
काठमाडौं : मधेसको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा तानिएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो भनाइलाई तोडमोड गरिएको भन्दै माफी मागेका छन्।
एक अनलाइनसँगको अन्तरवार्ताका क्रममा ‘मधेसमा राष्ट्रियता फिलिङ अलि कम छ’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए। उनको भनाइलाई लिएर प्रतिनिधि सभामा समेत उनलाई कारबाहीको माग उठेको थियो। त्यस्तै चारवटा जिल्लाका फुटबल संघका अध्यक्षहरुले त उनीविरुद्द प्रधानमन्त्रीको कार्यालय र खेलकुद मन्त्रालयमा उजुरी नै दिएका थिए।
शेर्पाले बुधवार एक विज्ञप्ति निकाल्दै आफ्नो भनाइ कसैलाई होच्याउने किसिमले भनिएको नभए पनि त्यसलाई तोडमोड गरेर एन्फा नेतृत्वको छवि धमिल्याउन खोजेको आरोप लगाएका छन्।
‘मैले दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिंग, भाषाभाषी, प्रदेश र भूगोल प्रति लक्षित नभएको स्पष्ट पार्न चाहन्छु’, विज्ञप्तिमा लेखिएको छ, ‘मेरा भनाइहरुलाई तोडमोड गरेर नेपालमा फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबलको विकासमा अवरोध पुर्याउने योजना मुताविक बुझ्न अनुरोध गर्दछु।’
उनले एन्फाले तराईका जिल्लाहरुमा विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेर प्रतिभावान खेलाडी उत्पादनमा जोड दिइरहेको दावी गरेका छन्।
उनले आफ्नो अन्तरवार्ता शाब्दिक अर्थमा धेरै ध्यान दिइएको भन्दै कुनै पनि भाषा वर्ण या समुदायको विरोध गर्नु आफ्नो अभिप्राय नरहेको स्पष्ट पारेका छन्।
‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म, लिंग तथा संप्रदायको नेपाली राष्ट्रियतामा प्रश्न उठाउने थिएन र कदापि होइन पनि’, शेर्पाले लेखेका छन्, ‘यद्यपि, अन्तरवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस् पुग्न गएमा त्यसप्रति म हार्दिक क्षमायाचना गर्दछु।’
शेर्पाको अभिव्यक्तिलाई लिएर एन्फाको कार्यसमितिमै राजीनामाको माग उठेको बताइएको छ। शेर्पाले भने तराइ क्षेत्रलाई आफूले फुटबलमा जोड्न चाहेको उल्लेख गरेका छन्।
‘नेपाली राष्ट्रियता र राष्ट्र पहिचानको सन्दर्भमा अन्य क्षेत्रको भन्दा तराईको गौरवशाली इतिहासबाट नेपाली फुटबल खेलमा केही कमी भएको नेपाली फुटबलको अभिभावकको रुपमा मलाई पछुतो छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यसैलाई सुधार्न एन्फाले तराईका विभिन्न जिल्लाहरुमा ग्रासरुट कार्यक्रमलगायत फिफाबाट प्राप्त प्रमुख योजनामध्येको एन्फा गर्ल्स एकेडेमीको निर्माण सम्मन्न गरिसकेका छौं।’
विज्ञप्तिमा त्यो लगायतका अन्य कार्यक्रमहरु लगेर त्यहाँको फुटबल विकास गर्न एन्फा कार्यसमिति दृढ रहेको उल्लेख छ।