँ दिनमा कोरोनालाई जितेका छन्। बैतडीको शिवनाथ गाउँपालिका २ का अमरसिंह साउद युवती हत्या प्रकरणको अनुसन्धानका क्रममा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए।

हिरासतमै उनको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। हिरासतमा रहेका उनमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गर्नुका साथै ९९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको थियो।

कोरोना संक्रमणपछि जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा उपचाररत उनलाई बुधवार अस्पतालबाट डिस्चार्ज गरीएको जिल्ला अस्पताल बैतडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

अस्पतालको आइसोलेसनबाट उनलाई सिधै कारागार लगिएको छ।

उनी गत चैत्र ६ गते भारतबाट फर्किएका थिए। त्यसपछि गत बैशाख १२ गते शव फेला परेकी गाउँकै एक युवतीको हत्या आशंकाको अनुसन्धानका क्रममा उनी हिरासतमा थिए।

बुधवार अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै अदालतको आदेश बमोजिम उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिए।

‘कोरोनामुक्त भएका उनलाई अदालतको आदेश अनुसार बुधवार नै पुर्पक्षका लागि कारागार चलान गरेका हौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell